मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०९:५४:००
Read Time : > 1 मिनेट
समाचार

पूर्वाधार निर्माणको बजेट टुक्रे योजनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार ०९:५४:००

प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेट सांसदहरूले ससाना योजनामा पनि विनियोजन गर्न पाउने भएका छन् । १५ लाखभन्दा कम लागतका योजना छनोट गर्न नपाउने व्यवस्था थियो । त्यसलाई संशोधन गर्दै प्रदेश सरकारले न्यूनतम आठ लाख लागतसम्मका योजनामा बजेट खर्च गर्न पाउने व्यवस्थासहित प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि पारित गरेको छ ।

एक निर्वाचन क्षेत्रलाई दुई करोड

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा छनोट भएका योजनामा खर्च गर्ने गरी हरेक निर्वाचन क्षेत्रमा दुई करोड छुट्याएको छ । प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रका लागि ६४ करोड विनियोजन गरिएको छ । यो रकम कम्तीमा १५ लाखभन्दा माथि लागतका योजनामा खर्च गर्ने बजेटमा उल्लेख थियो । सांसदहरूको दबाबमा सरकारले योजनाको न्यूनतम लागत घटाएको हो । 

सांसदहरूकै दबाबमा प्रदेश सरकारले संघीय संसद्को निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमजस्तै फरक नाम दिएर सांसदका लागि बजेटको व्यवस्था बजेट भाषणमार्फत गरेको थियो । प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा रहने पूर्वाधार विकास छनोट तथा अनुगमन समितिलाई योजना छनोटसँगै अनुगमन, मूल्यांकन र प्रगति समीक्षाको भूमिका 
दिइएको छ ।

प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने समितिमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र एकजना वरिष्ठ प्रशासकीय अधिकृत सदस्य रहने भनिए पनि प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था पनि हटाइएको छ । 

केन्द्रको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट दुरुपयोग भइरहेको भन्दै आलोचना हुने गरेको छ । प्रदेशले ल्याएको त्यस्तै मोडलको कार्यक्रमको बजेट पनि दुरुपयोग हुने सम्भावना रहेको सरोकारवालाको भनाइ छ । ‘केन्द्रमा यो कार्यक्रम प्रभावकारी भएको देखिँदैन । यहाँ पनि दुरुपयोग हुने÷नहुने सांसदहरूको इमान्दारितामा भर पर्छ,’ प्राध्यापक शिवहरि मुडभरीले भने, ‘तर सांसदहरूमार्फत ससाना टुक्रे योजनामा बजेट बाँड्नु दिगो विकासका लागि ठीक होइन ।’ 

ससाना योजनामा बजेट बाँड्नुको सट्टा ठूलो योजनामा एक मुष्ठ लगानी गर्नुपर्ने सुझाब मुडभरीको छ । ससाना योजनाका लागि स्थानीय तहमा पनि बजेट जाने भएकाले पूर्वाधार विकासको बजेट प्रदेशको विकासमा अर्थ राख्ने योजनामा खर्च गर्नुपर्ने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका मुख्यसचिव नारायण बिडारीले सानोतिनो योजना दिगो नहुने बताउँदै ठूलो योजना भएदेखि राम्रो हुने बताए । 

उपलब्धिमा आशंका

टुक्रे योजना र वितरणमुखी काममा खर्च गर्दा उपलब्धिभन्दा बजेट दुरुपयोग हुन सक्ने सम्भावना बढी हुने सरोकारवालाले बताएका छन् । विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको सुदूरपश्चिममा ठूला योजना सञ्चालन गर्नुपर्ने हो । तर, ठूलो रकम वितरणमुखी कार्यमा खर्च गर्दा विकासले गति लिन नसक्ने सरोकारवालाको भनाइ छ 
अर्थशास्त्रका प्राध्यापक रामबहादुर बुढाऐरले कार्यकर्ता खुसी पार्न ससाना योजनामा कनिका छरेझैँ बजेट बाँड्दा विकास हुन नसक्ने बताउँछन् ।

‘यस्ता योजनामा कार्यकर्ता बढी हाबी हुने सम्भावना हुन्छ,’ उनी भन्छन्, ‘बजेट छर्नुभन्दा थोरै संख्यामा भए पनि दीर्घकालीन परिणाम दिने ठूला स्तरका योजनामा खर्च गर्नसके धेरैले लाभ लिन सक्छन् ।’