१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैँ
२०७८ श्रावण १० आइतबार ११:५४:००
Read Time : > 6 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारले थोरै मात्र नीतिगत सुधार गरे विदेशी मदिरा प्रतिस्थापन हुन्छ : गुरुप्रसाद अधिकारी

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
२०७८ श्रावण १० आइतबार ११:५४:००

मदिरा उत्पादन गर्ने पायोनियर घराना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा चिफ लिगल अफिसरको रूपमा कार्यरत गुरुप्रसाद अधिकारी नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव हुन् । उनीसँग स्वदेशी मदिराको उत्पादन तथा बजार विस्तार, सरकारी नीति, लगानी विस्तारलगायत विषयमा नयाँ पत्रिकाकर्मी नवीन अर्यालले गरेको कुराकानी : 

गुरुप्रसाद अधिकारी, महासचिव नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ

पछिल्लो समय नेपालमा मदिरा उद्योगमा ठूलो लगानी भइरहेको देखिन्छ ? थुप्रै स्वदेशी ब्रान्डहरू पनि देखिन थालेका छन् । अहिले स्वदेशी मदिराको उत्पादन र बजार विस्तारको अवस्था कस्तो छ ?

सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपश्चात् अहिले मुलुकमा केही नयाँ मदिरा तथा बियर उद्योगहरू खुलेका छन् । नयाँ मदिराजन्य उद्योगहरूको स्थापनासँगै यस क्षेत्रमा लगानी र प्रतिस्पर्धात्मक वातावरण पनि बढेको छ । प्रतिस्पर्धाले नवीनतम प्रविधि पनि भित्रिरहेको छ । स्वदेशी लिकर्स उद्योगहरूले पनि उपभोक्ताले चाहना गरेअनुरूपको अन्तर्राष्ट्रिय गुणस्तर र स्वाद दिन थालेका छन् । 

तर, अझै पनि स्वदेशी मदिरा उद्योगको प्रवद्र्धनका लागि नीतिगत सुधारको आवश्यकता छ । यदि सरकारले केही कानुनी र नीतिगत सुधार गरेमा विदेशी मदिरा आयात गर्नुपर्ने परिस्थिति धेरै हदसम्म कम हुन्छ । स्वेदेशी मदिरा उद्योगलाई रिसर्च एन्ड डेभलपमेन्टमा काम गर्न अलिकति लचक नीति चाहिन्छ । अहिले मदिरामा प्रयोग गरिने कच्चा पदार्थहरू म्याचुअर स्प्रिट, स्प्रिटलगायत विदेशबाट आयात भइरहेको छ । नेपालमा सहज नीति नभएकै कारण ८० प्रतिशतभन्दा कम अल्कोहल भएका भाटेड माल्ट स्प्रिट, ब्लेन्डेड स्कच माल्ट, ब्लेन्डेड स्कच ह्विस्की, हाई–बकेट स्प्रिट, स्पेसल स्प्रिट, मेचुअर्ड स्प्रिटलगायत विभिन्न प्रकारका मदिराका कच्चा पदार्थहरू आयात हुने गरेको हो । 

नेपालमै उत्पादन गर्न सकिने यस्ता वस्तुको आयातले व्यापार घाटा बढाएको छ । विदेशबाट आयात गर्नुपर्ने वस्तुहरू स्वदेशमै उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने काममा सरकारको सहयोग र अभिभावकीय भूमिका रहनुपर्छ । देशभित्रै स्प्रिटलाई मेचुअर गर्न दिँदा विदेशी मुद्रासमेत स्वदेशमै रहन्छ । र, व्यापार घाटा पनि कम हुन्छ । 

इन्डियामा पनि पहिला युरोपबाटै स्प्रिट आउँथ्यो । तर, अहिले मेचुअर्ड स्प्रिटहरू इन्डियाले आफैँ उत्पादन गर्छ । इन्डियामा उत्पादन भइरहेका अन्तर्राष्ट्रिय ब्रान्डहरूले आवश्यक कच्चापदार्थ इन्डियामै बनाइरहेका छन् । इन्डियामा उत्पादन हुने चर्चित बकार्डी रमका लागि आवश्यक म्यचुअर्ड स्प्रिटको म्याचुरेसन इन्डियामै गर्न थालिएको छ । हामीले पनि आयातलाई निरुत्साहित गरेर स्वदेशमै उत्पादन गर्न दिनुपर्छ । 

