मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सिन्धुपाल्चोकको भेमाथाङमा गएको सुक्खा पहिरो ।
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ श्रावण १८ सोमबार ०९:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षा नभए पनि मेलम्चीमा भीषण बाढी

भेमाथाङको विशाल चौर पानीले गलेर पहिरो जाने क्रम रोकिएन, हेलम्बु–मेलम्ची तटीय क्षेत्र अझै जोखिममा

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ श्रावण १८ सोमबार ०९:३५:००

लेक भासिएर लेदोसहित मेलम्ची खोलामा आएको बाढीले तटीय क्षेत्रलाई कटान गरिरहेको छ । वर्षा नभए पनि मेलम्ची खोलामा बाढीको बहाव उस्तै छ । भूकम्पको कम्पनले थिलथिलो बनेको भेमाथाङको विशाल चौर वर्षाको पानीले गलेर पहिरोमा परिणत हुने क्रम रोकिएको छैन । आइतबार बिहानै एभरेस्ट हेलिकोप्टरबाट भेमाथाङ पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले लेदोसहितको बाढी बर्खाभर आइरहने अवस्था रहेको बताए । मेलम्ची खोलाको मुहान क्षेत्रमा जमिन पूरै भासिएकाले लेदो आएको शेर्पाले बताए । ‘हेलिकोप्टर ल्यान्ड गरेर झन्डै ४५ मिनेट पहिरोमा परिणत भएको बगरमा हिँड्यौँ,’ उनले भने, ‘अझै विशाल चौर बाँकी रहेको र जमिन भासिने क्रम चलिरहेकाले मेलम्ची खोलामा बाढी आइरहने अवस्था छ ।’ 

बर्खाभर बाढी आइरहने भएकाले हेलम्बुको नाकोतेदेखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी क्षेत्रसम्म उच्च जोखिम रहेको उनले प्रस्ट्याए । उनले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर भेमाथाङको यथार्थ विवरण पेस गरेका छन् । ‘त्यहाँको वास्तविक अवस्था बुझ्न विज्ञ टोलीलाई हेलम्बु क्षेत्र पठाउने वचन गृहमन्त्रीले दिनुभएको छ,’ शेर्पाले भने । लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि शनिबार राति गत १ असारको भन्दा पनि ठूलो बाढी आएको स्थानीयले बताए । हेलम्बु क्षेत्रमा तीन चार दिनदेखि वर्षा भएको छैन । तर, बाढी आइरहेको छ । खोलाले धार परिवर्तन गरिरहेको छ ।

किनारको दायाँबायाँ गर्दै बगेकाले १ असारपछि आंशिक क्षति पुगेका घरहरू पनि बगाएको छ । कम्तीमा १५ घर बगाएको गाउँपालिकाले जनाएको छ । बाढीले आधा पुरेको रेडियो मेलम्चीको भवन पनि शनिबार राति बगाएको छ । लेदो पानीको बहाव क्षणक्षणमा घट्ने–बढ्ने भइरहेकाले किनारमा रहेको खेतमा ठूलो क्षति पुगेको छ । गणेशबगर, चनौटे, ग्याल्थुम र मेलम्ची फाँटका खेत कटान भइरहेको छ ।

बाढीले मेलम्चीदेखि भीमटारसम्मको खेतक्षेत्र प्रभावित भएको छ । चनौटे बजारमा खोला कुदिरहेकाले करोडौँ मूल्यको भौतिक सामग्री छाडेर स्थानीय भागेका छन् । घर छाडेर भागेका बाढीपीडित शनिबारको बाढीले धानखेत बगाएपछि किनारमा निस्किएर रोइरहेका थिए । शनिबार रातभरको बाढीले स्थानीय त्रसित छन् । केही पीडितको घरायसी सामग्री बाढीमा परेको हेलम्बु गाउँपालिकाले जनाएको छ । राति ११ बजेदेखि बाढी कम भए पनि लेदोसहितको बाढीले वेला–वेलामा खोलाको धार परिवर्तन भइरहेकाले थप त्रास उत्पन्न भएको स्थानीयले बताएका छन् । 

 रातोपुल पनि बगायो
हेलम्बुको चनौटेस्थित रातोपुल बाढीले बगाएको छ । १ असार र त्यसपछि लगातार आएको बाढीबाट सुरक्षित सो पुल मेलम्ची खोलाको बाढीले आइतबार बिहान बगाएको हो । रातोपुल बगाएपछि हेलम्बुको ‘लाइफ लाइन’ नै कटेको छ । १ असारको बाढीले रातोपुलमाथि रहेका सबै झोलुंगे र मोटरेबल पुल बगाएको थियो । मेलम्चीसँग हेलम्बुका पाँचवटा वडा जोड्ने रातोपुल बगाएकाले स्थानीय मारमा परेका छन् । गाउँपालिका पुगेका टाढा–टाढाका मानिस रोकिएका छन् । 

 १ असारको बाढीबाट पाँचको मृत्यु, १८ बेपत्ता
गत १ असारको बाढीले पाँचको मृत्यु र १८ बेपत्ता भएका थिए । तर, यो पटक स्थानीय सबै सचेत र पूर्वतयारीमा रहेकाले मानवीय क्षति हुन पाएन । मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले भौतिक क्षतिको अनुमान नै गर्न नसक्ने अवस्था बनेको बताए । मेलम्ची नगरपालिकाभित्र एक सय ९६ घर काम नलाग्ने भइसकेको छ । शनिबार र आइतबार आएको बाढीले थप दुई घर बगाएको उनले बताए । ६० रोपनी खेतको धान बाली बाढीले बगाएको छ । तटीय क्षेत्रमा आंशिक क्षति पुगेका भौतिक संरचना सबै काम नलाग्ने भएको अर्यालले बताए । 

हेलम्बु गाउँपालिकाको नाकोतेदेखि ग्याल्थुमसम्म तीन सय घर बगाएको थियो ।  शनिबारको बाढी चनौटे बजार छिरेकाले करोडौं मूल्यका पक्की घर धमाधम ढल्न थालेका छन् । यसपटक मात्रै बाढीले बाहुनेपाटीमा रहेको मध्यपहाडी लोकमार्ग जोड्ने लामो मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ । मेलम्चीबाट नदीले धार परिवर्तन गरेर पुलको फाउन्डेसनलाई एकोहोरो हानिरहेकाले पुल जोखिममा परेको छ । भीमटार क्षेत्रमा ४० रोपनी खेतमा लगाएको धान बाली बगाएको स्थानीय सुरेन्द्र दनुवारले बताए । दनुवार र माझी जातिको मृत्यु संस्कार गर्ने पाटी पनि बगाएको छ । घर ढलेर चिन्तामा परेका स्थानीय किसान खेत बगरमा परिणत भएपछि थप निराश बनेका छन् ।