मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार १९:२७:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

सामाजिक सञ्जालबाटै प्रशिक्षक अल्मुताइरीको राजीनामा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार १९:२७:००

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार अप्रत्याशित रूपमा सामाजिक सञ्जाल (फेसबुक)बाट राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सेप्टेम्बर २०२२ सम्म सम्झौता भएको छ । 

गत चैतमा २०२२ को विश्वकप तथा एसियन छनोटका लागि भनी एन्फाले निमित्त मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थान अब्दुल्लाहलाई जिम्मेवारी सुम्पेको थियो । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेलेको थियो ।

नेपालले अब्दुलाहकै प्रशिक्षणमा विश्वकपमा तीन र एसिया कप छनोटका चार खेल खेलेको अवस्था छ । सम्झौता अवधि बाँकी रहँदै प्रमुख प्रशिक्षक अब्दुल्लाहले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन गइरहेको घोषणा फेसबुकबाट गराएका हुन् । ‘मेरा प्रिय नेपाली फ्यान.. म एन्फामा राजीनामा दिन गइरहेको छु,’ अब्दुल्लाहले लेखेका छन् । उनले आफ्नो राजीनामा आउनुपछाडि केवल नेम्वाङ मात्र भएको जनाएका छन् । 

तीन सातादेखि दबाबमा
तीन साताभित्र प्रत्येक दिन एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूमाथि दबाब र समस्या उत्पन्न गराइरहेको अब्दुल्लाहले बताएका छन् । यद्यपि, अब्दुल्लाहले वरिष्ठ उपाध्यक्ष नेम्वाङले के–कस्तो समस्या उत्पन्न गराएको भन्ने स्पष्ट पारेका छैनन् । ‘मेरो राजीनामा आउनुका पछाडि वरिष्ठ उपाध्यक्ष नै हुन्, तीन सातादेखि ममाथि दबाब आइरहेको छ,’ अब्दुल्लाह भन्छन्, ‘उनले प्रत्येक दिन ममाथि नाटक गरिराखेका छन् ।’ 

सामाजिक सञ्जालमा पोस्ट भएको स्टेटमेन्टमा अब्दुल्लाहले अन्तिम लाइनमा राजीनामापछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ खुसी भएको उल्लेख गरेका छन् । ‘मलाई विश्वास छ, अब पंकज नेम्वाङ खुसी छन्,’ उनले भने । सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणापछि आइतबारै सातदोबाटोस्थित एन्फाको मुख्य कार्यालयमा छलफल भयो । एन्फाका सबैजसो मुख्य पदाधिकारीले मुख्य प्रशिक्षक अब्दुल्लाहसँग वार्ता गरेका थिए । करिब एक घन्टाको छलफलपछि अब्दुल्लाह होटेलतर्फ लागे । 

दोषी ठहरिए राजीनामा दिन तयार
एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूमाथि गम्भीर षड्यन्त्र भएको, प्रशिक्षकको राजीनामाबाट उल्टै आफू स्तब्ध र अचम्मित भएको प्रतिक्रिया दिएका छन् । ‘प्रशिक्षकले गम्भीर आरोप लगाउनुभएको छ, उहाँको राजीनामाको खबरले म आफू नै स्तब्ध भएको छु,’ नेम्वाङले भने । प्रमुख प्रशिक्षकलाई दबाब दिने काम नगरेको र केवल म्यासेन्जरमा मात्र कुरा हुने गरेको नेम्वाङले बताए । ‘हामीबीच म्यासेन्जरमा मात्र सामान्य कुराकानी भएको थियो, योबीचमा मैले उहाँलाई कहिले पनि दबाब दिइनँ,’ उनले भने, ‘यहाँ उल्टै ममाथि गम्भीर षड्यन्त्र भइरहेको आभास गरेको छु ।’

विवाद सुल्झाउन छानबिन गर्नुपर्ने नेम्वाङले माग राखेका छन् । छानबिन कमिटीले प्रशिक्षक अब्दुल्लाहको राजीनामामा आफू दोषी ठहर गरे आफूले राजीनामा दिने नेम्वाङले बताए । ‘यदि म नै दोषी भए त्यसको सजाय भोग्न तयार छु,’ उनले भने । 

लिखित राजीनामा आएको छैन, सामाजिक सञ्जालमा मात्र 
एन्फाका प्रवक्ता किरण राईले अब्दुल्लाहको राजीनामा आधिकारिक नभएको बताएका छन् । ‘प्रमुख प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमा राजीनामा दिनुभएको छ, एन्फामा उहाँले लिखित रूपमा राजीनामा दिनुभएको छैन, हामीले यसलाई आधिकारिक मानेका छैनौँ,’ एन्फा प्रवक्ता राईले भने, ‘तत्कालका लागि हामीले उहाँलाई आराम गर्न भनेका छौँ ।’
मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको समस्याबारे आपूmहरूलाई थाहा नभएको उनले जनाए । 

‘दुई व्यक्तिबीच कस्तो समस्या हो, हामीलाई पनि थाहा छैन, यसबारे उहाँ दुवैले नै बताउनुहुनेछ, यस्तो परिस्थिति किन आयो भन्ने सन्दर्भमा एन्फाले छानबिन गर्नेछ, चाँडै नै एन्फाले यो समस्याको समाधान गर्नेछ,’ उनले भने । 

