Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
देवी श्रीधर
२०७८ श्रावण १५ शुक्रबार ०९:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायतमा कोभिड–१९ र बालबालिकाको स्वास्थ्य स्थिति

Read Time : > 2 मिनेट
देवी श्रीधर
२०७८ श्रावण १५ शुक्रबार ०९:१२:००

देश/विदेश

बेलायतले एकपटक बालबालिका र किशोर–किशोरी संक्रमणमा परून् अनि मात्र त्यसबारे हेरौँला भन्ने मनस्थिति बनाएजस्तो देखिन्छ

अहिले विशेषज्ञहरूबीच कोभिड–१९ र बालबालिकासँग सम्बन्धित विविध विषयमा छलफल भइरहेका छन् । फेब्रुअरी २०२० मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र चीनको संयुक्त अध्ययनले कोभिड–१९ बाट बालबालिका तुलनात्मक रूपमा सुरक्षित रहेको भन्ने नतिजाले धेरैलाई राहत दिएको थियो । तर, सो नतिजा अलिक अस्वाभाविक थियो किनभने सामान्यतया श्वास–प्रश्वाससँग सम्बन्धित रोग र अन्य कोरोना भाइरसले बालबालिकालाई बढी असर गरेको पाइन्थ्यो । सम्भवतः चीनले कडाइसाथ अपनाएको भाइरस नियन्त्रणका कदमले विभिन्न उमेर समूहमा रोग फैलिन पाएन । त्यस बखत कोभिड–१९ लाई वृद्ध, अधिक भार भएका र विभिन्न रोग लागेका मानिसको रोगका रूपमा बुझिएको थियो । 

महामारीको एक वर्ष पुग्दा धनी मुलुकहरूले सामूहिक खोप कार्यक्रम ल्याइरहेका छन्, जहाँ वृद्ध मात्रै होइन, युवा जनसंख्यामाझ पनि रोग नियन्त्रण गर्ने उद्देश्य देखिन्छ । खोप कार्यक्रमले अस्पतालमा भर्ना हुने र मृत्यु हुने कडी धेरै हदसम्म टुटेको देखिन्छ । खोप लगाइसकेपछि ठूलो संख्याका युवाहरू कोभिड–१९ को त्रासदीपूर्ण लक्षणबाट जोगिन सफल भएका छन्, तर यसबाट बालबालिकालाई कसरी जोगाउने भन्ने प्रश्न भने यथावत् नै छ । बेलायतमा बालबालिका र किशोर–किशोरीमा ठूलो संख्यामा संक्रमण देखिन थालेको छ । यो आँकडा शरद ऋतुमा विद्यालय खोलिँदा थप वृद्धि हुने देखिन्छ ।

बालबालिकाहरू सार्स–कोभ–२ (कोभिड–१९ रोग लगाउने कोरोना भाइरस) बाट संक्रमित भए रुघाखोकीजस्तै सामान्य हो भनेर बेवास्ता गर्ने वा उनीहरूलाई खोप लगाएर जोगाउने ? यो प्रश्न धेरैका मनमा गढेको देखिन्छ । एक तप्का खोपको सम्भावित नकारात्मक असर (साइड इफेक्ट) बारे चिन्तित देखिन्छ । तर, चिन्तित हुनेको संख्या निकै कम छ । भाग्यवश अमेरिका र बेलायतका स्वास्थ्य व्यवस्थाले फाइजर र बायोटेक खोपहरू १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन योग्य रहेको देखाएको छ । अमेरिकामा १२ देखि १५ वर्षका एकचौथाइ बालबालिकालाई पूरा मात्रामा खोप लगाइसकिएको छ भने १२ देखि १५ वर्षका एकतिहाइ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् । इजरायल, इटली र फ्रान्स पनि बालबालिकालाई खोप लगाउने मामिलामा अगाडि देखिएका छन् । उता जर्मनीमा पनि अभिभावकको मन्जुरीमा खोप लगाउन थालिएको छ ।  

बालबालिकामा कोभिड–१९ लाई बेवास्ता गरेर बेलायत आफूलाई अन्तर्राष्ट्रिय प्रयोगशाला बनाइरहेको छ । यस्तो अवस्थामा बन्ने थप नयाँ भेरियन्टले खोपलाई प्रभावहीन र बालबालिकामा जोखिम थप्ने सम्भावना बलियो हुन्छ ।

