मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ श्रावण १२ मंगलबार ०९:५२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आफ्ना अस्पतालले सरकारीभन्दा कम शुल्कमा  बढी सेवा दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी

Read Time : > 2 मिनेट
२०७८ श्रावण १२ मंगलबार ०९:५२:००

तर, वीरको तुलनामा महेन्द्रनारायण निधि अस्पतालमा सात गुणा बढीसम्म शुल्क

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सरकारीभन्दा सेवा राम्रो र शुल्क कम लाग्ने अस्पताल बनाइरहेको दाबी गरेका छन् । ५० करोड लगानीमा यही वर्षदेखि ‘हस्पिटल चेन’ बनाउने अभियानमा रहेका उनले सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो दाबी गरेका हुन् ।

‘सरकारले नै एउटा सेवामूलक अस्पताल गर्न खोजेको हो । तर, साधन–स्रोतले गर्दा नपुग्ने हुँदाखेरि कमसेकम सक्ने मान्छेले चाहिँ गर्नुपर्छ भन्ने सेवामूलक भावनाले मैले केही अस्पताल स्थापना गर्न खोजेको हुँ । जहाँ सरकारीभन्दा सेवा–सुविधा बढी होस् र पैसा कम होस् । ती अस्पताल विशुद्ध सेवामूलक भावनाले सञ्चालन गर्न खोजेको हुँ,’ उनले संसदीय समितिमा भने । 

तर, राज्यमन्त्री श्रेष्ठले अहिले सञ्चालन गरिरहेका अस्पतालको अवस्था भने उनले दाबी गरेजस्तो छैन । उनले अहिले काठमाडौंमै जनमैत्री अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल सञ्चालन गरिरहेका छन् । ती अस्पतालमा सरकारी अस्पतालहरू वीर र शिक्षण अस्पतालभन्दा महँगो सेवा शुल्क छ । यी अस्पताल पनि श्रेष्ठले अभियान थालेको ‘हस्पिटल चेन’भित्रकै हुन् ।

राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार संसदीय समितिमा भने 

सरकारले नै एउटा सेवामूलक अस्पताल गर्न खोजेको हो । तर, साधन–स्रोतले गर्दा नपुग्ने हुँदाखेरि कमसेकम सक्ने मान्छेले चाहिँ गर्नुपर्छ भन्ने सेवामूलक भावनाले मैले केही अस्पताल स्थापना गर्न खोजेको हुँ । जहाँ सरकारीभन्दा सेवा–सुविधा बढी होस् र पैसा कम होस् । ती अस्पताल विशुद्ध सेवामूलक भावनाले सञ्चालन गर्न खोजेको हुँ ।

वीर अस्पतालमा सामान्य बेड निःशुल्क उपलब्ध छ भने शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, राज्यमन्त्री श्रेष्ठ अध्यक्ष रहेको महेन्द्रनारायण निधि अस्पतालमा त्यही बेडको सात सय र जनमैत्री अस्पतालमा तीन सय तिर्नुपर्छ । बिरामीले क्याबिन लिएमा वीरमा एक हजार र शिक्षणमा एक हजार चार सय तिर्नुपर्छ । जब कि महेन्द्रनारायण अस्पतालमा क्याबिनको सात हजार पर्छ । जनमैत्रीमा भने क्याबिनको शुल्क तय नभएको अस्पताल प्रशासनले जनाएको छ । 

त्यस्तै, शिक्षण अस्पतालमा आइसियू शुल्क एक हजार एक सय र वीरमा तीन हजार पर्छ । तर, राज्यमन्त्री श्रेष्ठ अध्यक्ष रहेका महेन्द्रनारायण निधि अस्पतालमा आइसियूको पाँच हजार र जनमैत्रीमा चार हजार तिर्नुपर्छ । ब्लड कल्चर गर्दा वीरमा एक सय ५० र शिक्षणमा एक सय ७० लाग्छ । तर, महेन्द्रनारायण निधि अस्पतालमा तीन सय ५० र जनमैत्री अस्पतालमा दुई सय तिर्नुपर्छ । त्यस्तै, ग्लुकोज परीक्षणको वीरमा ४० र शिक्षणमा ५० रुपैयाँ लाग्छ भने महेन्द्रनारायण निधिमा ८५ र जनमैत्रीमा ५० रुपैयाँ तिर्नुपर्छ ।

एक्स–रेको वीरमा दुई सय र शिक्षणमा तीन सय लाग्छ । तर, जनमैत्रीमा पाँच सय र महेन्द्रनारायण निधिमा चार सय तिर्नुपर्छ । त्यस्तै, इसिजीको शुल्क वीरमा एक सय ५० र शिक्षणमा एक सय ७० तोकिएको छ । तर, महेन्द्रनारायण निधिमा तीन सय तिर्नुपर्छ । जनमैत्रीमा भने सूची बनाउँदै गरेकाले मूल्य नतोकिएको अस्पताल प्रशासनले जनाएको छ । 

जनमैत्री अस्पतालका प्रमुख डा. रोशन गुरुङले बिरामी भर्ना लिने समय अझै नभएकाले सबै उपचार र परीक्षणको शुल्क तय नभइसकेको बताए । ‘हामीले सरकारी अस्पतालसरह नै सेवा दिने भनेर तयारी गरिरहेका छौँ । त्यसका लागि परीक्षण गर्दा लाग्ने शुल्कका विषयमा गृहकार्य भइरहेको छ । सबैको मूल्य तय गरिसकेका छैनौँ ।’ 

संसदीय समितिमा राज्यमन्त्री श्रेष्ठले सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको बताए । आफ्नो पहिलो प्राथमिकता नागरिकलाई खोप लगाउनु र व्यवस्थित रूपमा खोप सञ्चालन गर्नु रहेको उनको भनाइ छ । कोभिडको तेस्रो लहरको तयारीस्वरूप स्वास्थ्य मन्त्रालयले गम्भीर भएर अक्सिजन र पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिने बताए । 

महेन्द्रनारायण निधि अस्पतालका प्रबन्ध निर्देशक हरि पाण्डेले पैसा तिर्न नसक्ने बिरामीहरूका लागि निःशुल्क सेवा पनि रहेको दाबी गरे । हप्ताको दुई दिन अस्पतालले निःशुल्क सेवा दिएको उनले बताए । ‘हाम्रो अस्पतालको सेवा सरकारीभन्दा महँगो छ, तर अरू निजी अस्पतालको तुलनामा सस्तो छ,’ उनले भने ।