१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ श्रावण १६ शनिबार १३:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापको खानीखोलाले एउटा पसल बगायो, एक सय ५० घर पहिरोको उच्च जोखिममा

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ श्रावण १६ शनिबार १३:४१:००

रामेछापमा केही दिनदेखि परेको अविरल वर्षासँगै आएको वाढीले सुनापति गाउँपालिका वडा नं ४ बेथान स्थित खानीखोलामा शुक्रबार साँझ आएको बाढीले स्थानीय बाबुलाल तामाङको किनारा पसल बगाएको छ ।  खोलाले उनको पसल बगाउँदा पसलमा भएको सामान, लत्ता कपडा, नगद, फर्निचर लगाएतका सामग्री गरि करिब तीन लाख रुपैयाँ बरावरको क्षति भएको छ ।

त्यस्तै सुनापति गाउँपालिका ४ डहुँका गर्जमान तामाङको एक तले ढुङ्गामाटाले बनेको घर र सोही गाउँका माधव तामाङको गोठ पनि पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यसैगरी वर्षाका कारण बेथान भलबाडीका शेरवहादुर तामाङको ढुंगामाटोले बनेको दुई तले घर पनि पहिरोले पुरिएको छ । त्यस्तै वर्षाका कारण गएको पहिरोले सुनापति गाउँपालिका वडा नं १ गुन्सीभदौरेका ५० घरपरिवारमा क्षति पुर्‍याएको छ  । गुन्सीभदौरेका बोजिनी टोल, सिम्पानी, रिसिङ टोल, सार्की टोल र सिम्पानीमा पहिरो जाँदा त्यस क्षेत्रमा सदियौंदेखी वसोवास गर्दै आएका ५० घरमा पहिरोले क्षति पुर्‍याएको छ ।
 

 

पहिरोका कारण ८ वटा घर वस्नै नहुने गरि भत्किएका छन् भने ४२ घरपरिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । त्यस्तै पहिरोका कारण दोरम्वा शैलुङ्ग गाउँपालिकाका ६० घर पहिरोको उच्च वोखिममा रहेका छन् । सो गाउँपालिकाको वडा नं ६ लखनपुर गैराटोलका हरिप्रसाद गौतमको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको  छ भने सो टोलका १६ वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ ।
 
त्यस्तै पहिरोले सोही गाउँको देवकोटा टोलमा २१ वटा घर, गेग्रिनी टोलमा ७ वटा, डाँडाटोलमा ७ वटा, सिस्नेरी पाठक टोलमा समेत पहिरोले क्षति पुर्‍याएको छ । यसैगरी लगातारको वर्षाका कारण सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीको डोग्मा वस्तीमा समेत पहिरोले क्षति पुर्याएको छ । यसवाहेक पहिरोले खाँडादेवी गाउँपालिकाको थानसिङका १२ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । 

त्यस्तै सोही पालिकाको चुल्ठेपानीमा पहिरो जाँदा एउटा घर पुरेको छ । त्यस्तै सोही पालिकाको थानसिङ र टिमुमा समेत पहिरो जाँदा केही घर विस्थापित भएका छन् । त्यस क्षेत्रमा लगतार रुपमा परेको अविरल वर्षाका कारण घरमाथि र घरमुनी दुवैतर्फवाट पहिरो जाँदा त्यस क्षेत्रका नागरिकहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी मन्थली नगरपालिका वडा नं १ वसपार्क छेउमा रहेको हिराबहादुर माझीको तीनतले पक्की घर पहिरोका कारण भासिएको छ । उक्त घर माथिवाट घरलाई पेलेपछि लड्न लागेको उक्त घरलाई मन्थली नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको थियो ।

शुक्रवार बेलुकी भवनको केही गाह्रो भत्काएर छोडेको उक्त भवन आज विहान भुईतला पुरै जमिन मुनी भासिएको छ । एकतला घर भासिएपनि जोखिम कायमै रहेकाले बाँकी दुईतला भवन भत्काएर संरचना हटाउन डोजर प्रयोग भइरहेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।