१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ०६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पूर्वगोर्खा सैनिकका माग पूरा हुन्छन् : बेलायत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ११ शनिबार ०६:२४:००

बेलायतको सुरक्षा फौज (आम्र्ड फोर्स)सम्बन्धी राज्यमन्त्री मार्क ल्यान्कास्टरले पूर्वगोर्खा सैनिकका पेन्सनलगायत माग एकैपटक नभएर क्रमशः पूरा हुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको अलगअलग भेटवार्तामा राज्यमन्त्रीले यो प्रस्टीकरण दिएका हुन् । 

‘ब्रिटिस गोर्खाका विषयमा गठित प्राविधिक कमिटीको प्रतिवेदनबारे राज्यमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘कमिटीले नयाँ प्याकेज तयार गरेको छ र त्यसमा नेपाल सकारात्मक हुनेछ भन्ने विश्वास पनि गर्नुभयो ।’ स्रोतका अनुसार राज्यमन्त्रीले गोर्खाहरूको माग एकैसाथ पूरा गर्न नसक्ने र पुरानो भेदभावलाई विभिन्न विकल्पसहित समाधान गर्ने आश्वासन दिएका थिए । उनको भनाइ थियो, ‘समस्यालाई हामीले आत्मसात गरेका छौँ । तर, पूर्वगोर्खाले भनेजसरी होइन, प्रणालीगत रूपमा बिस्तारै हामी समाधान गर्छौँ ।’

गोर्खा सैनिकको पेन्सनमा भएका असमानताबारे मन्त्री पोखरेल, ज्ञवाली र अध्यक्ष प्रचण्डले साझा चासो राखेका थिए । परराष्ट्र अधिकारीका अनुसार राज्यमन्त्री मार्कको जवाफ थियो, ‘दुई सय वर्षभन्दा पहिलादेखि गोर्खा सैनिकका रूपमा सेवा गरिरहेका सेवा निवृत्त सैनिकहरूको उच्च योगदानलाई कदर गर्दै निवृत्तिभरणसहितका सुविधामा हालै वृद्धि गरिएको र थप सहयोगका लागि म प्रयत्नरत छु ।’