मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण १४ बिहीबार २०:१९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भासिएको सडक अस्थायी रूपमा सञ्चालन 

Read Time : > 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार २०:१९:००

नुवाकोटको सदरमुकाम विदुरस्थित मैथली ब्यारेक खोल्सामा भासिएको सडक अस्थायी रूपमा बिहीबार साँझबाट सञ्चालनमा आएको छ । बुधबार रातिको भीषण वर्षाले सडक भासिएको थियो । 

भासिएको सडकलाई भत्काएर ह्युमपाइम हालेर अस्थायी रूपमा सञ्चालन गराइएको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । 

रातिदेखि भासिएर पैदल हिँड्नसमेत सकस भएको सडक बिहीबार बिहान कार्यालय समयमा केही घन्टा खुलाइएको थियो । अस्थायी सञ्चालनका लागि खोल्सामा नयाँ ह्युमपाइप राखेको उनले बताए । 

सडक निर्माणका लागि बिहीबार दिनभरि नै यातायात अवरुद्ध भएको थियो । नजिकमा वैकल्पिक सडक नभएको कारण नुवाकोट र रसुवाको यातायातसमेत सडक भासिएकै कारण रोकिएका थिए । 

विगत्मा पनि वर्षातको कारण बीचसडकमा नै भ्वाङ परेकोमा माथिबाटै टालेर सडक सञ्चालन गर्दै आएको थियो । दुई दशकअघि नै ह्युमपाइम राखेर दुईपट्टि पर्खाल लगाई माटो भरेर सञ्चालन गरेको सडक अधिक वर्षातको कारण नालीमा आएको भलपानी सडक हुँदै खोल्सामा खस्ने क्रममा सडक भासिएको स्थानीयले बताएका छन् । 

गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक योजनाअन्तर्गत पर्ने सडकको यस खोल्सामा आर्कब्रिज निर्माण गरिने पुलको निर्माणका लागि यसै आर्थिक वर्षमा ठेक्का लगाउने योजना रहेकाले अहिले खोल्सामा भासिएको सडकका लागि धेरै लगानी गर्न जरुरी नदेखिएकाले अस्थायी रूपमा सञ्चालन गराएको योजना प्रमुख भण्डारीको भनाइ छ । 

यस्तै, नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो सडक टोखा–छहरे सडकको शिवपुरी गाउँपालिकाको गुरुङ गाउँमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको छ । बुधबार रातिको भीषण वर्षाको कारण सडकमाथिबाट आएको पहिरोले सडक छेकेको छ ।

स्थानीयका अनुसार करिब ५० मिटर पहिरो सडकमा खसेको छ । उक्त सडक खुलाउन कार्य भइरहेको छ । 
विदुर नगरपालिका– ११ गेर्खुमा बुधबार राति परेको अविरल वर्षासँगै आएको बाढीका कारण स्थानीयवासीको १२ घर जोखिममा परेका छन् । बाढीले ४० रोपनी धानखेत बगाएको स्थानीय ठाकुर धमलाले जानकारी दिए ।