मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मारियना माज्जुकातो/जोर्जिया गाउल्ड
२०७८ श्रावण १२ मंगलबार १०:२१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ युगका सारथि : स्थानीय सरकार

Read Time : > 4 मिनेट
मारियना माज्जुकातो/जोर्जिया गाउल्ड
२०७८ श्रावण १२ मंगलबार १०:२१:००

‘नगरमा हरेकका लागि न्यूनतम कुरा उपलब्ध गराउने क्षमता हुन्छ, यदि त्यो नगर सबैले मिलेर बनाएका छन् भने,’ अमेरिकी नगरविद् जेन ज्याकोब भन्ने गर्थे । कोभिड–१९ पछिको नीतिनिर्माणमा हामीले उनको यो अन्तरबोधलाई प्रयोग गर्नु जरुरी छ । यदि नगर तथा बस्तीले महामारीबाट तंग्रिन सकेको अनुभूति अझै गर्न सकेका छैनन् भने त्यो तिनको असफलता हो, तिनले यो संकटको मूलमा स्थित आधारभूत असमानता र अन्यायहरूसँग निपट्न सक्नेछैनन् ।

साँचो आर्थिक तथा सामाजिक पुनरोदय हासिल गर्न केन्द्रीय सरकारहरूले आफ्ना नागरिक, समुदाय र स्थानीय सरकारहरूलाई अधिकभन्दा अधिक शक्तिशाली बनाउन थप प्रयास गर्न जरुरी छ । लन्डन सहरको मध्यभागमा स्थित नगर कामडेनलाई नै हेरौँ । एक वर्षभन्दा अधिक समय क्षति र पीडामा गुजारिसकेपछि यहाँका जनता र स्थानीय सरकार अहिले पहिलेकै स्थिति (ब्लड नर्मल)मा फर्किन अस्वीकार गर्दै छन् । उनीहरूको विचारमा त्यो पूर्वअवस्था नै अहिलेको असफताको मूल हो । त्यसैले उनीहरू अहिले एउटा नयाँ, समावेशी र दिगो अर्थतन्त्र निर्माणको एउटा फराकिलो र बढ्दो आमसहमतिको हिस्सा भएका छन्, त्यो नयाँ समावेशी र दिगो अर्थतन्त्रको प्रारूप तयार गर्नमा उनीहरूको मुख्य भूमिका छ ।

कोभिड–१९ को महामारीले दीर्घ असमानताहरूको तीव्र वृद्धि र उजागरण मात्रै गरेको छैन, स्थानीयस्तरका आशाजनक पहलकदमीहरूमा पनि वृद्धि गरेको छ । मध्यलन्डनको कामडेन नगर बेलायतका अन्य नगरका साथै विश्वभरकै स्थानीय स्तरहरूका लागि समेत प्रेरणाको स्रोत बनेर उदाएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेको सन् २०२० को मार्च महिनामा फर्काैं । कामडेनको नगर परिषद्ले उसवेलै यहाँका निवासी कोही पनि भोकै नपर्ने, कोही पनि बसिरहेको घरबाट ननिकालिने औपचारिक रूपमै प्रतिबद्धता गरेको थियो । साथै, हेरचाह वा घरेलु काम गर्ने कुनै पनि कामदारले बिरामी परेकै कारण आफ्नो आजीविका नगुमाउने र हरेकलाई सम्मान र करुणाका साथ व्यवहार गरिने प्रतिबद्धता पनि गरेथ्यो ।

कामडेन परिषद्ले कसैलाई भोको रहन नदिन, संकटग्रस्त व्यवसायहरूलाई सहयोग गर्न, जोखिममा रहेका बालबालिका तथा बेसहारा वृद्धवृद्धाहरूको संरक्षण गर्न, घरमै स्कुले केटाकेटीको शिक्षण सिकाइलाई निरन्तरताको सुनिश्चितता गर्न आफूलाई पुनर्संयोजित गर्दै कर्मचारी एवं हजारौँ स्वयंसेवकहरूको टोली तैनाथ गर्‍यो । यो नगरले तत्कालै कोभिड–१९ का परीक्षणस्थल र खोप केन्द्रहरूको (स्कुलबसहरूलाई खोप केन्द्रहरूमा रूपान्तरण गर्नेलगायत) स्थापना ग¥यो । उसको यो पहलकदमीले केन्द्रीय सरकारका केही गल्तीलाई सच्याउन र सेवा तथा स्रोतहरू आवश्यक ठाउँमा खटाउन पनि सहयोग गर्‍यो ।

कोभिड–१९ को महामारीले दीर्घ असमानताहरूको तीव्र वृद्धि र उजागर मात्रै गरेको छैन, स्थानीय स्तरका आशाजनक पहलकदमीहरूमा पनि वृद्धि गरेको छ । मध्यलन्डनको कामडेन नगर बेलायतका अन्य नगरका साथै विश्वभरकै स्थानीय स्तरका लागि समेत प्रेरणाको स्रोत बनेर उदाएको छ ।

