कैलारी गाउँपालिकाको मण्डिबजारस्थित पवेरा नालामा सडकभन्दा तीन सय मिटर उचाइमा बनेको पुल अलपत्र, प्रयोगमा ल्याउन थप ६० लाख खर्च गरिँदै
हुलाकी राजमार्ग पर्ने कैलारी गाउँपालिकाको मण्डिबजारस्थित पवेरा नालामा दुई वर्षअघि नै पुल निर्माण भएको हो । तर, राजमार्गमा आवतजावत गर्नेहरू अहिले पनि पुलमुनि भएर खोलाकै बाटो प्रयोग गर्छन् । वर्षाले खोलामा बाढी आउँदासमेत स्थानीयले खोलाको बाटो प्रयोग गर्नुपर्छ । पुल भएर पनि प्रयोग गर्न सक्दैनन् । सवारीसाधन चढ्नै नसक्ने उचाइमा बनेकाले पुल प्रयोगविहीन भएको हो ।
सडकभन्दा तीन मिटर उचाइमा रहेको यो पुलमा सवारीसाधन चढ्न सक्दैनन् । पवेरा मण्डी बजारका स्थानीय कालीचरण चौधरीले पुल बने पनि बर्खाको बाढीमा समेत सास्ती खेपेर खोला तर्नुपर्ने बाध्यता नहटेको बताए । पुल बनेदेखि नै प्रयोगविहीन अवस्थामा रहेको उनको भनाइ छ । ‘छेउमै रहेको दुई तले घरको छतभन्दा पुल अग्लो छ । सडकबाट निकै अग्लो भएकाले पुलमा सवारीसाधन चढ्नै सक्दैनन्,’ चौधरीले भने, ‘पुल बनेर के गर्नु हामीलाई सुविधा भएको छैन ।’ सामान्य पानी पर्दा पुलमुनि हिलाम्य हुने गरे पनि त्यही बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
पुल बनेपछि सुविधा होला भन्ने आशा गरेका स्थानीय पुल निर्माणका क्रममा चलनचल्तीको बाटोसमेत मासिएपछि झन् असुविधा भएको गुनासो गर्छन् । सरकारले लाखौँ रुपैयाँ खर्च गरेर बनाएको पुलले जनतालाई सुविधा नदिएको अर्का स्थानीय रामसोर कठरियाले बताए । ‘सडकबाट हेर्दा टापुजस्तै अग्लो देखिन्छ,’ कठरियाले भने, ‘गाडी नचढ्ने कस्तो पुल बनाए होलान् ।’
स्थानीयलाई बर्खामा पनि खोला तर्नुपर्ने बाध्यता
भ्याटबाहेक एक करोड १६ लाख रुपैयाँमा बनेको पुल प्रयोगमा ल्याउन मिल्ने बनाउन थप करिब ६० लाख रुपैयाँ खर्च गरिँदै छ । पुलको दुवैतिरको साढे तीन सय मिटर लामो बाटोको उचाइ बढाउन लागिएको हो । हुलाकी सडक आयोजना कार्यालयले पुलको पूर्वतिर डेढ सय र पश्चिमतिर दुई सय मिटरसम्म सडकलाई अग्लो बनाउने कार्य अघि बढेको जनाएको छ । आयोजनाका इन्जिनियर पदम मडैले बर्खायाम सकिएलगत्तै बाटो अग्लो बनाउने काम सुरु हुने बताए ।
सडकको उचाइ बढाउन पुलको दुवैतिरको भरान पनि अहिले हटाइएको छ । त्यसलै पैदलयात्रुले समेत पुलमा चढ्न नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । खोलामा बाढी आए आवतजावत नै बन्द हुने स्थानीय पल्ट चौधरीले बताए । बाटो उठाउँदा छेउमा रहेको पवेरा मण्डी बजार र बस्तीलाई समस्या हुने स्थानीयको भनाइ छ । ‘सडक उँचो बनाएपछि छेउछाउका घर जाने बाटो बन्द हुन्छ,’ चौधरीले भने, ‘पुल बन्दा सुविधा होला भनेर खुसी थियौँ तर घर जाने बाटो नै बन्द भएर झन् असुविधा हुने भयो ।’
०७० जेठमै पुल निर्माणको सम्झौता भए पनि बस्तीभन्दा अस्वाभाविक उचाइमा पुल बन्न थालेपछि स्थानीयले विरोध गर्दा केही वर्ष पुल निर्माणको काम रोकिएको थियो । अवरोधले पुल निर्माण योजना नै खारेज हुने भएपछि स्थानीय पहिलेकै डिजाइनमा पुल बनाउन दिन सहमत भएका थिए । २२ मिटर लामो पुलको निर्माण ०७६ मा सम्पन्न भएको हो । आयोजना कार्यालयका अनुसार पुलको डिजाइन काठमाडौं बानेश्वरको म्याटेरियल टेस्ट कन्सलटेन्ट प्रालिले गरेको हो । खोलाको सतहदेखि पुलको उचाइ ५ मिटर छ । बर्खायाममा मात्र यो खोलामा पानी हुन्छ ।
आयोजनाले लापरबाही गरेको स्थानीयको आरोप
हुलाकी सडक आयोजना कार्यालयको लापरबाहीले सडकको सतहभन्दा अस्वाभाविक उचाइमा पुल बनेको स्थानीयको आरोप छ । ‘सडकभन्दा तीन मिटर अग्लो पुल प्रयोग गर्न सकिँदैन भनेर आयोजनाका इन्जिनियरले पनि थाहा पाउनुपर्ने हो,’ अर्का स्थानीय बलिचरण चौधरीले भने, ‘त्यस्तो डिजाइन कसरी पास भयो ?’
हुलाकी सडक आयोजना कार्यालय धनगढीले भने केन्द्रले नै डिजाइन परिवर्तन गरी उचाइ घटाउन नमानेको दाबी गरेको छ । कार्यालयका इन्जिनियर मडैले निजी कन्सल्टेन्टले बनाएको डिजाइनमै त्रुटि रहेको बताए । उचाइ घटाउन केन्द्रमा सिफारिस गरे पनि स्वीकृत नभएको उनको भनाइ छ । पाँच मिटरमा दुई मिटरमुनि खोलाको सतह रहेको र तीन मिटर सडकभन्दा उचाइमा पुल बनेको उनले बताए । ‘त्यहाँ बढीमा ३ मिटर उचाइको कल्भर्ट आवश्यक रहेछ,’ मडैले भने, ‘आवश्यकता नै नभएको ठाउँमा पुलको डिजाइन गरिएछ ।’ स्वाँर– पुल निर्माण खिम्ती–हेमन्त जेभीले गरेको हो ।