मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण १२ मंगलबार ०९:३५:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ठाडोभाका जोगाउन तम्सेका तन्नेरी

Read Time : > 1 मिनेट
२०७८ श्रावण १२ मंगलबार ०९:३५:००

नेपाली मौलिकता बोकेको र लमजुङे संस्कृतिसँगै जोडिएको भाका हो, ठाडोभाका । यो भाकाको सन्दर्भसँगै जोडिन्थे, भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । उनी बाँचिन्जेल भाकालाई जोगाउन हरप्रयत्न गरे । उनको मृत्युसँगै यो मौलिक भाकालाई कसरी जोगाउने होला भन्ने चिन्ता र चासो थियो । तर, ठाडोभाका संरक्षणमा यहाँका तन्नेरीहरू लागि परेका छन् । माया, पिरती, दुःख–सुख, गाउँले जन–जीवनका भाव समेटेर सात दशकसम्म ठाडोभाकालाई प्रवद्र्धन र संरक्षणमा भेडीखर्के साइँलाले चलाएको अभियानमा युवापुस्ताले निरन्तरता दिन थालेका छन् । 

उनीहरूले ठाडोभाका लोककला प्रतिष्ठान र भेडीखर्के साइँला स्मृति प्रतिष्ठानसमेत स्थापना गरेका छन् । २९ भदौ १९९० मा बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६ दुराडाँडा लमजुङमा जन्मिएका साइँलाको २६ भदौ ०७४ सालमा ८४ वर्षको उमेरमा निधन भएको हो । आजीवन ठाडोभाका संरक्षणमा लागेकै कारण नागरिक स्तरबाट ‘ठाडोभाका शिरोमणि’ को उपाधिबाट उनी सम्मानित भएका थिए । भेडीखर्केसँग लामो समय संगत गरेका सुन्दरबजार नगरपालिका–५, तार्कु खहरेका विष्णुभक्त अधिकारी ‘ठाडोभाका’ संरक्षण अभियानमा छन् । उनी भन्छन्, ‘ठाडोभाका जोगाउन सके मात्रै भेडीखर्केको आत्माले शान्ति पाउँछ । उनीप्रतिको सच्चा सम्मान हुनेछ ।’

गुरुङ र दुरा समुदायको संस्कृति ठाडोभाका
६५ वर्षीय विष्णुभक्तका अनुसार गुरुङ, दुरा समुदायले ठाडोभाकालाई संस्कृतिका रूपमा मान्छन् । भेँडीखर्के साइँलाले ठाडोभाका संस्कृति उत्थानको प्रयासलाई निरन्तरता दिए । ‘उनको गायन शैलीको जति प्रशंसा गरे पनि कमै हुन्छ,’ विष्णुभक्तले भने । ठाडोभाका गाउन मादल, मुजुरा र भाका छोप्ने महिलाको समूह चाहिन्छ । युवापुस्तामा गाउनेको संख्या निकै कम छ । भेडीखर्के साइँलासँगै ठाडोभाका सिकेका लोकदोहोरी गायक राजु परियार ठाडोभाका मर्न नदिने बताउँछन् । यो भाका संरक्षण अभियानमा थुप्रै स्थानीय जुटिरहेका छन् । ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक बुद्धिमान दुराका अनुसार ठाडोभाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा समेत गुन्जने गर्छ । 

भेडीखर्के साइँलाको सालिक निर्माण
ठाडोभाका ‘शिरोमणि’ स्व. भेडीखर्के साइँलाको सम्झनामा सालिक निर्माण गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६ मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उनको सालिक निर्माण गरिएको हो । भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङका अध्यक्ष शम्शेरबहादुर लौडारीले दीर्घराजले ठाडोभाका संरक्षणमा जीवनभर गरेको योगदानस्वरूप सालिक ठड्याइएको बताए । दुरा र गुरुङ सुमदाय ठाडोभाकाविना अधुरो रहेको उनी मान्छन् । यसकारण पनि यो मौलिक लोपोन्मुख भाका संरक्षणमा नयाँ पुस्ता जुट्नुको विकल्प छैन । 

यसैगरी ठाडोभाकाका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय पनि निर्माण गरिएको छ । दुराकै गाउँ बर्धनमा संग्रहालय बनाइएको हो । ८ फागुन १९४७ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चेसुब्बा गुरुङलाई ठाडोभाकाका सर्जकका रूपमा हेरिन्छन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री राखिएको छ । 

केही समयअघि देउबहादुरको सम्मान लागि बर्धनमै पुगेर दोहोरी गीत छायांकन गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पुले बताए । देउबहादुरले एक सय वर्षअघि ठाडोभाकामा आधारित गीतको सिर्जना गरेको स्थानीय वृद्धवृद्धा बताउँछन् । बर्धन गाउँ र तुर्लुङकोटको लेकमा गोठालो, खेतालो जाने क्रममा देउबहादुरले ठाडोभाका सिर्जना गरेको उनीहरू बताउँछन् । पछि बर्धन गाउँकै करापुटार महादेव मन्दिरमा शिवरात्रिमा लाग्ने मेलामा ठाडोभाका गीत गाउन थालेपछि यसको प्रचार हुन थालेको हो ।