हामी मदिरा प्याकेजिङमा पनि एकदमै स्ट्रिक भयौँ । विदेशबाट ९० एमएल वा त्यसभन्दा सानो साइजको बोतलमा पनि मदिरा उत्पादन गर्न पाइन्छ । र, त्यस्ता मदिरा नेपालमा पनि आयात हुन्छन् । तर, यहाँ सानो बोतलमा मदिरा ल्याउन झन्झटिलो प्रक्रिया छ । २५ युपीको मदिरा मात्र सानो बोतलमा ल्याउन पाइन्छ । सरकारले प्याकेजिङमा फ्लेक्जिबिलिटी दिनुपर्छ । उपभोक्ताको पकेटसँग मार्केटलाई म्याच गर्न सानो बोतल पनि मदिरा ल्याउन दिनुपर्छ । सरकारले ६० एमएल, ९० एमएल, १२० एमएलको बोतलमा पनि उत्पादन गर्न दिनुपर्छ ।

हाम्रोमा कार्टुन प्याकेजिङमा पनि कडाइ छ । ९ लिटर मदिराको एउटा प्याकेट हुनुपर्छ । अहिले स्वदेशी मदिरा पनि महँगो भइसक्यो । एउटै बोतलको ३/४ हजारसम्म पर्छ । बजारमा कार्टुन पठाउँदा एउटा बोतल मात्र फुटे पनि ठूलो नोक्सानी हुन्छ । सरकारले साढे ४ लिटरको अर्थात् एउटा कार्टुनमा ६ बोतलको प्याकेजिङ गर्न दिनुपर्छ । बियरमा पाँच लिटरको केगमा उत्पादन गर्न पाउने गरी प्रबन्ध गरिनुपर्छ । बर्सेनि मदिरामा लाग्ने अन्तःशुल्क, कच्चापदार्थको भन्सारदर वृद्धि र उद्योगको उत्पादन लागतसमेत बढ्न जाँदा मदिराको मूल्य बढ्दै गइरहेको छ । उपभोक्ताको क्रयशक्ति घटिरहेको छ । यस्तो अवस्थामा उपभोक्ताको क्रयशक्तिसँग तालमेल मिल्ने मदिराको सानो बोतल ल्याउनुपर्छ । 

बजेटमा स्वदेशी मदिराको अन्तःशुल्क बढाइयो । तर, विदेशी मदिरा आयातमा भन्सार दर बढेन । यो स्वदेशी उद्योगलाई अन्याय नै भयो । सरकारले विदेशी मदिरालाई बजार खुला गरिदिने होइन । मदिरा आयातलाई नियन्त्रण गर्नुपर्छ र स्वदेशी उद्योगलाई इन्सेन्टिभ दिएर प्रोत्साहित गर्नुपर्छ ।

कोभिड महामारीले सबैभन्दा बढी मदिरा व्यवसाय प्रभावित भयो । मदिरा ढुवानी गर्न र बिक्री गर्न पनि दिइएन । धेरै माल गोदाममै थन्काएर राख्नुप¥यो । बियर निश्चित लाइफ भएको पेय पदार्थ हो । तीन/चार महिना ब्लक हुँदा स्टकमा रहेको बियर ‘डेट एक्स्पायर’ हुने अवस्थामा पुग्यो । डेट एक्स्पायर भइसकेको सामान डिस्ट्रक्सन गर्न कानुन छ, तर सहजीकरण छैन । आजसम्म डिस्ट्रक्सन गर्न दिइएको छैन । यसले नोक्सानी व्यहोर्न पुगेका व्यवसायी थप प्रताडित हुनुपरेको छ ।

