मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण २६ मंगलबार ०९:०२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतमा नक्कली नोट छापेर नेपालमा तस्करी : ९ लाख ९३ हजारबराबरका  नक्कली नोट बरामद

Read Time : < 1 मिनेट
२०७८ श्रावण २६ मंगलबार ०९:०२:००

भारतमा नक्कली नेपाली नोट छापेर नेपाली बजारमा फैलाउने गिरोह सक्रिय रहेको खुलेको छ । प्रहरीले नौ लाख ९३ हजारबराबरको नक्कली नोट बरामद गरी अनुसन्धान अघि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट नेपाल ल्याउँदै गरेको नक्कली नोटसहित सोमबार तीनजनालाई पक्राउ गरेको हो । नेपालमा एकैपटक यति धेरै नक्कली नोट बरामद भएको पहिलोपटक हो । ठूलो परिमाणमा नोट बरामद हुनुले यसमा ठूलै गिरोहको संलग्नताको आशंका गरिएको छ । 

सोमबार दिउँसो २ बजेको समयमा प्रहरीचौकी मठिया महुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले गाडी रोकेर चेकजाँच गर्ने क्रममा तीनजनालाई पक्राउ गरेको हो । धनुषाको बटेश्वर गाउँपालिका– ४ बस्ने ३८ वर्षका शत्रुधन बरई ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका– ९ का ३० वर्षका रञ्जित महतो, महोत्तरीकै भंगाहा नगरपालिका– ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानमा उनीहरू भरिया मात्र भएको पाइएको र यसका मुख्य नाइकेमाथि अनुसन्धान भइरहेको रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए । सो गिरोहले पहिला पनि यसरी नक्कली नोट नेपाली बजारमा फैलाइसकेको हुन सक्ने आशंका गरिएको छ । 

‘सम्भवतः यसअघि यति धेरै नक्कली नोट एकैपटक बरामद भएको थिएन,’ उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा लगेर उनीहरूले नक्कली नोट फैलाउन खोजेको देखिन्छ ।’ एसपी शाहका अनुसार पक्राउ परेकाहरूले भारतका रहेका व्यक्तिले आफूहरूलाई सो काममा लगाएको बताएका छन् । बिहारमै सो नक्कली नोट छापिएको सूचना प्रहरीले पाएको छ । प्रारम्भिक अनुसन्धानमा नक्कली नोट फोटोकपी मेसिनबाटै बनाइएकोजस्तो देखिएको प्रहरीले जनाएको छ । 

नेपालमा फाट्टफुट्ट रूपमा वेला–वेलामा नक्कली नोट बरामद भए पनि लाखौँ बरामद भएको थिएन । यो घटनाले भने गम्भीर संकेत गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।