मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ११:१३:००
Read Time : > 1 मिनेट
सप्तरंग

जुनु रिजालको चर्चित बनाउने फूल मन्जरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ११:१३:००

विराटनगरका संगीत गुरुहरूको सल्लाहमा काठमाडौं आएपछि थुप्रै गीत गाएँ । सीमित श्रोताहरूले मात्रै सुन्थे । जब ‘फूल मन्जरी’ गीत बजारमा आयो, त्यो आफू मात्रै चर्चित भएन, मलाई पनि चर्चित बनायो । 

नृत्यबाट गायनतिर
सानो छँदा मलाई नृत्यमा रुचि थियो । त्यसवेला छोरीलाई नाच्न, गाउन खासै छुट हुँदैनथ्यो । विराटनगरमा विद्यालयको कार्यक्रममा नाच्थेँ । रेडियोमा गीतहरू सुन्दासुन्दै गायनतिर पनि रुचि बढ्न थाल्यो । कक्षामा गाउँदा साथीहरूले ‘तिम्रो स्वर राम्रो छ’ भनेर हौस्याउन थाले । स्टेज कार्यक्रममा नाच्नेसँगै गाउने पनि गर्न थालेँ । एउटा कार्यक्रममा मेरी आमा पनि आउनुभएको थियो । त्यो कार्यक्रममा पनि मैले नाचेपछि गीत गाएकी थिएँ । त्यसपछि आमालाई नाचेकोभन्दा गाएको मन परेछ । आमाले ‘अब नाच्नभन्दा गाउन थाल’ भन्नुभयो । 

त्यसवेला छोरीले नाचेर हिँडेको राम्रो भन्दैनथे । मलाई परिवारको साथ थियो । तर, आमालाई नाच्नभन्दा गाउन राम्रो हो भन्ने लागेछ । केटाहरूसँग पनि नाच्नुपथ्र्यो । त्योभन्दा आमालाई गाउन ठीक लागेछ । त्यही भएर आमाको सल्लाहअनुसार नृत्यबाट गायनतिर लागेँ । 

 ‘फूल मन्जरी’ले चिनायो
आइए गरेपछि पढाइ र संगीतलाई निरन्तरता दिन काठमाडौं आएँ । विराटनगरका संगीत गुरुहरूको सल्लाहमा काठमाडौं आएकी थिएँ । गीतहरू गाउन थालेँ । तर, मेरा गीतहरू सीमित श्रोताले मात्रै सुन्थे । चर्चित भएनन् । ‘फूल मन्जरी’ भन्ने गीत जब बजारमा आयो, त्यो चर्चित भयो । धेरै श्रोताले रुचाए । माया गरे । यो गीतले सांगीतिक क्षेत्रमा ‘राम्रो स्वर भएकी जुनु रिजाल छिन् है’ भन्ने किसिमले चिनायो । व्यावसायिक रूपमा सफल रह्यो । त्यसपछि सांगीतिक क्षेत्रका व्यक्तित्व एवं श्रोताले मलाई चिने भन्ने लाग्छ । त्यसपछि ‘कसले सुरुवात’, ‘फूल टिप्ने मन भए’लगायतका अन्य गीत पनि चर्चित बने । 

‘झिम्काइदेऊ परेली’को जोडी
काठमाडौं आएको डेढ वर्षपछि रामचन्द्र काफ्लेजीसँग भेट भयो । सँगसँगै काम गर्दा एक–अर्कालाई मन पराउन थाल्यौँ । त्यसपछि विवाह ग¥यौँ । विवाह अघि र त्यसपछि पनि त्यति धेरै गीतचाहिँ गाएका छैनौँ । हामीले गाएका थोरै गीतमा ‘झिम्काइदेऊ परेली’ चर्चित बन्यो । त्यसले युगल जोडीका रूपमा स्थापित गरायो । तर, अझै संघर्ष भने जारी नै छ । संगीत भनेको तपस्या हो । यो जीवनभर जारी नै रहन्छ भन्ने लाग्छ ।