बजारमा बिक्री नभएको मदिरा फिर्ता ल्याएर डिस्ट्रक्सन गर्ने सिस्टम पनि छैन । त्यो मदिरा डिस्ट्रक्सन गर्न पाए त्यसमा तिरेको अन्तःशुल्कलाई एडजस्ट गरेर अर्को प्रडक्ट बनाई बिक्री गर्न पाए नोक्सानी कम हुन्थ्यो नि । लामो समय बिक्री नभएर थन्किएको मदिरा नष्ट गर्न अनुमति दिनुपर्छ । नेपालमा बिक्री नभएको मदिरा नष्ट गर्ने कानुन स्पष्ट छैन । म्याद गुज्रिएको सामानको हकमा कानुन छ, तर कार्यान्वयन भएन ।

प्रतिस्पर्धी बजारमा व्यापार बढाउन, उधारो उठाउन, मार्केटिङ गर्न केही न केही आकर्षण दिनुपर्ने हुन्छ । पहिला भ्याट बिल काट्दा डिस्काउन्ट दिन पाउने व्यवस्था थियो । अन्तःशुल्क तिरेपछि आफ्नो मार्जिनबाट अलिकति डिस्काउन्ट दिने सुविधा हटाइएको छ । त्यो सुविधा भ्याट ऐनले हटाएको छैन । अन्तःशुल्क ऐन परिवर्तन गरेपछि भ्याट ऐनअन्तर्गत जारी हुने बिलमा पनि डिस्काउन्ट दिन रोकिएको हो । सरकारले मार्जिनबाट डिस्काउन्ट दिन पाउने सुविधा उपलब्ध गराउनुपर्छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) उपभोक्ताले खरिद गरेको वास्तविक मूल्यमा लाग्ने हो । भ्याटको नियमावलीमा उल्लेखित बिजकको नमुनामा समेत डिस्काउन्टको प्रावधान राखिएको छ । यो डिस्काउन्ट दिने व्यवस्थाले मूल्यमा पारदर्शी हुन मद्दत गर्नुका साथै व्यवसायलाई भ्याटको दायरामा ल्याउन पनि सहयोग गरेको थियो । डिस्काउन्ट दिन पाउने व्यवस्था रोकिँदा बढीभन्दा बढी करदातालाई भ्याटको दायरामा ल्याउने सरकारको उद्देश्यमा समेत असर परेको छ । 

हरेक सरकारले मदिरामा कर बढाइरहेको छ ? त्यसप्रति तपाईंहरूको धारणा के हो ?

बजेटमा स्वदेशी मदिराको अन्तःशुल्क बढाइयो । तर, विदेशी मदिरा आयातमा भन्सार दर बढेन । यो स्वदेशी उद्योगलाई अन्याय नै भयो । सरकारले विदेशी मदिरालाई बजार खुला गरिदिने होइन । मदिरा आयातलाई नियन्त्रण गर्नुपर्छ र स्वदेशी उद्योगलाई इन्सेन्टिभ दिएर प्रोत्साहित गर्नुपर्छ । कर बढ्नेबित्तिकै मूल्य बढ्छ । मूल्य बढ्नेबित्तिकै उपभोक्ताको उपभोग गर्ने क्षमतामा ह्रास आउँछ । आयातीत मदिराको मूल्यभन्दा स्वदेशी उत्पादनको मूल्य उच्च भयो भने बजारमा टिक्न सकिँदैन । 

हामीले एउटा घरेलु मदिरासँग प्रतिस्पर्धा गर्ने खालको ७० युपीको मदिरा पनि बजारमा ल्याएका छौँ । कमर्सियल हिसाबले खुला बजारमा उपभोक्ताको च्वाइसका लागि हामीले ५०, ४०, ३०, २५ र १५ युपीको मदिरा पनि ल्याएका छौँ । हाम्रो उद्देश्य, ७० युपीको मदिराले अवैध रूपमा घरघरमा बन्ने मदिरालाई निरुत्साहित गर्न सकोस् भन्ने हो । सरकारले ७० युपीको मदिरालाई गर्ने व्यवहार र अरू मदिरालाई गर्ने व्यवहारमा फरक हुनुपर्छ । ७० युपीको मदिरामा राजस्व कम लिनुको कारण अवैध घरेलु मदिराको ठाउँमा वैध रूपमा उद्योगबाट उत्पादित अन्तःशुल्क स्टिकर टाँसेर उत्पादन भएका मदिरा उपभोगमा प्रोत्साहन मिलोस् भनेर हो । तर, अन्य शक्तिका मदिरामा त्यस्तो छुट आवश्यक छैन । मदिरामा अल्कोहलको मात्राका आधारमा कर लगाइनुपर्छ । त्यसो भएमा बढी अल्कोहल भएकाले बढी कर तिर्छ, कम अल्कोहलको मात्रा भएकाले कम तिर्छन् । 

