मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ओलम्पिकमा जानुअघि प्रशिक्षक इन्द्राकुमारी मल्ल, धाविका सरस्वती चौधरी र सन्तोष श्रेष्ठ ।
२०७८ श्रावण १५ शुक्रबार ०८:४५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सरस्वतीले सय मिटर दौडमा आज प्रतिस्पर्धा गर्दै 

Read Time : > 2 मिनेट
२०७८ श्रावण १५ शुक्रबार ०८:४५:००

ओलम्पिकमा भाग्यमानी नेपाली खेलाडी र प्रशिक्षक

टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा एथलेटिक्स इभेन्ट्समा नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन् । उनले शुक्रबार सय मिटर हिट–२ मा प्रतिस्पर्धा गर्दैछिन् । उनका प्रशिक्षक सन्तोष श्रेष्ठ हुन् । संयोगवस एथलेटिक्सका सहभागी खेलाडी र प्रशिक्षक दुवैजना भाग्यमानी बनेका छन् । यी दुवैले आशा नगरेको अवसर प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रारम्भिक सूचीमा नत चौधरीको नाम थियो न उनका प्रशिक्षक श्रेष्ठ नै थिए । चौधरी र श्रेष्ठले अन्तिम समयमा टोकियो जाने अवसर पाएका हुन् । एक किसिमले भन्नुपर्दा दुवैलाई ओलम्पिकको चिठ्ठा परेबराबर नै भयो ।

डेढ वर्षअघि नै एनओसी र नेपाल एथलेटिक्स संघले धावक गोपीचन्द्र पार्कीलाई टोकियो ओलम्पिकमा सहभागी गराउने भनी लङ लिस्टअनुरूप युनिभर्सालिटी प्लेस कोटामा नाम पठाएको थियो । नेपालगन्जमा सम्पन्न म्याराथनमा पहिलो स्थान हात पारेपछि पार्की ओलम्पिकमा छनोट भएको एनओसीले घोषणा गरेको थियो । 

नेपालगन्ज म्याराथनको पुरुषतर्फ पहिलो हुने खेलाडीले ओलम्पिक खेल्ने घोषणा एनओसीले नै गरेको हो । त्यसपछि ओलम्पिक खेल्ने सपना पूरा गर्ने लक्ष्यका साथ गोपी तयारीमा थिए । एनओसीले पनि यहीअनुसार तयारीको प्रबन्ध मिलाएको थियो । यो अवधिमा गोपी टोकियोमा नेपालबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न तयार भइसकेका थिए । तर, ओलम्पिक सुरु हुन तीन साता पनि बाँकी नहुँदै राष्ट्रिय खेलकुद परिषद्, एनओसी र एथलेटिक्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गोपी टोकियो ओलम्पिकमा सहभागी हुन नसक्ने जानकारी दिए । 

१ जुलाईमा परिषद्, एनओसी र एथलेटिक्स संघको संयुक्त विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले नेपाललाई एथलेटिक्समा नभएर सय मिटर महिला दौडमा मात्र कोटा छुट्याइएको रहेछ । अन्तर्राष्ट्रिय खेलकुदको समन्वयन गर्ने प्रमुख संस्था एनओसी र एथलेटिक्स संघले आफ्नो प्रवाधिक गल्ती स्वीकार नगरी आइओसीको नियमकै कारण गोपीले टोकियो ओलम्पिक खेल्नबाट वञ्चित भएको दाबी गरिरहेका छन् ।

नेपाली खेलकुदसम्बन्धी खेल निकायकै गल्तीका कारण गोपीको ओलम्पिक खेल्ने सपना क्षणभरमै तुहियो । गोपीले सात महिनादेखि निरन्तरता गरेको ओलम्पिक तयारी व्यर्थ बन्यो । र, एनओसी र संघको गल्तीमा महिला धाविका चौधरीको भाग्य चम्कियो । एनओसीले महिला कोटाअनुसार नेपालकै उत्कृष्ट महिला खेलाडी चौधरीलाई सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने निर्णय गर्‍यो । उनी टोकियो ओलम्पिककै भाग्यमानी खेलाडी ठहरिइन् । चौधरीले टोकियो ओलम्पिकमा छनोट हुने कल्पनसमेत गरेकी थिइनन् । 

