मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण १५ शुक्रबार ११:०१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पावेलपछि अमेरिकी विदेशमन्त्री किन नेपाल आएनन् ?

अमेरिकी उच्चस्तरीय भ्रमणको प्राथमिकता सूचीमा परेन नेपाल 

Read Time : > 2 मिनेट
२०७८ श्रावण १५ शुक्रबार ११:०१:००

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन मंगलबार साँझ दिल्ली ओर्लनुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरे । तर, ब्लिंकेनको नेपाल आउने कार्यक्रम थिएन । अमेरिकाबाट नेपालमा विदेशमन्त्रीस्तरीय भ्रमण नभएको बीस वर्ष पुगेको छ । विगतमा नेपाल र अमेरिकाबाट उच्च राजनीतिक भ्रमण आदानप्रदान हुँदै आएकोमा पछिल्लोपटक नेपालबाट परराष्ट्रमन्त्रीको एकतर्फी भ्रमणमा राजनीति संवाद सीमित हुन पुगेको छ । 

अमेरिकी विदेशमन्त्री ब्लिंकेन बुधबार भारतीय समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय भेटवार्तामा व्यस्त रहे । उनको दक्षिण एसियाका अन्य मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन । यसअघिको सरकारका विदेशमन्त्री माइक पोम्पियो भारत आउँदा दक्षिण एसियाली अर्को मुलुक श्रीलंकाको पनि भ्रमण गरेका थिए । पछिल्लो समयमा नेपाल अमेरिकी उच्चस्तरीय भ्रमणको प्राथमिकता सूचीमा परेको छैन । नेपालबाट परराष्ट्रमन्त्रीस्तरीय भ्रमण ०७५ पुस पहिलो साता भएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३ पुसमा विदेशमन्त्री माइक पोम्पियोसँग औपचारिक वार्ता गरेका थिए । त्यसक्रममा एमसीसी र अमेरिकाको हिन्द प्रशान्त रणनीतिमा नेपालको भूमिकाबारे छलफल भएको थियो । 

अमेरिकाबाट माथिल्लोस्तरको भ्रमण नहुनु हाम्रो विश्वसनीयताको कमी हो  : डा.सुरेशचन्द्र चालिसे,पूर्वराजदूत, अमेरिका

अमेरिकाबाट विदेशमन्त्री वा त्योभन्दा माथिल्लोस्तरको भ्रमण पनि नहुनु हाम्रो विश्वसनीयताको कमी हो । यद्यपि यो स्तरमा भ्रमण नभए पनि नेपाल अमेरिका सम्बन्धमा फरक परेको छैन । हामीले भुल्न नहुने अर्को यथार्थ के हो भने शीतयुद्धका वेला, त्यसअघि र पछि पनि नेपालको महत्व छ र रहनेछ । हाम्रो नेतृत्वले विश्वसनीयता स्थापित नगरेसम्म उच्च राजनीतिक भेटवार्ताहरूको सम्भावना क्षीण रहन्छ ।

अमेरिकाका लागि पूर्वनेपाली राजदूत डा.सुरेशचन्द्र चालिसेले नेपाली नेतृत्वको विश्वसनीयता अभावका कारण अमेरिकाबाट उच्च राजनीतिक भ्रमण हुन नसकेको टिप्पणी गरे । ‘अमेरिकाबाट विदेशमन्त्री वा त्योभन्दा माथिल्लोस्तरको भ्रमण पनि नहुनु हाम्रो विश्वसनीयताको कमी हो । यद्यपि यो स्तरमा भ्रमण नभए पनि नेपाल अमेरिका सम्बन्धमा फरक परेको छैन,’ चालिसेले नयाँ पत्रिकासँग भने । अघिल्लो सरकारको असन्तुलित परराष्ट्र नीति सञ्चालन र मुलुकको राजनीतिक संक्रमणका कारण पनि भ्रमणमा अमेरिकी चासो नभएको हुन सक्ने उनको आकलन छ । ‘हामीले भुल्न नहुने अर्को यथार्थ के हो भने शीतयुद्धका वेला, त्यसअघि र पछि पनि नेपालको महत्व छ र रहनेछ,’ चालिसेले भने, ‘हाम्रो नेतृत्वले विश्वसनीयता स्थापित नगरेसम्म उच्च राजनीतिक भेटवार्ताहरूको सम्भावना क्षीण रहन्छ ।’ 

५ माघ ०५८ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेयता उनी वा माथिल्लोस्तरका कोही पनि अमेरिकी अहिलेसम्म नेपाल आएका छैनन् । तत्कालीन उपप्रधानमन्त्री कमल थापा ०७२ सालमा एउटा सन्दर्भमा भएको भेटवार्तामा विदेशमन्त्री जोन केरीले सन् २०१६ भित्र नेपाल भ्रमण गर्ने जिकिर गरेका थिए । ओबामा सरकारका ती मन्त्रीको भ्रमण हुने जानकारी थापाले त्यसवेला दिएका थिए । तर, ओबामापछि निर्वाचित डोनाल्ड ट्रम्प नेतृत्वका विदेशमन्त्रीले पनि नेपाल भ्रमण गरेनन् भने जो बाइडेन सरकारका विदेशमन्त्रीको पनि प्राथमिकता सूचीमा नेपाल छैन । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुने दाबी गरेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पालामा भारत र पाकिस्तानको भ्रमण सकेर अमेरिकी विदेशमन्त्री पावेल नेपाल भ्रमणमा आएका थिए । सन् २००१ मा अमेरिकी ट्विन टावरमा आतंकवादी हमला भएपछि अफगानिस्तानमा आक्रमण गरेको अमेरिकाले नेपालमा पनि माओवादीविरुद्ध सरकारी कारबाहीलाई सहयोग गर्ने वचन दिएको थियो । माओवादीले ०५८ मंसिरमा दाङमा नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेर शान्तिवार्ता भंग गरेपछि सरकारले संकटकाल लगाएर माओवादीलाई आतंककारी घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री पावेलले माओवादीविरुद्ध सरकारी कारबाहीमा ऐक्यबद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए । पावेलपछि विदेशमन्त्रीस्तरीय हाइप्रोफाइल भ्रमणसमेत भएको छैन । 

सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्नेउ सन् १९७० मा नेपाल भ्रमणमा आएका थिए । राजा महेन्द्रले दुईपटक र राजा वीरेन्द्रले एकपटक अमेरिकाको राजकीय भ्रमण गरेका थिए । यसपछि नेपालबाट राष्ट्रप्रमुखस्तरमा पनि अमेरिका भ्रमण भएको छैन ।