मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ९ शनिबार ११:३२:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा कांग्रेस सभापतिका उम्मेदवारलाई वडामै हराउने खेल  

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ९ शनिबार ११:३२:००

कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यताका विषयमा विवाद चर्किएको छ । धनुषाका नेता डा.चन्द्रमोहन यादवसहित तीनजना नेताहरू साता दिनदेखि कांग्रेस मुख्यालयमा आमरण अनशनमा बसेका छन् ।  बारा, सर्लाही र धनुषाकै नेता कार्यकर्ताको धर्ना पनि निरन्तर छ । सामान्यतः वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेपछि मात्रै क्रियाशील सदस्यता स्वीकृत हुने भनिएको छ । तर, कतिपय जिल्लामा क्षेत्रीय समितिका सभापतिहरूले मनोमानी गरेर आफूअनुकूल क्रियाशील सदस्यता थप गरेकाप्रति विरोध भइरहेको छ । त्यहीकारण, क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन पार्टीसमक्ष बुझाउन सकेको छैन । 

सुदुरपश्चिमको बाजुरामा पनि त्यस्तै विवाद उत्पन्न भएको छ । काठमाडौंनजिकका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना चर्काएपछि बाजुरा कांग्रेसका सभापतिका प्रत्यासी रामसिंह रावल पनि गुनासो बोकेर काठमाडौं आइपुगेका छन् । १३औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रत्यासी रहेका रावल त्रिवेणी नगरपालिकाका मेयरसमेत हुन् । उनी १४औँ महाधिवेशनमा पनि जिल्ला सभापतिको दाबी गरिरहेका छन् । तर, पार्टीको जिल्ला संस्थापनले उनलाई वडामै हराउने षड्यन्त्र रचेको उनको आरोप छ । 

जिल्ला सभापतिमा उम्मेदवार बन्न वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउनुपर्छ । उनको वडा त्रिवेणी नगरपालिका–८ हो । वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न सबै क्रियाशील सदस्यले मतदान गर्छन् । तर, रावलले आफ्नै वडामा फर्जी तरिकाबाट क्रियाशील सदस्य थप भएको पत्तो पाएनन् । संस्थापन पक्षका जिल्ला सभापति कविराज पण्डितले आफूलाई वडामै पराजित गर्ने गरी अवैध ढंगले अन्य राजनीतिक दलबाट समायोजन भएको नाउँमा क्रियाशील सदस्य थपेको उनी बताउँछन् । 

उनको वडामा यसअघि ७२ जनाको क्रियाशील सदस्यता नवीकरण भएको थियो । वडासमितिले ८८ जनाको नयाँ सदस्यता थप गरेको थियो । तर, अन्य राजनीतिक दलबाट समायोजनका नाउँमा ९३ जनाको सदस्यता फर्जी गरेर थप गरिएको वडा सभापति छत्रबहादुर थापा बताउँछन् । ‘वडाका पुराना सदस्यको संख्याभन्दा धेरै अन्य राजनीतिक दलबाट समायोजनका नाउँमा थप गरिएको छ । जब कि त्यसरी थपिएका मान्छे कुनै पार्टीबाट कांग्रेस प्रवेश गरेकै होइनन् । क्रियाशील थप गर्न वडाको निर्णय र सिफारिस आवश्यक पर्छ । वडा समितिको बैठक, सिफारिस र मेरो हस्ताक्षरसमेत किर्ते गरेर सदस्यता सिफारिस गरेको पाइएको छ, फर्जी गरेको वडा कार्यसमितिमा पदाधिकारीको नामै उल्टोपाल्टो छ,’ थापाले भने ।

अवैधानिक ढंगले सदस्यता थप गरेको थाहा पाएपछि उनले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी दिएका छन् । तर, समितिले त्यसलाई मान्यता दिएर अघि बढाउन लागेको थाहा पाएपछि आफैँ काठमाडौं आउनुपरेको उनले बताए । ‘हामी काठमाडौंनजिकैका मान्छे होइनौँ । हामी बाजुराबाट आएका हौँ । न सडक छ, न जहाज उड्छ । यस्तो वर्षा, बाढी र पहिराेको सिजन छ । हामी उहाँदेखि यहाँ आउनुपरेको छ,’ जिल्ला सभापतिका प्रत्यासी रावलले भने । 
जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यसैले क्षेत्रीय सभापति र जिल्ला सभापति एकै हुन् । विधानले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अधिकार उनैलाई दिएको छ । तर, सदस्यता स्वीकृत गर्दा चार तहका कार्यसमितिबाट निर्णय भएको हुनुपर्ने वैधानिक व्यवस्था छ । केन्द्रीय क्रियाशील छानबिन समितिले पनि त्यही मापदण्ड बनाएको छ । 

