मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार २१:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मै हुनुपर्छ भन्ने छैन, तर संस्थापनइतर समूहबाट सभापतिमा एउटै उम्मेदवार बनाउनुपर्छ : शशांक कोइराला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार २१:२३:००

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिमा एउटै उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सोमबार पार्टीका युवा केन्द्रीय सदस्यहरूसँगको छलफलपछि महामन्त्री डा. कोइरालाले संस्थापनइतर पक्षबाट आफूलाई एक्लो उम्मेदवार बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । 

‘म सबैलाई मिलाएर लैजान सक्छु । मैले सभापतिजीलाई जित्न सक्छु, त्यसैले मलाई सबैले सघाउने वातावरण बनाउन तपाईंहरूले सहयोग गर्नुप¥यो,’ कोइरालाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘होइन भने मै हुनुपर्छ भन्ने छैन । तर, संस्थापनइतर पक्षबाट एकजना मात्रै उम्मेदवार बनाउन म पनि लागिपर्छु । पार्टीलाई नेतृत्व गर्न सक्ने, कुशलतापूर्वक हाँक्न सक्ने मान्छेलाई अहिले पार्टीको सभापति बनाउनुपर्ने अवस्था छ ।’ 

पूर्वनिर्धारित महाधिवेशनको मिति टर्दै गर्दा महामन्त्री कोइरालाले पार्टीका युवा केन्द्रीय सदस्यहरूलाई बोलाएर क्रियाशील सदस्यताको विवाद, महाधिवेशन र भावी नेतृत्वका विषयमा छलफल गरेका हुन् । महाराजगञ्जस्थित होटेल साम्बालामा भएको भेलामा केन्द्रीय सदस्यहरू दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, किरण यादव, सरिता प्रसाईं र रत्न शेरचन सहभागी थिए । 

छलफलका क्रममा केन्द्रीय सदस्यहरूले पार्टीको नेतृत्वमा रहेको सरकारमा सम्मानजनक ठाउँ नपाए सहभागी नहुन, महाधिवेशनलाई धेरै टाढा नधकेल्न र संस्थापनइतर समूहबाट एकजना मात्रै उम्मेदवार बनाउन सुझाब दिएका छन् । 


केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफूहरूले मूलतः तीनवटा सुझाब दिएको बताए । उनका अनुसार पहिलो– सम्मानजनक सहभागिता नभए सभापति एक्लैलाई सरकार चलाउन दिऔँ । दोस्रो– क्रियाशील सदस्यताको विवाद चाँडो समाधान गरी तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाऔँ । र, तेस्रो– आसन्न महाधिवेशनमा नेतृत्व परिवर्तन गर्ने गरी संस्थापनइतर समूहबाट एकजना मात्रै उम्मेदवार बनाऔँ ।

‘अहिले नेतृत्व परिवर्तन मुख्य कुरा हो । त्यसका लागि एकता पहिलो आधार हो । त्यसैले नेतृत्व बदल्ने कि प्रतिस्पर्धाका रूपमा मात्रै लिने भन्नेबारे तपाईंहरू गम्भीर हुनुपर्छ भनेर सुझाब दिऔँ,’ घिमिरेले भने । 

पार्टीको वैधानिकता जोगाउन आगामी १५ भदौ आसपास वडा अधिवेशन सुरु गर्ने र त्यसपछि दसैँपछि मात्रै अन्य अधिवेशन गर्ने कुराले चर्चा चलेको भन्दै नेताहरूले धेरै अन्तर नराख्न आग्रह गरे । ‘भदौमा वडा अधिवेशन सुरु गरेर महिनौँपछि जिल्ला र केन्द्रको अधिवेशन गर्ने भन्ने कुरा व्यावहारिक हुँदैन । त्यसैले सबै तहको अधिवेशन निरन्तर गर्ने गरी कार्यतालिका ल्याइनुपर्छ । तहगत रूपमा ठूलो अन्तराल राखेर अधिवेशन गर्दा महाधिवेशन प्रतिनिधिहरूका बीच अस्वस्थ राजनीति हुन सक्छ,’ उनले भने । 

घिमिरेका अनुसार बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलको संविधान र व्यवस्थाप्रतिको अडानका कारण वर्तमान सरकार बनेको भन्दै चर्चा भएको थियो । ‘संविधान, लोकतन्त्र र अहिलेको व्यवस्था जोगाउन उहाँ सुरुदेखि नै अडिग रहनुभयो । त्यसैको निरन्तरताले अहिले पार्टीका सभापतिको नेतृत्वमा सरकार बनेको छ,’ घिमिरेले भने, ‘अनि सरकारमा सम्मानजनक सहभागिता नगराउने भन्ने कुरा कसरी स्वीकार्ने ?’

स्रोतका अनुसार पौडेल समूहले देउवासँग कांग्रेसलाई आठवटा मन्त्रालय परेको अवस्थामा उपप्रधानसहित चार मन्त्रालय दिनुपर्ने माग गरेको छ । तर, देउवाले सिटौलासहित पौडेल समूहलाई तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् । ‘सरकारमा सहभागिताका विषयमा जुन प्रचार भएको छ । त्यो हो भने हामी सरकारमै नजाऔँ । सभापतिज्यू एक्लैले सरकार चलाउनुहुन्छ भन्ने राय हो । उपेक्षित हिसाबले सरकारमा नजाऔँ । बरु त्यसको सट्टा उहाँले एक्लैले चलाउनुहुन्छ । उहाँलाई पनि सजिलो हुन्छ,’ घिमिरेले भने, ‘होइन भने सम्मानजनक सहभागिताको कुरा सुनिश्चित हुनुपर्छ ।’ 

केन्द्रीय सदस्य दीपक गिरीले भेलाले संस्थापनइतर समूहबाट एकजना मात्रै उम्मेदवार बनाउने विषयमा सबैले साझा पहल गर्ने समझदारी बनेको बताए । ‘एकजना मात्रै उम्मेदवार चयन गर्ने विषयमा तपाईंहरूको भूमिका महत्वपूर्ण हुनुप¥यो । जो बलियो छ, उसैलाई उम्मेदवार बनाउनका लागि लाग्नुप¥यो भनेर महामन्त्रीज्यूले भन्नुभयो,’ गिरीले भने, ‘हामीले पनि त्यही कुरा राख्यौँ ।’