मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पर्साको परवानीपुर खण्डमा बिछ्याइएको पाइपलाइन मर्मत गरिँदै । तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:०५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाइपलाइन सफाइ गर्दा अड्कियो रबर : डिजेल आपूर्तिमा अवरोध नहुने गरी मर्मत हुँदै

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार ११:०५:००

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको भित्री भागमा तेल थिग्रिएर बसेको लेदो सफाइ गर्ने क्रममा रबरका टुक्रा अड्किएका छन् । इन्डियन आयल कर्पोरेसन (आइओसी)को मोतीहारी डिपोबाट पाइपको भित्री भागको गोलाइबराबरको रबर पम्पिङ गरी पठाएर सफाइ गर्नेक्रममा नेपालतर्फ पर्साको परवानीपुर खण्डको पाइपलाइनमा आएर रबर अड्किएको हो ।

आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवका अनुसार नेपालतर्फ वीरगन्जबाट २४ किलोमिटर वर परवानीपुर खण्डमा ओछ्याइएको पाइपमा रबरका दुइटा टुक्रा अड्किएका छन् । ‘पाइपमा सधैँ डिजेल बसिरहेको हुन्छ । जसकारण पाइपको भित्री भागमा हलुका लेदोजस्तो बस्न पुग्छ । यसलाई सफा गर्न पाइपको भित्री भागको गोलाइबराबरको रबर मोतीहारीबाट पम्पिङ गरी अमलेखगन्जसम्म पठाइएको थियो,’ यादवले भने, ‘हावाको चापका कारण पाइपको बीचतिर आएपछि रबर टुक्रियो र त्यसमध्ये दुई टुक्रा परवानीपुर खण्डमा ओछ्याइएको पाइपमा अड्किएका छन् । अरू रबर भने अमलेखगन्जमा निस्किसकेको छ ।’

उनका अनुसार प्रत्येक १२–१२ मिटरको पाइप जोडेर मोतीहारीदेखि अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पाइपलाइन बिछ्याइएको छ । परवानीपुर खण्डमा दुईवटा पाइपलाई ननरिटनिङ भल्ब (एनआरभी)ले जडान गरिएको छ । त्यही भल्बमा आएर सफाइका लागि प्रयोग गरिएका रबरका दुई टुक्रा अड्किएको यादवले बताए । ‘रबरका टुक्रा अड्किए पनि डिजेल आयातमा खासै केही समस्या छैन । निरन्तर ढुवानी भइरहेको छ,’ उनले भने ।

एनआरभी भल्बमा रबरका टुक्रा अड्किएकोबारे मोतीहारी र अमलेखगन्जको कम्प्युटर सिस्टमबाट पत्ता लागेको थियो । पाइपको सबै विवरण हेर्न मिल्ने गरी पाइपसँगै एउटा सेन्सर जडान भएको छ । त्यस्तै, अलग्गै सानो प्लास्टिकको पाइपमा अप्टिकल फाइबर पनि बिछ्याइएको छ । यसैका आधारमा कम्प्युटरबाट रबरका टुक्रा कहाँ अड्किएको भन्ने पत्ता लगाएको यादवले जानकारी दिए । 

अहिले रबरका टुक्रा निकाल्न मर्मत सुरु गरिएको यादवले जानकारी दिए । गत बिहीबारबाट सुरु भएको मर्मतको काम २० दिनमा सकिने गरी आइओसी र निगमका प्राविधिकहरू खटिएका छन् । ‘एनआरभी भल्बको दायाँ–बायाँ ६ मिटर पाइप काटेर रबर निकाल्ने गरी मर्मत कार्य अघि बढाइएको छ,’ यादवले भने । उनका अनुसार एनआरभी हाल बायाँ तीन मिटर पर प्वाल पारेर त्यसको माथिबाट अर्को पाइप हाल्ने काम भइरहेको छ । यो काम सकिएपछि एनआरभी भल्बको दायाँ तीन मिटर पर पनि अर्को प्वाल पारेर माथिबाट पाइप हालिनेछ । 

त्यसपछि मुख्य पाइपलाइनबाट तेल बग्न छाडेर प्वाल पारेर माथिबाट हालिएको ६ मिटर लामो पाइप हुँदै डिजेल बग्नेछ । ‘यसरी डाइभर्सन गरिएको पाइपबाट तेल जान थालेपछि एनआरभी भल्बको दायाँ–बायाँको गरी कुल ६ मिटर पाइप काटिनेछ । त्यसपछि भल्बसमेत खोलेर रबर निकाल्ने र पुनः जडान गरिनेछ,’ यादवले भने ।