कामडेन कुनै अद्वितीय नगर होइन । विश्वभरका नागरिक तथा स्थानीय सरकारहरूले जारी महामारीको संकटको व्यवस्थापनमा असाधारण तरिकाले मिलेर काम गरिरहेका छन् । महामारीको उत्कर्षसँगै जब केन्द्रीकृत प्रणालीहरू धर्मराउँदै जान थाले, स्थानीय मोडेल तथा अनुभवहरूले केन्द्रीकृत प्रणालीअन्तर्गतको टप–डाउन (माथिबाट तल) प्रणालीले नसमेटेका वा ओझेलमा छोडेकाहरूसम्म सहयोग विस्तारका बाटाहरू पहिल्याउँदै गए । स्थानीय सरकार र समुदायसँग आवश्यक स्रोतसाधनहरू हुने हो, उनीहरूलाई ऐन, कानुनले नै सशक्त बनाइदिने हो भने तिनले राष्ट्रियस्तरले सोच्नसमेत नसकेको स्तरमा प्रभावकारी समाधानहरू दिन सक्ने रहेछन् । 

हामीले जलवायु परिवर्तन, सामाजिक–आर्थिक असमानता र अन्यायजस्ता समस्याहरूको सामना गर्दा पनि यो पाठको स्मरण गर्नु जरुरी छ । हजारौँ हतप्रभ तथा निराश नागरिकहरू जब पोषण तथा वित्तीय सहयोगका लागि स्थानीय सरकारहरूलाई गुहार्न थाले, अमेरिका र बेलायतमा सामाजिक सुरक्षाको जालो पर्याप्त नरहेको तितो यथार्थ उदांगियो । कोभिड–१९ को प्रत्येक लहर सीमान्तकृत समुदायमाथि सबैभन्दा निर्मम भएर बर्सिंदा त्यसले विद्यमान प्रणालीगत जातीय असमानतालाई उजागर गरेको छ, यसले तत्कालै हाम्रो ध्यानाकर्षण माग गरेको छ ।

यद्यपि, स्थानीय सरकारहरूले यी चुनौतीहरूको सामना गर्ने नै हो भने उनीहरूलाई थप धेरै लगानी चाहिन्छ । बेलायतमा नगर÷गाउँ परिषद्हरू एक दशकको न्यून लगानीका कारण अहिले ठूलो कमीको सामना गरिरहेका छन् । यहीबीच, केन्द्रीय सरकार जारी संकटका बीच आफूले गरेका प्रतिबद्धताहरूबाट समेत पछि हटिरहेको जस्तो देखिँदै छ । महामारी र सरकारको न्यून लगानीका कारण बेलायतका नगर परिषद्हरूको सन् २०२१–२०२२ को बजेट आवश्यकभन्दा तीन अर्ब ३० करोड डलर कम छ । 

यी मुद्दाहरूको सम्बोधनका लागि महŒवाकांक्षा आवश्यक पर्छ । यसका लागि कामडेन काउन्सिलले मिसनमा आधारित विधि अंगीकार गरेको छ । यसमा सार्वजनिक, निजी तथा नागरिक संगठनहरूले साझा लक्ष्यका लागि स्रोतहरूको साझेदारी गर्दै सहयोगपूर्ण शैलीमा कार्य गर्नेछन् । यो युग स्थानीय सरकारको युग बन्न सक्छ । यो युगमा काउन्सिलहरू आफूलाई समस्या परेको वा आपत् आइलागेको बखत मात्रै जागरुक हुने र अरूवेला ओझेल परेर बस्ने लिपापोती शैलीको हुनेछैनन्, स्थानीयस्तरमै मूल्यको सिर्जना गरेर बजारलाई आकार दिने (मार्केट सेपर) मुख्य भूमिकामा हुनेछन् । स्थानीय सरकारहरूले यो काम विभिन्न तरिकाले गर्न सक्छन् । जस्तो कि, प्रतिफल पुनः समुदायमै लगानी गर्ने गरी स्थानीय करबाट सम्पत्ति कोषहरू खडा गर्न सक्नेछन् । साथै, निजी लगानीमा सर्तहरू लगाएर पनि जनचासो एवं जनहितको सुनिश्चितता गर्न सक्नेछन् ।

कामडेनमा नगर परिषद् र युनिभर्सिटी कलेज लन्डनको इन्स्टिच्युट फर इनोभेसन एन्ड पब्लिक पर्पाेजबीच साझेदारीमार्फत यो कार्य भइरहेको छ । हामीले रिनुअल कमिसन (नवीकरणीय आयोग) सुरु गरेका छौँ । रिनुअल कमिसन समुदायका हरेक सदस्यमा सार्वजनिक, निजी, प्राज्ञिक तथा नागरिकका संगठनहरूको लगानीका लागि सहयोग गर्न प्रतिबद्ध कार्यदल हो ।

रिनुअल कमिसन नागरिकको आवाजको सुनुवाइबाट नीतिको सुरुआत हुन्छ भन्ने विश्वास गर्छ । पछिल्लो ६ महिनायता हामी हाम्रा साझेदार तथा समुदायका सुझाबप्रति ध्यान दिइरहेका छौँ र जातीय असमानता, खाद्य गरिबी तथा जलवायु परिवर्तनका जेलिएका चुनौतीहरूसँग जुझ्ने मिसन बुनिरहेका छौँ । समुदायले हाँक्ने यी मिसन मानिसहरू घुलमिल हुने, काम गर्ने, अन्तरक्रिया गर्ने स्थानहरू जस्तै विद्यालय, हाउजिङ, सार्वजनिक स्थल, राजमार्ग, व्यवसाय, युवा केन्द्रहरूमा जीवन्त रूपले पुग्नेछन् ।

हरेक तह र तप्काका सामाजिक उद्यमी तथा अनुसन्धानकर्मीहरूसँग मिलेर काम गर्दै स्थानीय सरकारहरूले नयाँ युगको नागरिक नेतृत्व जन्माउन सक्नेछन् । यसको सुरुआत भइसकेको छ । कामडेनको केन्टिस सहरमा स्थानीयस्तरमा सञ्चालित एउटा नयाँ नागरिक उद्यमले शरणार्थीहरूका लागि सहयोग, स्टार्ट–अपका लागि स्थान र खाद्य सहकारीको सेवा प्रदान गरिरहेको छ । 

हामी काउन्सिलको सहजीकरण तथा सक्षम बनाउने भूमिकामार्फत आफ्ना छिमेकलाई बेहत्तर बनाउने नागरिकको शक्तिलाई उजागर गरिरहेका छौँ । उदाहरणका लागि, अश्वेत बालबालिकाले आफू शक्तिशाली भएको कल्पना गर्नसमेत कठिन भएको भनेको सुनेपछि कामडेनका विद्यालयहरूले अहिले आफ्नो पाठ्यक्रमलाई विविधीकरण गर्ने काम गरिरहेको छ ।

नागरिक सभा तथा सम्मेलनहरूले पनि परिवर्तनका लागि नयाँ गठबन्धन निर्माणमा सहयोग गर्न सक्छन् । बेलायतको पहिलो नागरिक सम्मेलन सन् २०१९ मा आयोजना गरिएपछि कामडेनले आफ्नो साइकल लेनको सञ्जाललाई दोब्बर बढाएको छ । ठूला स्तरका न्यून–ऊर्जा परियोजना तथा कार्बन उत्सर्जन कम गर्ने हाउजिङ परियोजनाको काम सम्पन्न गरेको छ । समुदायको बजेट खर्चिने र दीर्घकालीन लगानी कसरी गर्ने निर्णय गर्न सघाउ पुग्ने गरी कामडेनले सर्वजनिक सम्पत्ति कसरी लिज वा भाडामा दिने भन्नेमा पनि काम गरिरहेको छ । 

हामी आफ्ना समुदायहरूसँग शक्ति, अधिकार साझेदारी गरिरहेका बेलायत वा विश्वका जुनसुकै स्थानीय नेतृत्वहरूबाट प्रेरणा लिन सक्छौँ । कामडेनको महामारी अनुभवले असमानताको तत्कालै सामना गर्न जरुरी रहेको देखाउँछ । साझा उद्देश्य र समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धताले धेरै कुरा हासिल गर्न सकिन्छ भन्ने पनि कामडेनले देखाएको छ । आखिर आर्थिक पुनरुत्थान नयाँ व्यवसाय, जिडिपी वा रोजगारीहरूमा मात्रै मापन हुँदैन, आफ्नोपन, अनौपचारिक शिक्षा, आर्थिक सुरक्षा, असमानता, सम्बन्ध र सम्पर्कजस्ता सूचकांकमा पनि नापिन्छ ।

कामडेनजस्ता स्थानीय उदाहरण थुप्रै देशका राष्ट्रिय उदाहरण बन्न सक्छन् । तर, यसका लागि राष्ट्रिय सरकारहरूले सबभन्दा पहिले स्थानीय सरकारहरूलाई बढीभन्दा बढी अधिकार र स्रोतहरू सुम्पिनुपर्छ । स्थानीय समुदायहरूसँग आफूलाई रूपान्तरण गर्ने ऊर्जा र सिर्जनशीलता भरपूर हुन्छ, उनीहरूलाई त्यो अवसर दिनुचाहिँ पर्छ ।
 

माज्जुकातो युनिभर्सिटी कलेज लन्डनमा इकोनोमिक्स अफ इनोभेसन एन्ड पब्लिक भ्यालुकी प्राध्यापक र गाउल्ड लन्डनस्थित कामडेन नगर परिषद्की नेता तथा लन्डन परिषद्की अध्यक्ष हुन् ।
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य