मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हमिद दबासी
२०७८ श्रावण १२ मंगलबार ११:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘श्वेत’ वर्ण होइन, वैचारिकी हो 

Read Time : > 2 मिनेट
हमिद दबासी
२०७८ श्रावण १२ मंगलबार ११:४९:००

कुनै व्यक्तिलाई उसको छालाको रंगका आधारमा मूल्यांकन गर्नु चरम नश्लवाद हो, जुन असत्य र कुतर्कमा आधारित हुन्छ 


अमेरिकामा नश्ल र नश्लवादबारे बढ्दै गइरहेका सार्वजनिक छलफलबाट दसौँ लाख दिग्भ्रमित अमेरिकीले आफूलाई सामाजिक रूपमा निर्माण गरिएको एक ‘गोरो व्यक्ति’का रूपमा देख्न थाले भने उनीहरूले आफूलाई मुलुकको नश्लभेदी इतिहासका लागि दोषी ठहर्‍याउनेछन् । यो झुटो अपराधबोध हो । कुनै व्यक्तिलाई उसको छालाको रंगका आधारमा मूल्यांकन गर्नु चरम नश्लवाद हो, जुन असत्य र कुतर्कमा आधारित हुन्छ । ‘गोरो’ भन्ने शब्दलाई नश्लीय सर्वोच्चतासँग नभई छालाको रंगसँग जोडिन्छ भने त्यसबाट चरम दक्षिणपन्थी श्वेत सर्वोच्चतावादीलाई मात्रै फाइदा पुग्छ ।

अहिले अमेरिकामा ‘क्रिटिकल रेस थ्योरी’ (नश्ललाई आलोचनात्मक रूपमा हेरिने विषय) विरुद्ध अभियान चलाइरहेका श्वेत सर्वोच्चतावादीहरू नश्ललाई छालाको रंगसँग जोडिरहेका छन् । उनीहरूको उद्देश्य भनेकै त्रास फैलाउनु हो अर्थात् मानिसलाई ‘गोरो’ छाला भएका हौ भन्ने पारिएन भने मुलुकका ‘अश्वेत’ भनिएका नश्लभेदबाट उत्पीडित मानिसको न्यायका लागि गरिने संघर्षको निसाना बनिन्छ भन्ने हो । तर, नश्लभेदका सन्दर्भमा ‘गोरो’ को अर्थ छालाको रंग होइन । यो महत्वपूर्ण सन्दर्भमा ‘गोरो’ एक सिद्धान्त हो । तसर्थ, तपाईंलाई अन्य ‘काला’, ‘गहँुगोरो’, ‘रातो’, ‘पहेंलो’ लगायतका भन्दा विशेषाधिकार मसँग छ भन्ने लाग्छ भने मात्रै तपाईं ‘गोरो’ हो ।

जसरी लिंगभेद भनेको सामाजिक दुरवस्थालाई लैंगिकताले छोप्नु हो, त्यसरी नै नश्लवाद भनेको पनि विद्यमान सामाजिक शक्ति–सम्बन्ध र उत्पीडनमा रंगको लेप लगाउनु हो 

विख्यात उपन्यासकार टोनी मोरिसनले एक अन्तर्वार्तामा ‘नश्ल भन्ने केही पनि हँुदैन’ भनेकी थिइन् । उनले भनेकी थिइन्– वैज्ञानिक र मानवशास्त्रीय दृष्टिकोणबाट एक मात्र नश्ल छ, त्यो हो मानव नश्ल । नश्लवाद एक समाज निर्मित अवधारणा हो, किनभने यसबाट धन कमाउन सकिन्छ वा मानिस जो आफूलाई मन पराउँदैनन्, तिनले आफूलाई उच्च दर्जाको महसुस गर्न पाउँछन्, अर्थात् यसका सामाजिक प्रकार्य छन् । जे भनिए पनि नश्ल भनेको मानव मात्रै हो । हरेक मानिस जन्मिँदै रंगहरूको दास बन्दैन, तर मानिसलाई विभाजन गर्न सकियोस् र शासन गर्न सकियोस् भनेर रंग थोपरिँदै जान्छ । नतिजा पूर्वी एसियाली ‘पहेंलो’, पश्चिम एसियाली र लेटिनहरू ‘गहुँगोरो’, आदिवासी अमेरिकी ‘रातो’ र अफ्रिकीहरू ‘काला’लाई तथाकथित केन्द्रमा रहेका ककेसियन ‘गोरा’विरुद्ध उभ्याइन्छ । यस्तो नश्ल निर्माण ‘वैज्ञानिक’ रूपमा युरोपेलीले ‘ज्ञानको युग’मा गरेका थिए ।

