मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
महाकालीको तुइन। फाइल तस्बिर
नरेन्द्रसिह कार्की दार्चुला
२०७८ श्रावण १५ शुक्रबार ११:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदियो, एकजना बेपत्ता

Read Time : < 1 मिनेट
नरेन्द्रसिह कार्की दार्चुला
२०७८ श्रावण १५ शुक्रबार ११:३३:००

व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एकजना नेपाली नदीमा बेपत्ता भएका छन्। सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन्। 

शुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा उनी नदीमा तुइन तर्दै थिए। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। ‘भारततर्फ पुग्ने वेला एसएसबीले एक्कासि तुइन काटिदियो,’ उनले भने, ‘नदीको बीचभागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।’

‘५–६ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका थियौँ,’ प्रत्यक्षदर्शी धामीले भने, ‘६–७ जना तुइनबाट भारत तरेका थिए,  जयसिंह तर्ने वेला एसएसबी पुगेर तुइन काटिदिए ।’ भारत पांगलमा रहेका एसएसबीले तुइन काटेका हुन्। 

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीय दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ। तुइनबाट खस्दा वेलावेला यस्ता घटना हुने गरेका छन्। 

सरकारले तुइनमुक्त कार्यक्रमअन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ। व्यासका नागरिकहरू खाद्यान्न, औषधि र आवतजावत यही तुइनमार्फत गर्दै आएका छन्। 

वेलावेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले तुइन लगाउने गरेका छन्। अहिले घटनास्थलमा दुम्लिङ र सुनसेरा प्रहरी चौकीबाट प्रहरी र दुम्लिङबाट सशस्त्र गइरहेका छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए।