१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हेमन्त केसी जाजरकाेट
२०७८ श्रावण १२ मंगलबार १२:०३:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

Read Time : > 3 मिनेट
हेमन्त केसी, जाजरकाेट
२०७८ श्रावण १२ मंगलबार १२:०३:००

जाजरकोटमा अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने, तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ । जिल्लाको सातैवटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले नगर्दा ठूला योजना अलपत्र परेका छन् ।

ठेक्का सम्झौता भएको ६ महिनाभित्र निर्माण पूरा गर्ने भनिए पनि दुई वर्ष पूरा हुँदासम्म काम नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा हैरान भएको बताउँदै आएको छ । काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ । सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ । जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पुर्‍याउने लक्ष्य निर्माण व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ ।

पश्चिम जाजरकोटको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युत् पुर्‍याउने उद्देश्यले आव ०७५/७६ मा खोलिएको ठेक्काको काम निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ ।  मनघाटबाट सुवानाउलीसम्म पोल र तार तान्ने कामको ठेक्का उनले लिएका थिए । ठेक्का पाएको ६ महिनाभित्र काम पूरा गर्ने भनिए पनि दुई वर्षसम्म आधा काम पनि भएको छैन । विद्युत् प्राधिकरणले धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए । 

बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिम जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ । सामग्री लिएको तीन महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताए । लामिछानेले भने, ‘काम गर्छु भन्नुहुन्छ तर गर्नुहुन्न, छेडागाड नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ, तर त्यसभन्दा माथि काम नगरेर बीचमै अलपत्र परेको अवस्था छ ।’ 

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले (शाहीबाबा कन्स्ट्रक्सन) लिएको ठेक्काको काम पूरा नगर्दा पूर्वी जाजरकोटका बारेकोट र कुसे गाउँपालिकामा बिजुली बाल्न नसकिएको हो । उनले  कुसेको पाँचकाटियाबाट कुसेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीबाट बारेकोट जाने लाइन निर्माणको ठेक्का लिएका थिए ।  आव ०७५/७६ मा लिएको उक्त ठेक्का सम्झौतामा ६ महिनाभित्र काम पूरा गर्ने भनिएको थियो । काम गर्ने भन्दै आठ सयभन्दा बढी पोलसमेत बुझिसकेका शाहले काम बीचमै छाड्दा सबै लथालिंग भएको प्राधिकरणले जानकारी दिएको छ ।

शाहले लिएका पोल नलगाड नगरपालिकाको रघुनाथलगायतका ठाउँमा सडकको माटोमुनि, खोल्सामुनि र पहिराले पुरिएको अवस्थामा रहेका छन् । पटक–पटक कामका लागि ताकेता गर्दा पनि अटेर गरेर बसेको प्रदेश सभा सदस्य गणेसप्रसाद सिंहले बताए  ।

पूर्वी क्षेत्रको अनुगमनमा जाँदा लथालिंग अवस्थामा रहेका पोल देखाउँदै सदस्य सिंहले भने, ‘लाजलाई पनि लाज लागिसक्यो, तर हाम्रा जनप्रतिनिधिले लिएको ठेक्कासमेत पूरा गर्नुहुन्न । काम नगर्नेले किन भए–नभएको ठेक्का लिनु ? यसरी कहाँ विकास निर्माणका काम गर्न सकिन्छ । यो त सरासर हामीलाई असफल गराउने काम भयो ।’ शाहले लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुसे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प भएको छ । यो काम समयमा भएको भए अहिलेसम्म विद्युत् गाउँगाउँमा पुगी झिलिमिली भइसक्ने जाजरकोट वितरण केन्द्रले बताएको छ । सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ । 

त्यस्तै, प्रदेशले गरेको ठेक्काको कामसमेत प्रभावकारी नभएको पाइएको छ । त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम कतै नभएको प्राधिकरणले जनाएको छ । मटेलाबाट भेर्‍याए जोड्ने लाइन काफलचौरसम्म लिएर अगाडिको काम लथालिंग बनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डको कालेगाउँ–रिम्नासम्म जोड्ने लाइन विस्तारको काम अलपत्र भएको छ । कालेगाउँबाट बहुनथाना पाँचकाटिया जोड्ने कामसमेत बीचमै छाडिएको छ । यो पनि आव ०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ । निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ ।

तोकिएको समयभित्र काम

नलगाड नगरपालिकाको चिसापानीबाट प्रशासकीय केन्द्र दल्लीसम्मको काम पूरा भएको छ । त्यहाँ मिटर जोड्नेबित्तिकै विद्युत् बल्ने अवस्था रहेको विद्युत् प्राधिकरणले जनाएको छ । आव ०७५/७६ मै ठेक्का लिएको रमन कन्स्ट्रक्सनले दल्लीबाट चौखासम्मको कामसमेत अहिलेसम्म पूरा गर्न सकेको छैन । पोल गाडे पनि तार तान्ने काम नभएकाले तुरुन्तै काम गर्न ताकेता गरिएको छ ।

सामग्री नहुँदा रोकिएको काम सामग्री दिएलगत्तै सुरु गर्न लागेको कार्यालयले जनाएको छ । चौखाबाट तल्लुसम्म पोल दिएर गाड्ने काम सुुरु भएको छ । अगाडिको काम नभई पछाडिको काम अगाडि बढ्न नसक्ने भएकाले दुवै कामसँगै भइरहेको छ । आव ०७६/७७ को नयाँ ठेक्का न्यु बिके निर्माण सेवाले लिएको हो ।

कहाँ पुग्यो सबस्टेसन निर्माणको काम 

जिल्लामा निर्माण गर्ने भनिएको चारवटा सबस्टेसनको काम चलिरहेको छ । नलगाड नगरपालिकाको चौखामा ठेक्का लागेर काम सुरु गर्न लागिएको छ । दुई वर्षभित्र सक्ने भन्दै सो ठेक्का गरिएको हो । त्यस्तै, बडावन र समाइलामा निर्माण हुन लागेको सबस्टेसनको काम अहिले अध्ययन कार्य जारी छ ।

अध्ययन सकिएलगत्तै चार महिनाभित्र ठेक्का खोल्ने तयारी छ । क्षेत्रीय कार्यालयले चौखामा ठेक्का गरेको र केन्द्रीय कार्यालयले बडावन र समाइलामा ठेक्का गर्नेछ । गुदुमा सबस्टेसन निर्माण पूरा भई जाजरकोट र रुकुम पश्चिमका केही भागमा बत्ती बलिरहेको छ ।

जिल्लामा अहिले तत्काल ११ केभी प्रसारण लाइनको विद्युत् प्रवाह भइरहेको छ । भेरी नगरपालिका, छेडागाड नगरपालिकाका अधिकांश ठाउँमा केन्द्रीय लाइन (११ केभी) विस्तार भइसकेको छ । अन्य पालिकामा विद्युत् लाइन विस्तारका लागि गरिएका ठेक्काको काम निर्माण व्यवसायीले नगर्दा काम समयमै हुन नसकेका हुन् ।