१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण १८ सोमबार ०६:२४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सडक मानवमुक्त अभियानका नायक

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण १८ सोमबार ०६:२४:००

परिवारमा दुई छाक मीठोमसिनो खान कुनै कुराको कमी छैन । पढाइ–लेखाइ पनि राम्रै थियो । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबिएस) गरेका छन् । राम्रै कम्पनीमा जागिरे बन्न उनलाई गाह्रो थिएन । तर, यी सबै छोडेर गोरखा पालुङटार–१ का ३६ वर्षीय रामजी अधिकारी सडकमानवमुक्त अभियानमा लागेका छन् । जागिर, व्यापार, कमाइ, मोजमस्तीजस्ता सबै लोभलालच छाडेर उनी दिनरात सडकमै भेटिन्छन् । उनको एउटै लक्ष्य छ, आफू सडकमा रातदिन बस्नुपरे पनि कुनै पनि रोगी, बेसहाराले सडकमा एकछिन बस्नु नपरोस् । उनी यही लक्ष्यका साथ ०६९ सालदेखि सडकमा भौँतारिने मनोरोगीहरूको उद्धार र संरक्षणमा जुटिरहेका छन् । उनलाई सुमन, रूपालगायतका अन्य सहकर्मीहरूले साथ दिइरहेका छन् । 

उनले सडकमानवमुक्त अभियान सातवटै प्रदेशका १४ स्थानमार्फत चलाइरहेका छन् । मानव सेवा आश्रममार्फत सडकमा अलपत्र परेका, उपचार अभावमा भौँतारिएका बेसहाराहरूको उद्धार र संरक्षणमा उनीहरू निरन्तर लागिरेहका छन् । करिब १० वर्षमा उनीहरूले सयौँ बेसहाराहरूको उद्धार र उपचार गराइसकेका छन् । उद्धार गरिएकाहरूमध्ये एक हजारजनालाई समाजमा पुनस्र्थापना भइसकेको उनले बताए । सात सयभन्दा बढीले आश्रमभित्रै मृत्युवरण गरेका छन् । उनीहरूले ०८० सालभित्र देशलाई सडकमानवमुक्त बनाउने योजनाका साथ अभियान चलाइरहेका छन् । 

मानव सेवा आश्रमको संरक्षकत्वमा करिब एक हजार अभिभावक जुटिसकेका छन् । अभियानमा तीन सयजना युवायुवतीले स्वयंसेवा गरिरेहका छन् । विदेशी दाताहरूको सहयोगविनै उनीहरूले चलाइरहेको अभियानको एउटै लक्ष्य छ, ‘नेपाललाई सडकमानवमुक्त बनाउने र सबैका लागि खाना, नाना र छाना दिलाउने ।’ राज्य, समाज र घरपरिवार सबैतिरबाट जब मानिस उपेक्षित हुन्छ, तब बेसहारा बन्छ र विकल्प सडक मात्रै हुन्छ । सडकमा आइपुग्नेमध्ये पनि बोल्न सक्नेहरूको उद्धार अलि चाँडै र संरक्षण पाउने सम्भावना पनि बढी हुन्छ । तर, कडा खाले मानसिक रोग लागेका र बोल्न नसक्नेहरूको पीडा खपिसक्नुको नहुने रामजीको अनुभव छ । उनी भन्छन्, ‘सडकले यस्तालाई छि..छि.. दूरदूर गर्छ, खेदाउँछ । बिचरा उनीहरू भने बिरामीे छु, उपचार चाहियो भन्नसमेत सक्दैनन् । भोको छु, खाना देऊ भनेर माग्न पनि सक्दैनन् ।’ 

यस्ता व्यक्तिले विकल्पका रूपमा सडकमा आइपुग्ने पनि सडक नै उनीहरूको शत्रु बन्छ । बेसहाराहरूका लागि न त घरपरिवार र समाज छ, न त राज्य र सरकार नै सहयोगी बन्न सकेको उनको भनाइ छ । यस्ता व्यक्तिहरूलाई सहयोग गर्नेहरूभन्दा घृणा, कुटपिट गर्नेहरू धेरै पाएको रामजीले बताए । कतिपयले त यौनशोषणसमेत भोग्ने गरेको उनले बताए ।