मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ श्रावण १२ मंगलबार १६:०७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा १२ प्रतिशतले मात्र पाए कोरोनाको दोस्रो डोज खोप

Read Time : > 2 मिनेट
२०७८ श्रावण १२ मंगलबार १६:०७:००

रसुवामा हालसम्म १२ प्रतिशतले मात्र कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन पाएका छन् । गत वर्ष माघदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । खोप अभियान सुरु भएको सात महिनामा दोस्रो खोप १२ दशमलव १६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

जिल्लामा कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप  हालसम्म एक हजार ३० जनाले मात्र लगाएका छन् भने भेरोसेलको दोस्रो मात्राको खोप हालसम्म तीन हजार पाँच सय ४२ जनाले लगाएका छन् । त्यसैगरी, जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप  तीन हजार दुई सय ८० जनाले लगाएका छन् । त्यसैगरी भेरोसेल पहिलो मात्राको खोप सात हजार ६ सय आठजनाले लगाएका छन् । जुन कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउने ३७ दशमलव ४० प्रतिशत हुन् । 

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ४४ हजार नाै सय ७७ जनसंख्या छ । कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्ष पूरा भएका २९ हजार एक सय ६ जना रहेका छन् । जसमध्ये हालसम्म पहिलो र दोस्रो गरी १४ हजार चार सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो खोप १० हजार आठ सय ८८ जनाले लगाएका छन् भने दोस्रो खोप तीन हजार पाँच सय ४२ जनाले लगाएका छन् । खोप लगाउन योग्यता पुगेकामध्ये १८ हजार दुई सय १८ जनालाई खोप लगाउन अझै बाँकी रहेको छ । 

खोप लगाउन बाँकी रहेकाहरूलाई मंगलबारदेखि खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताए । मंगलबार जिल्लाका पाँचवटै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाबाट एक मात्र मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु भएकोसमेत उनको भनाइ छ । जोन्सन एन्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकहरूलाई लगाइने भएको छ ।

त्यसैगरी, यसभन्दा अगाडिका खोप अभियानमा खोप लगाउन छुट स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई लगाइनेछ भने नेपालमा बसोवास गर्ने सबै किसिमका शरणार्थीहरू र अपांगता क र ख वर्गका सबै व्यक्तिहरूलाई लगाइने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

त्यसैगरी बुधबारदेखि भेरोसेल खोप लगाउन सुरु गरिने चालिसेले बताए । भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिका उमेर समूहका कोभिड– १९ विरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई लगाइने भएको छ । विद्यालयका प्राध्यापक,  शिक्षक र कर्मचारी, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै व्यक्तिहरू र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई दिइने भएको छ । त्यसैगरी तिब्बतसँग जोडिएको जिल्लाको आमाछोदिङमाे र गोसाइँकुण्ड गाउँपालिकाका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने बताइएको छ । 

जिल्लामा अहिले पहिलो मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप दुई हजार आएको छ । जसमध्ये जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकालाई पाँच–पाँच सय गरी १५ सय र गोसाइँकुण्ड गाउँपालिकालाई दुई सय ५०–दुई सय ५० गरी ५ सय खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकल पर्सन पदमराज कैनीले जानकारी दिए । 

त्यसैगरी जिल्लामा अहिले ६ हजार चार सय भेरोसेल खोप आएको छ । यसअघिको १५ सयसमेत गरी सात हजार नाै सय खोप जिल्लाको पाँचवटै गाउँपालिकामा पठाइएको छ । तिब्बतसँग जोडिएको जिल्लाको गोसाइँकुण्ड र आमाछोदिङदाे गाउँपालिकाका १८ वर्षमाथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन दुई–दुई हजार गरी चार हजार खोप पठाइएको छ भने कालिका, नौकुण्ड र उत्तरगया गाउँपालिकालाई एक हजार दुई सय– एक हजार दुई सय गरी ३६ सय खोप पठाइएको कैनीले बताए । 

वृद्धवृद्धा कुर्दै छन् दोस्रो डोज
त्यसैगरी, २७ फागुन २०७७ मा कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकहरूले अझै खोप पाउन सकेका छैनन् । रसुवाका ६५ वर्षमाथिका करिब २१ सय ज्येष्ठ नागरिक कोभिसिल्डको दोस्रो खोपको पर्खाइमा छन् । आठ हप्तादेखि १२ हप्तासम्ममा खोप लगाइसक्नुपर्ने भनिएको थियो । तर, कोभिसिल्ड खोप लगाएको १८ हप्ता पूरा भइसकेको छ ।

हालसम्म उनीहरूले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् । उनीहरूलाई एक्स्ट्राजेनेकाको खोप लगाइने भनिए पनि हालसम्म जिल्लामा खोप नआएको स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकल पर्सन कैनीले बताए ।