एनओसीकै निर्णयअनुसार चौधरीले सय मिटरको स्पिन्टमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । टोकियो जानुअघि चौधरीले आफूलाई भाग्यमानी खेलाडी भएको प्रतिक्रिया दिएकी थिइन् । ‘एक किसिमले म भाग्यमानी खेलाडी भएँ,’ एनओसीले आयोजना गरेको टोकियो ओलम्पिक यात्रा कार्यक्रममा चौधरीले भनेकी थिइन्, ‘कहिलेकाहीँ नसोचेको परिणाम हात लाग्ने रहेछ ।’

चौधरीसँगै टोकियो पुगेका प्रशिक्षक श्रेष्ठ पनि भाग्यमानी ठहरिए । एनओसीले महिला खेलाडीलाई प्रशिक्षण गराउन सजिलो हुन्छ भनेर महिला प्रशिक्षक इन्द्राकुमारी मल्ललाई जिम्मेवारी दिएको थियो । 

तर, मल्लले दुर्भाग्यको सामना गरिन् । डेढ साताअघि टोकियो जाने खेलाडी, अफिसियल तथा प्रशिक्षकहरूको पिसिआर टेस्ट गर्दा मल्लको नतिजा पजिटिभ आयो । र उनी ओलम्पिकमा सहभागी हुन पाइनन् । 

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले विज्ञप्तिमार्फत संक्रमित प्रशिक्षक मल्लको स्थानमा लङ लिस्टमा रहेका प्रशिक्षक श्रेष्ठ म्याराथन प्रशिक्षकका रूपमा टोकियो जाने जानकारी गराए । यो निर्णयपछि मल्लले आफूमाथि एनओसीले अन्याय गरेको आरोप लगाइन् । स्टार अस्पतालमा परीक्षण गराउँदा पजिटिभ आएको भोलिपल्ट मल्लले विभिन्न चार ल्याबमा पुनः पिसिआर परीक्षण गराइन् । तर, स्टार अस्पतालसहित अन्य तीनै स्थानको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । मल्लले एउटा रिपोर्टकै आधारमा रातारात आफ्नो नाम काटिनु रहस्यमय भएको बताएकी छिन् । तर, एनओसीले निर्णय गरिसकेको हुँदा मल्लको केही सीप लागेन । 

एथलेटिक्स टिम म्यानेजरविहीन
नेपालको एथलेटिक्स टोलीमा खेलाडी र प्रशिक्षक चयनका क्रममा उत्पन्न विवाद एकातिर छँदै छ । अर्कोतिर टोकियो ओलम्पिकमा नेपालको एथलेटिक्स टोली म्यानेजरविहीन बनेको छ । एनओसीले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र एनओसीकै सहमहासचिव पिताम्बर तिम्सिनालाई टिम म्यानेजर बनाइएको थियो । परिषद्का उपाध्यक्ष कोइरालाले टोकियो ओलम्पिक नजाने सुरुमै घोषणा गरेका थिए भने तिम्सिनाले पनि यसै मंगलबार ओलम्पिकमा नजाने जनाए ।

अब दुवै टिम म्यानेजर नहुँदा नेपालको व्यवस्थापन जिम्मेवारी प्रशिक्षक श्रेष्ठले नै सम्हाल्नेछन् । श्रेष्ठले प्रशिक्षक र टिम म्यानेजरको दोहोरो भूमिका निर्वाह गर्ने एनओसीले जनाएको छ । एथलेटिक्सको सय मिटर हिटमा प्रतिस्पर्धाको तयारी गरेकी चौधरीले आफ्नो लक्ष्य नै व्यक्तिगत रेकर्ड सुधार गर्नु बताएकी छिन् । चौधरीको मुख्य लक्ष्य राष्ट्रिय कीर्तिमान राख्नु हो । ‘व्यक्तिगत टाइमिङ सुधार गर्नुका साथै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य हो,’ टोकियो जानुअघि चौधरीले भनेकी थिइन् । 

एथलेटिक्स सय मिटरमा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान छ । उनले सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा १२.२० सेकेन्डको रेकर्ड राखेकी थिइन् । देवी मायाको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैन । पछिल्लो समय सय मिटरको प्रिन्टमा चौधरीको प्रदर्शन अब्बल छ । यद्यपि, अन्तर्राष्ट्रिय खेलकुदमा उनको प्रदर्शन त्यति सन्तोषजनक छैन । १३औँ सागमा चौधरी सय मिटर दौडमा पाँचौँ स्थानमा परिन् ।