१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण ६ बुधबार ०९:४९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वामदेवपत्नी तुलसा  जुडोको ‘टिम म्यानेजर’ बनेर  टोकियो ओलम्पिकमा

Read Time : > 2 मिनेट
२०७८ श्रावण ६ बुधबार ०९:४९:००

शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । उनीहरूसँग चार प्रशिक्षक पनि छन् । तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् । सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् । 

नेपालले जुडोसँगै सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दै छ । तर, टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एनओसीका पदाधिकारी धेरै छन् । एनओसीबाट आठ, परिषद्बाट तीन र मन्त्रालयबाट सचिव केदार न्यौपाने टोकियो जाँदै छन् । उनी एनओसीको अट्याचीका रूपमा सहभागी हुनेछन् । 

तुलसा थापा नेपाल कबड्डी संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव पनि हुन् । उनीसँगै जुडोको ‘टिम म्यानेजर’का रूपमा नेपाल तेक्वान्दो संघका अध्यक्ष तथा एनओसीका सदस्य प्रकाशशमशेर राणा पनि टोकियो जाँदै छन् । जब कि तेक्वान्दोमा नेपाल सहभागी नै छैन । 

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा एमाले कार्यकर्ता पीताम्बर तिम्सिना एथलेटिक्सको टिम म्यानेजरका रूपमा टोकियो पुगेका छन् । एनओसीका सहमहासचिवसमेत रहेका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । त्यतैबाट उनी टोकियो पुग्नेछन् ।

थापा र राणालाई  जुडोका सामान्य नियम सिकाएँ : दीपकहर्ष बज्राचार्य, अध्यक्ष, नेपाल जुडो संघ

तुलसा थापा र प्रकाशशमशेर राणालाई ‘तपाईहरू जुडोको टिम म्यानेजर भएर जाँदै हुनुहुन्छ । खेलका सामान्य नियम पनि नजाने राम्रो हुन्न’ भनेर जुडोका आधारभूत नियमहरू सिकाएको छु । जुडो सहभागी अहिलेसम्मका चार ओलम्पिकमा जुडो संघबाटै टिम म्यानेजर जाने गरेका थिए ।

एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य भने ओलम्पिकमा कोभिड लाइसेन्स अफिसरका रूपमा सहभागी हुँदै छन् । उनी टोकियो पुगिसकेका छन् । त्यस्तै, एनओसीका अर्का उपाध्यक्ष तथा फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ सुटिङका ‘टिम म्यानेजर’ बनेका छन् । एनओसीका सदस्य तथा बक्सिङ संघका अध्यक्ष राम अवाले पौडीको ‘टिम म्यानेजर’का रूपमा जाँदै छन् । 

परिषद्का सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ प्रशासनिक सदस्यका रूपमा सहभागी बन्दै छन् । नेपाली टोलीको मेडिकल सदस्यका रूपमा नविशमानसिंह प्रधान जाँदै छन् । त्यस्तै, टोकियोस्थित नेपाली दूवातासका कर्मचारी प्रेम बराल र रूपेश डंगोललाई पनि एनओसीले आफ्नो कोटामा अटाएको छ । 

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफू टर्कीमा रहेका वेला एनओसीले तुलसा र राणालाई व्यवस्थापकका रूपमा पठाउने निर्णय गरेको बताए । ‘म जुडोको इभेन्ट्समा टर्कीमा रहेका वेला एनओसीले यस्तो निर्णय गरेछ । यो राम्रो होइन । यसमा मैले विरोध जनाएको थिएँ,’ उनले भने, ‘हाम्रो खेलमा मात्र होइन, अन्य खेलमा पनि यस्तै भएको छ ।’ 

यसअघि सन् १९८८, २००८, २०१२ तथा २०१६ को ओलम्पिकमा जुडो खेलमा जुडोकै पदाधिकारी ‘टिम म्यानेजर’का रूपमा गएको बज्राचार्यले बताए । अहिले जुडोको ‘टिम म्यानेजर’ भएर टोकियो जाने तयारीमा रहेका थापा र राणालाई आफूले जुडोका सामान्य नियम सिकाएको उनले बताए । ‘तपाईंहरू जुडोको टिम म्यानेजर भएर जाँदै हुनुहुन्छ । खेलका सामान्य नियम पनि नजाने देशकै बेइज्जत हुन्छ । त्यसैले न्यूनतम जानकारी त राख्नैपर्छ भनेर मैले उहाँहरूलाई जुडोका केही नियम सिकाएको छु,’ बज्राचार्यले भने । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् । अध्यक्ष श्रेष्ठले ३६ घन्टाको यात्रापछि मंगलबार टोकियो पुगेको भन्दै सामाजिक सञ्जालमा फोटो राखेका छन् । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल नेपाली टोलीका सेभ द मिसनका रूपमा गत साता नै टोकियो पुगिसकेका छन् । गत महिना मात्रै उनी कुवेतमा सम्पन्न २०२२ को कतार विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाली राष्ट्रिय टोलीकै सदस्यका रूपमा सहभागी भएका थिए ।

राष्ट्रिय खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राज्यको कोष दुरुपयोग गर्दै खेल पदाधिकारी टोकियो गइरहेको बताए । उनले १ साउनमा विज्ञप्ति जारी गर्दै पदाधिकारीका नाममा घुमफिरमा राज्यकोषको दोहन गर्ने कार्य गलत भएको बताएका छन् । ‘सम्बन्धित खेलका व्यक्ति चयन हुनुपर्ने र असम्बन्धित संघका पदाधिकारीलाई टिम म्यानेजरका रूपमा जापान पठाउनु निन्दनीय र घृणित कार्य हो,’ उनले भनेका छन् । 

एनओसीका महासचिव श्रेष्ठले सबैलाई अनुभव सँगाल्ने उद्देश्यले नै सदस्यहरूलाई पालैपालो लगिएको बताए । ‘चार–चार वर्षमा ओलम्पिक आउँछ, गइसकेकाले यसपटक मौका पाउँदैनन्,’ उनले भनेका छन् । परिषद् स्रोतका अनुसार ओलम्पिक कमिटीले नै नेपाली टोलीका सेभ द मिसनसहित अन्य १४ जना पदाधिकारीको भ्रमण भत्ता निकासा गर्न निवेदन पेस गरेको छ । प्रत्येक पदाधिकारीको खर्च कम्तीमा सातदेखि नौ लाखसम्म हुने स्रोतको भनाइ छ । 

ओलम्पिकमा सहभागी खेलाडी :
कल्पना परियार (सुटिङ), सोनिय भट्ट  (जुडो), सरस्वती चौधरी (एथलेटिक्स),  गौरिका सिंह (पौडी), एलेक्जान्डर गडिगाड शाह (पौडी)

प्रशिक्षक : असिम यादव (सुटिङ), सूर्यनारायण चौधरी (जुडो), इन्द्राकुमारी  मल्ल (एथलेटिक्स), शंकर कार्की (पौडी)