Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रामप्रसाद गुरुङ
२०७८ श्रावण १४ बिहीबार ०८:११:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘ड्रेस सिलाएपछि मात्रै ओलम्पिकमा खेल्दै छु भन्ने था’भो’

Read Time : > 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार ०८:११:००

ओलम्पियनको अनुभव

सन् १९६४ को गृष्मकालीन ओलिम्पिक पनि जापानमा नै आयोजना भएको थियो । नेपालबाट ६ जना खेलाडीले सहभागिता जनाएको यस ओलम्पिकमा चारजना बक्सिङ खेलतर्फका थिए । चारजनामध्ये एक थिए भरतपुर–२२ बरौजीका रामप्रसाद गुरुङ । 

सन् १९५९ मा १४ वर्षको उमेरमा उनी ब्रिटिस आर्मीमा भर्ती भएका थिए । आर्मीमा सेवा गरेर जीवन कटाउने सपना देखेका उनले जागिरे जीवनमै ओलम्पिकमा सहभागी हुने महत्वपूर्ण अवसर पनि प्राप्त गरे । सेवा सुरु गरेको चार वर्षपछि उनी ६ महिने छुट्टीका लागि नेपाल आएका थिए । नेपाल आएको महिना दिन पनि नबित्दै पल्टनबाट छिट्टै फर्कनू भन्ने खबर आयो । सुरुमा त उनी छुट्टी नसकी नजाने भन्ने सोचमा थिए ।

घरमा खेतीकिसानी पनि गर्ने भएकाले काममा व्यस्त थिए । तर, तत्काल काठमाडौं कार्यालयमा हाजिर हुन भनेपछि उनी गए । काठमाडौं गएकै दिन उनी हङकङस्थित पल्टनमा हाजिर पनि भए । यतिवेलासम्म पनि उनलाई किन बोलाइयो भन्ने केही थाहा थिएन । पछि ओलम्पिकमा लगाउने पोसाक सिलाउन लागेपछि मात्रै थाहा पाएको उनी बताउँछन् । ‘हङकङमा ड्रेस सिलाउँदा बल्ल ओलम्पिकमा सहभागी हुँदै रहेछु भन्ने थाहा पाएँ,’ उनले भने । ओलम्पिकमा सहभागी हुनुअघि जापानको ओकिनाओ पुगेर एक साता अमेरिकन फोर्ससँग बसेको र बक्सिङ तालिम लिएको उनको भनाइ छ । 

आफ्नो खेलको अवस्थाबारे अफिसरहरूले नै नेपाल सरकारलाई जानकारी दिएपछि छनोट हुन सफल भएको उनी बताउँछन् । ‘ओलिम्पकमा पहिलो म्याचमा हारे ।’ हंगेरियनसँग पहिलो म्याच खेलेको सम्झँदै उनले भने, ‘तालिम र उपकरण चलाउन नजान्दा सिकारुजस्तो भएर खेल्नुपरेको छ, जुन बाध्यता अहिलेको खेलाडीमा पनि पाएको छु ।’ बक्सिङबाहेक उनी फुटबल, जुडो पनि खेल्थे ।

जुडो खेल्दा घुँडामा चोट पुगेको कारण अहिले पनि समस्या भोगिरहेको उनी बताउँछन् । कुनै पनि खेलको सफलताका लागि निरन्तरता दिनुपर्ने उनको अनुभव छ । जागिरे जीवनमा आफ्नो प्राथमिकता आर्मी सेवा भएकाले खेललाई प्राथमिकता दिन नसकेको उनी बताउँछन् । अन्य देशका नागरिकसँग भएका बक्सिङ खेलहरूमा जितेको सम्झँदै उनले भने, ‘खेलमा हार–जित हुन्छ, आत्तिनु हुन्न ।’ 

रामप्रसाद जनवरी १९९० मा निवृत्त भए । त्यसपछि पनि उनी बु्रनाई सरकारको सञ्चार सहयोगीका रूपमा काम गरे । नेपालको पहिलो ओलम्पियनका रूपमा परिचित रामप्रसाद गुरुङ भन्छन्, ‘संसारभरका खेलाडी जम्मा हुने ठाउँमा नेपालको झन्डा फहराउन पाउँदा खुसी लाग्यो ।’