त्यो व्यवस्था थाहा हुँदाहुँदै जिल्ला सभापतिले फर्जी सदस्यता थप गर्नुमा बदनियत रहेको रावलको भनाइ छ । ‘किर्ते कागजात गरेर थपेको क्रियाशीलले पार्टी कब्जा गर्ने नियत राखेको देखियो । मेरै वडाबाटै मलाई पराजित गरेर पार्टी कब्जा गर्ने उहाँको सोच छताछुल्ल छ, केन्द्रीय समितिले हाम्रो मागबारे सुनुवाइ गरेन भने हामी पनि धर्ना र अनशन गर्न तयार छौँ,’ रावलले भने । 

बाजुरामा त्यसरी समायोजनमा नाममा सदस्यता थप गरिएको रावलको वडामा मात्रै भने होइन । त्रिवेणी नगरपालिकाकै वडा नम्बर ७ मा पनि वडा कार्यसमिलिते थाहै नपाई ५३ जना सदस्य  थपिएका छन् । ‘कागजात फर्जी तयार गरिएको
छ । यतिसम्म कि वडाको निर्णय र मेरो हस्ताक्षर पनि फर्जी छ, त्यसरी थपिएको क्रियाशील सदस्यता कसरी मान्य
हुन्छ ?,’ वडा सभापति दिलबहादुर ऐडीले भने । 

उनका अनुसार वडामा ६२ जना पुराना सदस्यले सदस्यता नवीकरण गरेका छन् । त्यस्तै, ६४ जना नयाँ सदस्य वडा कार्यसमितिले निर्णय गरेरै थपेको छ । तर, जिल्ला सभापतिले ५३ जना नयाँ सदस्य थपेर पठाएका उनले बताए । ‘वडा हाम्रो हो । हामी सबै मान्छे चिन्छौँ । उहाँले मधेसी जनअधिकार फोरमसहित अन्य राजनीतिक दलबाट पार्टी प्रवेश गरेको भनेर सदस्यता थप्नुभएको छ, जब कि त्यहाँ थप भएका मान्छेहरू त्यसरी प्रवेश गरेका मान्छे होइनन् । फेरि त्यसरी थप भए पनि वडा कार्यसमितिले निर्णय गरेर प्रक्रियागत रूपमा पठाउने केन्द्रको निर्णय र परिपत्र थियो, त्यो विपरीत सभापतिले आफूअनुकूल थप गर्नुभएको छ,’ उनले भने । 

त्यसैगरी, त्रिवेणी नगरपालिकाको वडा नम्बर ४, बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा समेत गरी ४५१ जना नयाँ सदस्य थप गरिएको नेता रावलले बताए । ‘अन्य राजनीतिक दलबाट साँच्चिकै प्रवेश गर्नेहरूलाई सदस्यता नदिने कुरा छैन । त्यसमा केन्द्रको निर्णय नै छ । तर, त्यो पनि प्रक्रिया मिचेर गरिएको छ । बाजुराको सदस्यताको सूची बनाउँदा सोलुखुम्बुको दुधकोसी गाउँपालिका कार्यसमितिको छाप प्रयोग भएकोसमेत पाइएको छ,’ रावलले भने, ‘सबै काम फर्जी भएको छ । त्यसरी फर्जी गरेर थपिएको सदस्यता खारेज हुनुपर्छ ।’

उनका अनुसार जिल्लामा मधेसी जनअधिकार फोरमले समायोजनका लागि २० जनाको नाम पठाएको थियो । तर, फोरमका नाममा सभापतिले आफूअनुकूल नाम थपेर त्यो सूचीलाई ४५१ पु¥याएका हुन् । बाजुरामा २३४६ पुराना सदस्यले नवीकरण गरेका छन् भने तीन हजार पाँच सय ५७ जना नयाँ सदस्यता थप भएको छ ।