यसैबीच, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रमुख प्रशिक्षकलाई तत्काल आराम गर्न र आफू पोखराबाट फर्केर छलफल हुने बताए । ‘प्रशिक्षकसँग सामान्य कुराकानी भएको छ, उहाँलाई मैले तत्काल रेस्ट गर्न भनेको छु र म पोखराबाट फर्केपछि मात्र थप कुराकानी हुने बताएको छु,’ पोखरामा एक कार्यक्रममा सहभागी हुन गएका एन्फा अध्यक्ष शेर्पाले भने, ‘साथीभाइहरूलाई वर्तमान विवाद मिलाउन भनेको छु ।’ 

एन्फा भवनमै भेट हुँदा कुराकानी नहुने 
गत चैतमै फुटबलका मुख्य प्रशिक्षक बनेका अब्दुल्लाहले एन्फाका वरिष्ठ उपाध्यक्षलाई नचिनेको नेम्वाङले दाबी गरेका छन् । ‘धेरैपटक एन्फा भवनमा हामी दुईबीच जम्काभेट हुँदा उहाँले मलाई एन्फाका वरिष्ठ उपाध्यक्षका रूपमा चिन्नु नै नभएकोजस्तो लाग्छ,’ उनले भने, ‘भवनमा हाई–हेल्लो पनि हुँदैन, हामी दुईबीच कहिलेकाहीँ म्याजेन्जरमा मात्र रिप्लाई हुन्छ ।’ 


केही समयअघि मुख्य प्रशिक्षक अब्दुल्लाहले फुटबल परिवर्तनमा एन्फाका पदाधिकारी पनि ‘परिवर्तन’ हुनुपर्ने मिडियाहरूलाई बताएका थिए । प्रशिक्षकद्वारा एन्फा पदाधिकारीबारे मिडियामा बारम्बार टिप्पणी गर्नु मर्यादाविपरीत भएको नेम्वाङले जनाएका छन् । यसै सम्बन्धमा एक साताअघि महासचिव इन्द्रमान तुलाधरलाई उनले जानकारी गराएका थिए । 

तुलाधरले आउँदो दिनमा प्रशिक्षकबाट यस्तो काम नहुने नेम्वाङलाई आश्वास्त पारेका थिए ।  ‘प्रशिक्षकले मिडियासँग अन्तर्वार्ता दिन एन्फासँग अनुमति लिनुपर्छ, अनुमतिविना नै मिडियामा उहाँ बोलिराख्नुभएको छ, साथै एन्फाका पदाधिकारीका सम्बन्धमा पनि प्रतिक्रिया उहाँले दिनुभएको छ, यसबारेमा मैले महासचिवलाई जानकारी गराएँ, भविष्यमा यस्तो नहुने बताइयो,’ उनले भने । 

एन्फाभित्रै द्वन्द्व
‘परिवर्तन एन्फा’ नारा अघि सार्दै शेर्पाको पूरै प्यानलले नै तीन वर्षअघिको निर्वाचनमा क्लिन स्विप गरेको थियो । परिवर्तन नारा लगाएका पदाधिकारीहरूले घोषणा गरेअनुसार काम गरेका छैनन् । एन्फा नेतृत्व गरिरहेका शेर्पाले एकल तथा पूर्वअध्यक्षकै जस्तै निर्णय गर्ने गरेको आरोप पदाधिकारीले नै लगाएका छन् ।

नेतृत्वको कामशैली चित्त नबुझेकाले एन्फाकै उपाध्यक्ष कृष्ण थापाले गत साता प्राविधिक कमिटीको संयोजक पदबाट राजीनामा दिएका थिए । उनले आफू प्राविधिक कमिटीको संयोजक भए पनि विनाजानकारी निर्णय हुने गरेको बताएका छन् । ‘एन्फाले हरेक काम विधि र विधानविपरीत भएकाले नैतिकताका आधारमा राजीनामा दिएको छु,’ गत साता उनले बुझाएको पत्रमा उल्लेख छ । 

केही दिनयता प्रशिक्षक अब्दुल्लाहले आफूलाई काम गर्न असजिलो भइरहेको सामाजिक सञ्जालमार्फत घुमाउरो रूपमा सन्देश दिएका थिए । उनले ७ जुलाईमा झुक्नु मात्र विकल्प नभएको उल्लेख गरे । त्यसपछि उनले एक टिम जय नेपाल भनी द्वन्द्व गर्ने वा मर्नु भन्ने लेखे । उनले १६ जुलाईमा नेपाली फुटबल समर्थकलाई अहिलेसम्म राष्ट्रिय टोलीलाई दिँदै आइरहेको समर्थनप्रति धन्यवाद दिए । भविष्यमा नेपाली टोलीलाई उनले शुभकामनासमेत दिएका थिए । त्यसपछि आइतबार उनले सामाजिक सञ्जालबाटै राजीनामा दिए । 

अर्को वर्षको वैशाख महिनामा एन्फाको निर्वाचन हुँदै छ । निर्वाचनअघि नै एन्फाभित्र अन्तरिक द्वन्द्व सुरु भएको छ । ‘चेन्ज एन्फा’ आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका नेम्वाङ र अध्यक्ष शेर्पाबीचको सम्बन्ध राम्रो छैन । कार्यसमितिले विधानविपरीत निर्णय गरेको भनी नेम्वाङले धेरैपटक असहमति जनाएका छन् । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका संघमध्ये आर्थिक रूपमा सम्पन्न एन्फामा विभिन्न दलनिकट व्यक्ति हाबी छन् । एन्फा प्रवक्ता राई र उपाध्यक्ष थापाबाहेक अधिकांश मुख्य पदमा रहेका पदाधिकारी कांग्रेसनिकट छन् । प्रवक्ता राई माओवादी तथा उपाध्यक्ष थापा एमालेनजिक मानिन्छन् ।