मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार २१:३७:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा गृहयुद्ध, पाकिस्तानविरुद्ध प्रदर्शन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार २१:३७:००

अफगानिस्तानमा तालिवानको प्रभाव र क्षेत्र विस्तार भइरहेका वेला तालिवानले पाकिस्तानबाट बलियो सहयोग प्राप्त गरिरहेको आरोप लागेको छ । सोमबार स्विडेनस्थित पाकिस्तानी राजदूतावासबाहिर अफगानिस्तानका युवाले विरोध प्रदर्शन गरेका छन् । जेनेभा डेलीले पाकिस्तानी सेना र उसको गुप्तचर एजेन्सी (आइएसआई)ले अलकायदा र तालिवानलाई सहयोग गरिरहेको आरोप लगाएको छ ।

‘अलकायदा र तालिवानलाई पाकिस्तानी सेनाले सुरक्षित क्षेत्र प्रदान गरेको छ, त्यही कारण तालिवान झन् बलियो हुँदै गएको छ,’ जेनेभा डेलीले सोमबार लेखेको छ, ‘पाकिस्तान अफगानिस्तानको सीमामध्ये ९० प्रतिशत तालिवानले कब्जामा लिएको छ । पाकिस्तानी सेनाको सहयोगका कारण उनीहरू सीमाक्षेत्र कब्जामा लिन सफल भएका हुन् ।’

पाकिस्तान र अफगानिस्तानबीच सीमा पूर्ण नियन्त्रित छैन । ‘तालिवानले पछिल्लो समयमा पाकिस्तानी सेनाको सहयोगमा नांगारहार प्रान्तमा आक्रमण गरे अनि सीमावर्ती जिल्ला अचिन, पाचेर वा अगाम कब्जा गरे,’ जेनेभा डेलीले लेखेको छ । तालिवानले हेसारक, सेरजाद, देहबाला, अचिन, सुरख्रोड जिल्लाहरूमा प्रभाव बढाइरहेको पनि जेनेभा डेलीले उल्लेख गरेको छ । 

उसका अनुसार घाइते अवस्थामा रहेका तालिवान समूह उपचारका लागि पाकिस्तानको क्वेटा सहरको जैलानी अस्पतालमा आइरहेका छन् । अफगानिस्तानको सेनासँग जुधिरहेका घाइते व्यक्तिहरू स्पिन बोलडाक क्षेत्रमा आउने र चामनमा रहेको डिएचब्यू अस्पतालमा उपचार गराइरहेका छन् । 

विदेही फौज करिब–करिब फिर्ता भइसकेको अवस्थामा तालिवानले धेरै क्षेत्र कब्जा गरेको छ । यसबीचमा तालिवानी विद्रोही नेतालाई चीनले भव्य स्वागत पनि गरिसकेको छ । 

स्विडेनमा पाकिस्तानविरुद्ध प्रदर्शन 
स्विडेनमा रहेको पाकिस्तानी दूतावासबाहिर सोमबार करिब ६० जनाले अफगानिस्तानमा शान्तिप्रक्रियालाई सहयोग नगरेको आरोप लगाउँदै दिनभरि घेराउ गरेका छन् । पाकिस्तानबाट अफगानिस्तानमा छद्मयुद्ध भएको भन्दै रोक्न उनीहरूले माग गरेका छन् । प्रदर्शनकारीहरूले अफगानिस्तानमा युद्ध रोकौँ, अफगानहरूको हत्या बन्द गरौँ, तालिवानलाई सहयोग बन्द गरौँ जस्ता नाराबाजी गरेको समाचार संस्था एएनआईले जनाएको छ ।