१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हेमन्त केसी जाजरकोट
२०७८ श्रावण १८ सोमबार ०९:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३१ महिनामा सक्नुपर्ने नलगाडको डिपिआर ६० महिनासम्म अधुरै

Read Time : > 1 मिनेट
२०७८ श्रावण १८ सोमबार ०९:२७:००

जाजरकोटको नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजनाको डिपिआर ६० महिनामा पनि पूरा भएको छैन । ४ सय १७ मेगावाटको जलाशययुक्त नलगाडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ । डिपिआरको काम करिब ८५ प्रतिशत सकिएको र बाँकी काम २०२१ को सेप्टेम्बरसम्म सकिने कम्पनीको दाबी छ । अष्ट्रेलियन कम्पनी स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्त रूपमा डिपिआरको काम गरिरहेका छन् । सन् २०१६ मा नै ३१ महिनामा डिपिआरको काम सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो ।

यसअघि डिपिआरकर्ताको मागअनुसार अगस्ट २०१९ मा पहिलोपटक तीन महिना र अगस्टदेखि मे २०२० सम्म नौ महिनामा दोस्रोेपटक डिपिआरको समय थप भइसकेको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नलगाड जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । डिपिआरको हालसम्मको तयार विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ ।  

जाजरकोटको नलगाड गाउँपालिका–७, दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८, अँधेरी खोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुनेछ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावरहाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमि लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् ।

यस्तै, २ सय ४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० लाख घनमिटर पानी जम्मा हुनेछ । चारवटा नर्बाइन हुने आयोजनामा प्रत्येक टर्बाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिनेछ । नलगाडकै दानीपीपलमा ४ सय केभी प्रसारण लाइनको सबस्टेसन निर्माणकार्य जारी छ । उता नलगाड निर्माणकै लागि भन्दै ४ मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर पनि तयार भइरहेको छ । 

 यस्तो छ हालसम्मको प्रगति 
आयोजना सुरु भएको ६० महिना पूरा हुँदासम्म निर्माणस्थल र बाँधस्थलमा (मेकानिकल टेस्ट) ढुंगाको क्षमता जाँचको काम सकिएको छ । भूमिगत विद्युत् उत्पादनगृहमा ३ सय २० मिटर लामो सुरुङ निर्माण भएको छ भने ५५ मिटर खन्न बाँकी रहेको छ । सो कामका लागि भारतलगायतका देशबाट मजदुरहरू आउने क्रममा रहेको आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । थापाका अनुसार ५ महिनाभित्र काम पूरा हुने अपेक्षा लिइएको छ । आयोजनास्थलमा जग्गा अधिग्रहणको काम सकिएको र घरको मुआब्जा दिन मात्र बाँकी छ । घरको मुआब्जा दिन यही आर्थिक वर्षमा सुरु हुने उनले बताए । आयोजनास्थलमा ६ सयभन्दा बढी घरहरू रहेका छन् । ०७६ भदौ २७ भन्दाअघि निर्माण भएका घरको मात्र मुआब्जा दिइने आयोजनाले निर्णय गरेको छ ।