मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण २६ मंगलबार २०:००:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एमालेमा रहन नचाहनेहरू बाहिरिने सामान्य हो, यसमा कसैले आश्चर्य मान्नुपर्दैन : खगराज अधिकारी

Read Time : > 1 मिनेट
२०७८ श्रावण २६ मंगलबार २०:००:००

एकता प्रयास चलिरहेकाले संगठनात्मक गतिविधि रोकेर सहमति गरौँ भन्ने अर्को पक्षको प्रस्ताव थियो । तर, तपाईंहरूले विधानकै मस्यौदा बनाएर छलफलमा पठाउने निर्णय गरेपछि पार्टी ब्रेक हुनेतिर गयो भन्ने अर्थ लाग्छ कि लाग्दैन ?

विधानको मस्यौदा त महाधिवेशन समयमा गर्नका लागि हो । महाधिवेशन समयमा नगरेर कांग्रेसको जस्तो सत्ताको दुरुपयोग गरेर बच्नुपर्ने पार्टी किन बनाउने भन्ने भएर अघि बढाइएको हो । यसमा एक महिनाको समय हुन्छ । पार्टी सदस्यले छलफल गर्ने हो । अहिले सुझाब लिनका लागि छलफल गर्ने भनिएको हो, संशोधन गर्ने भनिएको होइन । अरू संगठनात्मक ढाँचामा हामीले केही गरेका छैनौँ । हामीले प्रस्ताव मात्रै गरेका छौँ । उहाँहरू आएर त्यसैमा सामेल हुन सक्नुहुन्छ । के–के गर्नुपर्छ भन्ने लागेको छ भन्दा हुन्छ । यसले वार्तालाई कुनै डिस्टर्ब गर्दैन ।

विधानमाथि आज जे निर्णय गर्नुभएको छ, अब तपाईंहरू माधव समूहलाई पर्खन सकिन्न, आए ढोका खुलै छ भन्ने निष्कर्षमा पुग्नुभएको हो ? 

नेकपा एमाले प्रमुख पार्टी हो । मुलुकमा यत्रो महामारी छ, सरकारले यत्रो मनपरी बोलिरहेको छ । न्यूनतम साझा कार्यक्रममा लिम्पियाधुरा र लिपुलेकलाई समस्या भन्छ । त्यो हाम्रो पवित्र जग्गा हो, त्यसैलाई समस्या भन्छ । तुइन चुँडालेर नागरिक बेपत्ता भएको अवस्था छ । सरकार मूकदर्शक छ । हाम्रोजस्तो प्रमुख पार्टी चुप बस्नुहुँदैन भन्ने हाम्रो मान्यता हो । हामी कसैलाई गालीगलौज पनि गर्दैनौँ, आरोप–प्रत्यारोप पनि गर्दैनौँ । यस्तो वेलामा ठूलो पार्टीले केही न केही गतिविधि त गरिहाल्छ । यसले एकतामा कुनै समस्या गर्दैन ।

दुई अध्यक्षमा सहमति खोज्न अन्तिम प्रयास किन असफल भयो ? 

यसमा सबै समेटिनुपर्छ भन्ने हो । केपी ओलीले त आफ्नो विषय स्पष्ट राख्नुभएको नै छ । जुन सार्वजनिक भइसकेको छ । अव माधव नेपालले के गर्नुहुन्छ भन्ने हो । अहिले नै सफल वा असफल भन्ने वेला भएको छैन ।

तपाईंहरू मिलाउनका लागि कतिसम्म लचिलो हुनुहुन्छ नि ? 

पार्टीको सिद्धान्त, नीति, दर्शन, दृष्टिकोण र एमालेको विधानभित्र रहेर हामी सकेसम्मको लचिलो हुन्छौँ । अहिले पनि देखिएको छ, त्यत्रो ह्विप उल्लंघन भएको छ, फ्लोर क्रस भएको छ, प्रमुख प्रतिद्वन्द्वी त्यो पनि दक्षिणपन्थी पार्टीको व्यक्तिलाई प्रधानमन्त्री बनाइरहेका छन् । यसमा पनि ‘एम्नेस्टी इज ग्रान्टेड’ भनिसकेपछि लचिलो हुने ठाउँ बाँकी छ र अब ? छ भने त्यो पनि गरिन्छ ।

नेपाल पक्षले प्रतिक्रियात्मक रूपमा सरकारमा जाने निर्णय गर्‍यो भने स्थिति के हुन्छ ?

सरकारमा सामेल हुनेहरू एमालेमा रहँदैनन्, एमालेमा रहनेहरू सरकारमा जाँदैनन् । एमालेमा रहनेहरू प्रतिक्रियावादी गठबन्धनमा सामेल हुने कल्पना गर्न सकिँदैन । 

एमालेको एकता धेरै नै जोखिम भयो कि नाटकीय रूपमा सहमति जुटाउने सम्भावना देख्नुहुन्छ ? 

एकता जोखिममा छैन, सामान्य अवस्थामा नै छ । एमालेमा रहन चाहनेहरू पार्टीमा फर्किने र नचाहनेहरू बाहिरिने सामान्य हो । यसमा कसैले आश्चर्य मान्नुपर्दैन । किनभने हदैसम्मको अराजकता हामीले आज सहेका छौँ ।