स्वदेशी ब्रान्डले पनि विदेशी ब्रान्डलाई टक्कर दिन थालेका छन् । कतिपय ब्रान्डले विदेशी ब्रान्डलाई प्रतिस्थापन नै गरिदिएका छन् । स्वदेशी मदिराले बजारमा कब्जा जमाउन थालेको हो ?

मुलुक मदिरामा छिट्टै आत्मनिर्भर बन्न सक्छ । सरकारले अलिकति नीतिगत सुधार गरी स्वदेशी उद्योगलाई संरक्षण गर्ने र विदेशी मदिरा आयातलाई निरुत्साहित गरिदिएमा एक बोतल मदिरा पनि आयात गर्न जरुरी छैन । कसैले सोखका लागि प्रयोग गर्छ भने त्यो बेग्लै कुरा भयो । अन्यथा, गुणस्तरका हिसाबले विदेशी मदिरा आयात जरुरी नै छैन् । बरु, स्वदेशी मदिरा उद्योग निर्यात गर्ने हैसियतमा पुग्छन् । त्यसका लागि विदेशी मदिरालाई ‘ट्यारिफ बेरियर’ लगाउनै पर्ने हुन्छ । हामी गुणस्तरमा प्रतिस्पर्धी भए पनि अन्य हिसाबले ग्लोबल मार्केटसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा पुग्न अझ मिहिनेत गर्नैपर्ने देखिन्छ । त्यसका लागि उद्यमीको एकल प्रयासले मात्र सम्भव छैन । प्रडक्टको क्वालिटीले मात्र ग्लोबलमा प्रतिस्पर्धी बन्न सकिँदैन, त्यसमा सरकारी प्रोत्साहन, लगानी र बजारीकरणको कुरो पनि आउँछ । त्यसका लागि सरकारको उचित संरक्षण चाहिन्छ नै ।

नेपाली मदिरा निर्यातको सम्भावना कस्तो छ ?

मदिरा निर्यातको सम्भवाना धेरै छ । तर, निर्यातका लागि सरकारले पहिला इन्सेन्टिभ दिनुपर्छ । सुरुमै यत्तिकै निर्यात गर्न सकिँदैन । हामीले मदिराको मुख्य कच्चा पदार्थ स्प्रिट ‘इएनए’ उत्पादन गर्न सक्छौँ । तर, अहिले आयात भइरहेको छ । नेपालमा भएका मदिरा उद्योग राम्रोसँग चलेमा वार्षिक करिब साढे ५ करोड लिटरजति स्प्रिट उत्पादन गर्न सक्छन् । नेपालको आवश्यकता भनेको वार्षिक सवा ३ करोड लिटर मात्र हो । तर, दुर्भाग्य उद्योग आधाभन्दा बढी क्षमतामा चलेकै छैनन् । कारण, स्प्रिट (इएनए) बाहिरबाट आयात भइरहेको छ । नेपालमा विदेशबाट स्प्रिट आयात गर्दा भन्सार प्रतिलिटर ५० रुपैयाँ मात्र लिइन्छ । नेपालबाट त्यही स्प्रिट इन्डिया निर्यात गर्दा इन्डियाले भन्सार र स्टेट इम्पोर्ट शुल्क गरी करिब १५४ प्रतिशत आयात कर लिन्छ । त्यही वस्तु श्रीलंकाले आयात गर्दा प्रतिलिटर ५४० नेपाली रुपैयाँ (त्यहाँको ८००) लिन्छ । भुटानले प्रतिलिटर १६० रुपैयाँ भन्सार लिन्छ । तर, हामीले ५० रुपैयाँ भन्सार लिएर खुरुखुरु आयात गर्न दिइरहेका छौँ । यस्तो अवस्थामा यहाँका स्प्रिट प्लान्टहरू कसरी चल्छन् ? कम भन्सार हुनाले उद्योगीले पनि विदेशबाट स्प्रिट ल्याएर बोतल भरेर बजारमा पठाउने गर्छन् ।

