मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमल खत्री म्याग्दी
२०७८ श्रावण १२ मंगलबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिवंगत छोराको स्मृतिमा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ श्रावण १२ मंगलबार १३:५९:००

म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा नवनिर्मित भवनमा वार्ड सञ्चालनका लागि एक परिवारले तीन लाख ७१ हजार लगानीमा स्वास्थ्य उपचारका सामग्री सहयोग गरेकाे छ । बेनी नगरपालिका– ६  अर्थुंगेका यामबहादुर केसी र हरिकला केसीको परिवारले  दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ बेड सेट, ६ थान फुट स्टेप, ६ थान डिलक्स बेड साइड लकर सहयोग गरेकाे हाे ।

मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा दिवंगत केसीका हजुरबुबा टेकबहादुर, आमा हरिकला, फुपू जुनेली थापा र मामा बेलबहादुर कटुवालले अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । केसी परिवारले उपलब्ध गराएको सामग्रीलाई अस्पतालले हालै निर्माण गरेको भवनको वार्ड सञ्चालनमा उपयोगमा ल्याउने गरी व्यवस्थापन गरिसकिएको अस्पतालका प्रमुख डाक्टर कँडेलले जानकारी दिए  । 

गरिब, विपन्न र असहाय नागरिकको उपचार गरी सेवा गर्ने अठोट लिएर डाक्टर बनेको छोराको अल्पआयुमै निधन भएकाले बेनी अस्पतालमा आउने गरिब विपन्न परिवारका नागरिकको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले छोराको स्मृति दिनमा अस्पताललाई सहयोग गरिएको केसी परिवारको भनाइ छ । 

उक्त अवसरमा केसी घरपरिवारले बेनी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूलसमेत वितरण गरे  ।

अस्पतालका प्रमुख डाक्टर कँडेलले नयाँ वार्ड सञ्चालनका लागि आवश्यक सामग्रीको बन्दोबस्त मिलाइदिएकोमा केसीका परिवारलाई धन्यवाद दिँदै प्राप्त सामग्रीको सही उपयोग र संरक्षण गरिने बताए । गण्डकी प्रदेश सरकारमार्फत उपलब्ध भएको रु. ३५ लाख बजेटबाट बेनी अस्पतालमा १२ बेडदेखि १५ बेड क्षमतासम्म वार्ड सञ्चालन गर्न सकिने भवन निर्माण भएको छ ।