राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अप्रत्याशित रूपमा राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सेप्टेम्बर २०२२ सम्मको सम्झौता गरेका उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन् ।
२०२२ को विश्वकप तथा एसिया कप छनोटका लागि एन्फाले गत चैतमा अब्दुल्लाहलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो । उनकै प्रशिक्षणमा नेपालले विश्वकपका तीन र एसिया कप छनोटका चार खेल खेलिसकेको छ । त्यस्तै, इराकविरुद्ध मैत्रीपूर्ण खेल पनि खेलेको थियो । त्यसअघि निमित्त मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीलाई हेरिरहेका थिए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण सम्झौता नसकिँदै राजीनामा दिन बाध्य भएको प्रमुख प्रशिक्षक अब्दुल्लाहले फेसबुकमा लेखेका छन् । ‘मेरा प्रिय नेपाली समर्थकहरू... म राजीनामा दिन गइरहेको छु,’ उनले लेखेका छन्, ‘पछिल्लो तीन सातादेखि वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रत्येक दिन गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु ।’ अन्तिममा उनले उपाध्यक्ष नेम्वाङलाई मेन्सन गर्दै लेखेका छन्, ‘मलाई विश्वास छ, अब तपाईं खुसी हुनुभयो होला ।’ यद्यपि, उनले नेम्वाङले के–कस्तो समस्या उत्पन्न गराएको भन्ने स्पष्ट पारेका छैनन् ।
राजीनामा घोषणा गरेपछि अध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारीले सातदोबाटोस्थित कार्यालयमा अब्दुल्लाहसँग छलफल गरेका छन् । करिब एक घन्टाको छलफलमा अब्दुल्लाह खासै केही बोलेनन् । स्रोतका अनुसार उनले ‘मैले आफ्ना कुराहरू फेसबुकमार्फत राखिसकेको छु’ मात्रै भनेका थिए । छलफलपछि उनी होटेलतर्फ लागेका थिए ।
एन्फा अध्यक्ष शेर्पाले अब्दुल्लाहलाई तत्काल आराम गर्न र आफू पोखराबाट फर्केपछि थप छलफल गरेर समाधान निकाल्ने आश्वासन दिएका छन । ‘प्रशिक्षकसँग सामान्य कुराकानी भएको छ, उहाँलाई मैले तत्काल रेस्ट गर्न भनेको छु । म पोखराबाट फर्केपछि मात्र थप कुराकानी गरेर समाधान निकाल्ने भनेको छु,’ कार्यक्रमको सिलसिलामा आइतबार नै पोखरामा गएका शेर्पाले भने, ‘साथीहरूसँग थप कुराहरू बुझ्न भनेको छु ।’
एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अब्दुल्लाहको राजीनामा आधिकारिक नभएको बताए । ‘अब्दुल्लाहले सामाजिक सञ्जालमा राजीनामा दिनुभएको छ, एन्फामा उहाँले लिखित रूपमा केही जानकारी गराउनुभएको छैन । हामीले यसलाई आधिकारिक मानेका छैनौँ,’ उनले भने, ‘तत्कालका लागि हामीले उहाँलाई आराम गर्न भनेका छौँ ।’
अब्दुल्लाह र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको समस्याबारे भने आफूहरुलाई लाई थाहा नभएको राईले बताए । ‘दुई व्यक्तिबीच कस्तो समस्या हो, हामीलाई पनि थाहा छैन । यसबारे उहाँहरू दुवैजनाले नै बताउनुहुनेछ । यस्तो परिस्थिति किन आयो भन्ने सन्दर्भमा एन्फाले छानबिन गरेर समाधान निकाल्छ,’ उनले भने ।
दोषी ठहरिए सजाय भोग्न तयार छु : नेम्वाङ
एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले भने आफूविरुद्ध षड्यन्त्र भएको दाबी गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाहको राजीनामाबाट आफू स्तब्ध र अचम्मित भएको उनले बताए । ‘प्रशिक्षकले ममाथि गम्भीर आरोप लगाउनुभएको छ, उहाँको राजीनामाको खबरले स्तब्ध भएको छु,’ उनले भने ।
अब्दुल्लाहलाई दबाब दिने काम आफूले नगरेको नेम्वाङको दाबी छ । ‘हामीबीच म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको थियो, यसबीचमा मैले उहाँलाई कहिले पनि दबाब दिइनँ,’ उनले भने, ‘यो घटनाले ममाथि गम्भीर षड्यन्त्र भइरहेको आभास भएको छ ।’ विवाद सुल्झाउन एन्फाले छानबिन गर्नुपर्ने नेम्वाङको माग छ । ‘छानबिनबाट म दोषी देखिए त्यसको सजाय भोग्न तयार छु,’ उनले भने ।
केही समयअघि मुख्य प्रशिक्षक अब्दुल्लाहले फुटबलमा सुधारका लागि एन्फाका पदाधिकारी पनि परिवर्तन हुनुपर्ने बताएका थिए । त्यसमा उपाध्यक्ष नेम्वाङले आपत्ति जनाएका थिए । त्यसबारे एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पनि जानकारी गराएको नेम्वाङले बताए । ‘प्रशिक्षकले मिडियासँग अन्तर्वार्ता दिन एन्फासँग अनुमति लिनुपर्छ, अनुमतिविना नै उहाँले मिडियामा बोलिराख्नुभएको छ । त्यसमाथि पदाधिकारीका सम्बन्धमा पनि प्रतिक्रिया दिइरहनुभएको छ भनेर मैले महासचिवलाई जानकारी गराएँ । उहाँले भविष्यमा यस्तो नहुने बताउनुभएको थियो,’ उनले भने ।
पदाधिकारीभित्रै द्वन्द्व
तीन वर्षअघि ‘चेन्ज एन्फा’ नारा अघि सारेको शेर्पाको पूरै प्यानलले जितेको थियो । तर, नाराअनुसार काम भने हुन सकेको छैन । शेर्पाले पूर्वअध्यक्षकै शैलीमा एकल निर्णय गर्ने गरेको आरोप पदाधिकारीको छ । नेतृत्वको शैलीप्रति चित्त नबुझेको भन्दै उपाध्यक्ष कृष्ण थापाले गत साता प्राविधिक कमिटीको संयोजक पदबाट राजीनामा दिएका थिए ।
उनले आफू प्राविधिक कमिटीको संयोजक भए पनि जानकारी नै नदिई निर्णय हुने गरेको बताए । ‘एन्फाका काम विधि र विधानविपरीत भएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ उनले दिएको राजीनामापत्रमा उल्लेख छ ।
अर्को वर्षको वैशाखमा एन्फाको निर्वाचन हुँदै छ । निर्वाचनअघि नै एन्फाभित्र अन्तरिक द्वन्द्व सुरु भएको छ । ‘चेन्ज एन्फा’ आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ र अध्यक्ष शेर्पाबीच सम्बन्ध राम्रो छैन । कार्यसमितिले विधानविपरीत निर्णय गरेको भन्दै नेम्वाङले धेरैपटक असहमति जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका संघमध्ये आर्थिक रूपमा सम्पन्न एन्फामा विभिन्न दलनिकटका व्यक्ति हावी छन् । एन्फा प्रवक्ता राई र उपाध्यक्ष थापाबाहेक अधिकांश मुख्य पदमा रहेका पदाधिकारी कांग्रेसनिकट छन् । उपाध्यक्ष थापा एमाले र प्रवक्ता राई माओवादीनजिक मानिन्छन् ।