स्प्रिट आयातमा छिमेकी मुलुककोसरह भन्सार महसुल लगाई स्वदेशी उद्योगको संरक्षणतर्फ विशेष पहल गरिनुपर्छ । कतिपय नेपाली उद्योगले उत्पादन गर्ने स्प्रिट कुनै पनि विदेशमा उत्पादन हुनेभन्दा कमसल छैनन्, अझ त्यहाँ उत्पादन हुनेभन्दा पनि गुणस्तरीय छन् । 

नेपालमा चोरी पैठारी भएर पनि ठूलो परिमाणमा मदिरा भित्रिने गरेको बताइन्छ । यसरी भित्रिने मदिराले स्वदेशी उत्पादनलाई कत्तिको समस्या परिरहेको छ ?

अवैध आयातभन्दा पनि देशभित्रै हुने अवैध उत्पादन र बिक्री वितरणलाई नियन्त्रण गर्न ठूलो चुनौती छ । यसका लागि मोनिटरिङ सिस्टमको विकास गर्नुपर्छ । हाम्रो देशमा स्थानीयस्तरमा पनि सरकारहरू छन् । यस्तो अवैध कारोबारलाई नियन्त्रण र अनुगमन गर्न स्थानीय सरकारको सहयोग आवश्यक पर्छ । 

बियर उपभोगको वृद्धिदर उच्च रहेको छ । बर्सेनि बियरका नयाँ–नयाँ ब्रान्डहरू बजारमा आइरहेका छन् । विश्वका प्रख्यात बियरहरू नेपालमै उत्पादन हुन थालेको छ । के बियरका पारखीहरू बढ्दै गइरहेका हुन् ?

बियर र मदिरा छुट्टै वर्गका पेय हुन् । अहिले बियरको उपभोग बढ्दो छ । बियर सफ्ट ड्रिंग्स हो । तर, हाम्रोमा अहिले स्ट्रङ बियरको मार्केट असाध्यै बढिरहेको देखिन्छ । स्ट्रङ बियरमा अल्कोहलको मात्र बढी हुन्छ । स्ट्रङ बियरको मार्केट बढ्नु भनेको कहीँ न कहीँ अल्कोहलको मात्रा बढी उपभोग गर्ने प्रवृत्ति बढ्नु नै हो । अहिले स्ट्रङ बियरको उपभोग जसरी बढिरहेको छ, त्यसको व्यवस्थापन असाध्यै चुनौतीपूर्ण देखिएको छ । सफ्ट ड्रिंग्स हुनुपर्नेमा बियर हार्ड ड्रिंग्सजस्तै हुन थालेको छ । बियरको ड्रिंग्स प्याट्रन परिवर्तन हुँदै गइरहेको देखिन्छ । 

उपभोक्ताको रोजाइमा नेपाली ब्रान्डहरू कत्तिको पर्न थालेका छन् ? 

नेपाली ब्रान्ड च्वाइसमा पर्न थालेको छ । कतिपय ब्रान्डहरू पाँचतारे होटेलमा पनि सर्भ हुन थालेको छ । पछिल्लो समय नेपालमा विदेशी स्टान्डर्डकै मदिरा उत्पादन भइरहेको छ । कतिपय विश्वका बहुचर्चित मदिरा ब्रान्डहरू पनि स्वदेशमै उत्पादन गर्न थालिएको छ । नेपालमा विश्वकै उत्कृष्ट प्रविधि भित्र्याएर मदिरा उत्पादन हुन थालेको छ । धेरै नेपाली मदिरा ब्रान्डले विदेशी चर्चित ब्रान्डलाई पनि विस्थापन गरेका उदाहरणरू पनि छन् । अहिले स्वदेशी मदिरालाई हेर्ने उपभोक्ताको दृष्टिकोण बदलिएको छ । मदिरा उद्योगमा पनि अर्बौं लगानी भएको छ । हरेक प्रकारको मदिरामा हामी प्रतिस्पर्धी बन्दै गइरहेका छौँ । स्वदेशी उत्पादनले उपभोक्ताले तिरेको मूल्यबराबरको सन्तुष्टि दिन थालेका छन् ।