१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण २७ बुधबार १०:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनले सहमति कार्यान्वयन नगर्दा रसुवागढी नाकाबाट बढेन आयात

Read Time : > 1 मिनेट
२०७८ श्रावण २७ बुधबार १०:१५:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामानको आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले दुई सिफ्टमा सामान आयात गर्ने सहमति गरे पनि कार्यान्वयन नगर्दा रसुवागढी नाकाबाट सामान आयात बढ्न नसकेको हो । 

सीमास्तरका दुई देशका अधिकारीबीच सामान आयात बढाउने सहमति भए पनि सुरुदेखिको कोटा प्रणाली कायम छ । २४ भदौ ०७७ मा दुई देशका सीमा अधिकारीबीच भएको बैठकमा चिनियाँ पक्षले दुई सिफ्टमा १६ घन्टा काम गर्ने भनेको थियो । एक सिफ्टमा ८ वटा आफ्नो गाडीमा नेपालतर्फ सामान ल्याइदिने र नेपालतर्फ व्यवस्थापन गर्ने सहमति भएको थियो । सोहीअनुसार व्यवस्थापन नेपालले गरेको थियो । तर, चीनले सहमति कार्यान्वयन नगरेको रसुवागढी नाकाबाट व्यापार गर्दै आएका व्यवसायीहरूले बताएका छन् । 

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार चिनियाँ पक्षले कोरोनाको कारण देखाउँदै सामान आयात बढाएको छैन । ‘म आउनुभन्दा अघिको कुरा हो, सामानको आयात बढाउँछौँ भनेको, नेपालतर्फ यार्ड बनाउनु, नाकामा बत्तीका लागि लाइट जडान गर्नु, स्वास्थ्य मापदण्ड अपनाउनु भनेको रहेछ, त्यसैअनुसार काम भएको रहेछ, तर कोरोनाको कारण देखाउँदै सामान आयात बढाएको छैन,’ उनले भने, ‘सामान आयात बढाउन हामीले समन्वय गरिरहेका छौँ ।’ 

सामानको आयात बढाउने विषयमा
चिनियाँ भन्सारसँग बुझ्दा कोरोना अवधिभर नेपाल सामान आयातका लागि बोर्डर म्यानेजमेन्ट कमिटीलाई जिम्मा दिएको बताएको रेग्मीले बताए ।  
चिनियाँ बोर्डर म्यानेजमेन्ट कमिटीले नेपाल सामान आयातका लागि यसअघि फर्जी समितिमार्फत ग्रान्टिक्रेनको कार्यान्वयन गर्न खोजेको र नभएपछि सामान आयात बढाउन ढिलाइ गरिरहेको एक अधिकारीले बताए । 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नियमित सञ्चालनमा नआएको डेढ वर्ष भयो । ०७६ माघ १५ देखि ०७७ जेठ २१ गतेसम्म नाका बन्द भएको थियो । ०७७ जेठ २२ गतेदेखि चीनले एकतर्फी नाका सञ्चालन गरेको छ । एकतर्फी नाका सञ्चालनको सुरुका दिनमा दैनिक आफ्नै तीन गाडीमा सामान ल्याएको चीनले अहिले दैनिक ५ देखि ७ कन्टेनर चिनियाँ गाडीमा नेपाली भूमिमा सामान ल्याइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 

चीनले एकतर्फी सञ्चालनमा ल्याएको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट डेढ वर्षदेखि आयात न्यून रहेको छ भने निर्यात ठप्प रहेको छ । चीनले एकतर्फी नाका सञ्चालनमा ल्याएसँगै डेढ वर्षको अवधिमा १७ अर्ब ९६ करोडको सामग्री आयात भएको छ । ०७६ चैत ११ देखि ०७७ असार मसान्तसम्ममा १४ करोड ८५ लाखको सामान आयात भएको छ भने ०७७ साउनदेखि ०७८ असार समान्तसम्म १७ अर्ब ८१ करोड २९ लाखको आयात भएको रसुवा भन्सारको तथ्यांकले देखाएको छ । 

चीनको केरुङबाट रसुवागढी नाका हँुदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान, जलविद्युत्का सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।