बेलायतले भने एकपटक बालबालिका र किशोर–किशोरी संक्रमणमा परून् अनि मात्र त्यसबारे हेरौँला भन्ने मनस्थिति बनाएको जस्तो देखिन्छ । त्यसो गरिए बालबालिका र किशोर–किशोरीमा महामारी काबुबाहिर जानेछ । केही बेलायती वैज्ञानिकहरू भने कोभिड–१९ भन्दा बढी मौसमी फ्लुका कारण बालबालिका अस्पतालमा भर्ना भइरहेका छन् भन्ने दलिल पेस गरिरहेका छन् । अमेरिकामा भने बालरोग विशेषज्ञहरू दीर्घकालीन असर गर्ने जोखिम भएको यस भाइरसबाट बालबालिकालाई जोगाउनुपर्छ भन्ने तर्क गर्छन् । कोभिड–१९ अमेरिकामा २०२० मा भएको बालबालिकाको मृत्युको एक प्रमुख कारक रहेको देखिन्छ । बालरोग विशेषज्ञ नभए पनि मैले अमेरिकामा जोखिमयुक्त भनिएको रोगलाई बेलायत पुग्दा हानि नगर्ने रोगका रूपमा लिइनुको कारण बुझ्न सकेकी छैन ।

१२ वर्षमुनिका बालबालिकाका सन्दर्भमा कोभिड–१९ लाई कसरी हेर्ने भन्ने चुनौती विभिन्न वैज्ञानिक एवं सरकारसामु तेर्सिएको छ । अहिलेसम्म १२ वर्षमुनिका बालबालिकाका लागि कुनै पनि खोपलाई आधिकारिकता दिइएको छैन । यद्यपि, प्रारम्भिक परीक्षण भने उत्साहप्रद नै देखिन्छन् । इजरायल र अमेरिकाका स्वास्थ्य प्राधिकरणहरू पर्याप्त वयस्कलाई खोप लगाउँदा बालबालिकामा कोभिड–१९ रोकिनेमा आशावादी छन् । यो प्रक्रिया पुराना भेरियन्टमा जायज देखिए पनि डेल्टा भेरियन्टमा प्रतिकूल देखिन्छ । डेल्टा भेरियन्ट अघिल्ला भेरियन्टभन्दा बढी संक्रामक छ र आमप्रतिरोध (हर्ड इम्युनिटी) हासिल गर्न पनि ९८ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने देखिन्छ ।  

कोभिड–१९ बालबालिकामा घातक रहे नरहेबारेमा बालरोग विशेषज्ञबीच मतैक्य छैन । हालैको एक अध्ययनअनुसार बालबालिकामा लामो समयसम्म कोभिड–१९ संक्रमण देखिए दीर्घकालीन रोग, शारीरिक परिवर्तन, मुटु, मिर्गौला, रक्त धमिनी र फोक्सोमा असर पर्ने देखिएको छ । लामो समयसम्म रहिरहने कोभिड–१९ कति बालबालिकामा छ र भएकाहरू कति निको भए ? कति बालबालिका बढी जोखिममा छन् ? यी प्रश्नको उत्तर वैज्ञानिक उन्नतिसँगै आउने देखिन्छ । विस्तृत जानकारी सतहमा नआए पनि बालबालिकामा लामो समयसम्म रहिरहने कोभिड–१९ एक मुख्य चुनौतीका रूपमा देखिएको छ ।

सबै मुलुकमा हाल विद्यालय भनेको धराप मात्रै हो । महामारीका वेलामा बालबालिकामा हुने असरलाई कम आँक्न सकिने अवस्था छैन । यौन र घरेलु हिंसा, बालबालिकामा भोकमरी र मानसिक समस्याको पनि आँकडा बढ्दो देखिन्छ । बालबालिकाको शिक्षा अन्तराल मेटिन पनि वर्षौं लाग्ने देखिन्छ । वास्तवमा बालबालिकाको सामाजिक, मानसिक र शारीरिक स्वास्थ्यका लागि उनीहरू विद्यालयमा हुनु आवश्यक छ । तर, हालको डेल्टा भेरियन्टले विद्यालय जाने अवस्थालाई प्रतिकूल बनाइदिएको छ । बालबालिकामा कोभिड–१९ लाई बेवास्ता गरेर बेलायत आफूलाई अन्तर्राष्ट्रिय प्रयोगशाला बनाइरहेको छ । यस अवस्थामा बन्ने थप नयाँ भेरियन्टले खोपलाई प्रभावहीन र बालबालिकामा जोखिम थप्ने सम्भावना पनि देखिन्छ । सबै उमेर समूहलाई खोपको व्यवस्था नहुन्जेल सकारत्मक हुने ठाउँ देखिँदैन । खोपको व्यवस्था नहुन्जेलसम्म बालबालिकाको स्वास्थ्य र भविष्यबारे खुला र इमानदार बहस जरुरी छ । 

(प्राध्यापक श्रीधर वैश्विक सार्वजनिक स्वास्थ्यका प्रमुख हुन्) 
द गार्जियनबाट