१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नेपाली सेनाको हेलिकप्टरमार्फत छानबिन समिति व्याँसको माल पुगेको छ।
नयाँ पत्रिका दार्चुला
२०७८ श्रावण २२ शुक्रबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला घटना : छानबिन समिति व्याँसको माल पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७८ श्रावण २२ शुक्रबार १४:०४:००

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकाेप्टरमार्फत व्याँसको माल प्रस्थान गरेको छ। बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानबिन समितिको टोली मध्याह्न नेपालतर्फको घटनास्थल हेर्न हेलिकाेप्टरमार्फत प्रस्थान गरेको हो।

व्याँस गाउँपालिका– २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो। बिहीबार नेपालतर्फ स्थलगत रूपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा–जुलुस गरेका थिए।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबारदेखि दार्चुलामा छ। साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलले तुइन फुकालिदिँदा धामी बेपत्ता भएको बताएका थिए। 

घटनाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्। 

तर, माल जान हेलिकाेप्टरमा चारजनाको मात्रै सिट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले माल जान पाइनन्। 

उनीहरूले दार्चुला पुगेयता घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्याँस गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन्।