जसरी लिंगभेद भनेको सामाजिक दुरवस्थालाई लैंगिकताले छोप्नु हो, त्यसरी नै नश्लवाद भनेको पनि विद्यमान सामाजिक शक्तिसम्बन्ध र उत्पीडनमा रंगको लेप लाउनु हो । वास्तवमा नश्लवाद आर्थिक लुट र शोषणका लागि भएको उपनिवेशी अतिक्रमणका क्रममा बन्न पुगेको सांस्कृतिक र वैचारिक स्पष्टीकरण मात्रै हो । यदि तपाईं आफूलाई ‘गोरो’ भएका कारण अरूभन्दा श्रेष्ठ ठान्नुहुन्छ वा अब्बल सभ्यताको हुँ भन्ने ठान्नुहुन्छ भने तपाईं नश्लभेदी हो । यही हकादारीको सोचले बेलायतले भारतमा, फ्रान्सले अल्जेरियामा, बेल्जियमले कंगोमाथि शासन जमाएको हो । जर्मनीले (१९०४ देखि १९०८) नामिबियामा दसौँ हजार अफ्रिकीको कत्लेआम गर्नु नश्लीय सर्वोच्चताकै परिणाम हो ।

जर्मनहरूले जब त्यो नरसंहार दुई दशकपछि आफ्नो घरमा भित्र्याएर लाखौँ यहुदीको हत्या गरे त्यतिवेला पनि नरसंहार नश्लीय सर्वोच्चताकै नतिजा थियो । वास्तवमा नश्लवाद सुरु हुनुअघि नश्लको अवधारणा नै थिएन । ‘द हिस्ट्री अफ ह्वाइट पिपल’का लेखक नेल इर्भिन पेन्टरका अनुसार ‘गोरो नश्ल’को निर्माण विभिन्न चरणमा भएको हो र यसको सबैभन्दा विकिसित रूप युरोपेली ‘ज्ञानको युग’मा भएको हो, जुन विद्यमान नश्लहरूको निर्माणको समय पनि हो । तथाकथित ‘तर्कको युगमा’ जोहान फ्रेडरिक ब्लुमेनबेकजस्ता विद्वान्ले खप्परको नाप लिएर मानिसको विभाजन गर्न थाले । पेन्टर आफ्नो किताबमा लेख्छन्– ब्लुमेनबेकअनुसार मस्कोमा यौनदासी रहेकी जर्जियाली महिलाको खप्पर सबैभन्दा सुन्दर थियो, किनभने उनको नाम ककेस क्षेत्रमा राखिने आदिवासी नाम थियो ।    

अहिलेको समयमा ‘गोरो’ हुनु उल्लिखित इतिहासको बेवास्ता हो । उनीहरू नश्लवादका मात्रै सिकार होइनन्, उनीहरू नश्लीय चिन्तन प्रणालीकै सिकार हुन् । जैविक रूपमा ‘गोरो’ हुनु घृणा र द्वैधताको चिह्न होइन । तर, ‘गोरो’ चिन्तन भनेको तपाईं अरूभन्दा उच्च दर्जाको मानिस हो भन्ने धारणा पक्कै हो । नश्लवाद नामको रोगको उपचार नश्ल सम्बन्धित सामाजिक निर्माणको विनिर्माण गर्नु हो ।

अमेरिकाले आफ्नो नश्लीय घृणाको लामो खुनी इतिहासलाई ग्रहण गर्न र बुझ्नका लागि अझै धेरै समय लाग्ने देखिन्छ । यस सन्दर्भमा शक्तिशालीहरू विशेषतः रिपब्लिकन पार्टी नश्लवादको खुनी इतिहास जोगाउन उद्यत छ । यो खुनी इतिहासलाई परास्त गर्न सबैभन्दा पहिला ‘गोरो’ हुनु सत्तामा रहेकाहरूले बनाएको एक कृत्रिम नश्लीय चेतना हो भन्ने बुझ्नुपर्छ । यो कृत्रिम चेतनाको नाफा धनी र शक्तिशालीले नै लिने हो । गरिब र शक्तिहीनहरू मात्रै काला, पहेंला वा राता नश्लमा विभाजित हुने हुन् । नश्ल आफैँमा शक्ति–सम्बन्ध होइन, नश्ल केवल शक्ति–सम्बन्धमा रंगको लेप मात्रै हो । 

(दबासी कोलम्बिया विश्वविद्यालयमा इरानी अध्ययन र तुलनात्मक साहित्यका प्राध्यापक हुन्) अलजजिराबाट