१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ श्रावण ६ बुधबार ०९:४७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्णायक कदमअघि ओली-नेपाल परामर्शमा 

Read Time : > 2 मिनेट
२०७८ श्रावण ६ बुधबार ०९:४७:००

सरकारले विश्वासको मत लिने प्रकरणसँगै वारपारको अवस्थामा पुगेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले निर्णायक कदमअघि संस्थागत छलफल र आन्तरिक परामर्श थालेका छन् । संस्थापनले सोमबारबाट केन्द्रीय कमिटीमा भावी रणनीतिलाई लिएर छलफल चलाइरहेका वेला नेपालले बुधबार स्थायी कमिटीका आफूनिकट सदस्यको बैठक राखेका छन् । 

अध्यक्ष ओली केन्द्रीय कमिटी बैठकबाट नेपालसहित सरकारलाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गराएर कारबाही गर्ने र पार्टीको भावी रणनीति तय गर्ने छलफलमा छन् । उता, वरिष्ठ नेता नेपालले पनि कारबाहीपछिको रणनीति तय गर्न मंगलबारबाट समूहगत छलफल जारी राखेका छन् । मंगलबार नेपालले सरकारलाई विश्वासको मत दिने सांसदहरूसँग परामर्श गरेका छन् । 

 प्रदीप ज्ञवाली, एमाले प्रवक्ता

विघटित कार्यदलको दशबुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न गर्ने बैठकमा छलफल चलिरहेको छ । नेपालसहितका सांसदलाई स्पष्टीकरणको चिठी पठाइएको छ, जवाफ आएपछि पार्टीले प्रक्रिया अगाडि बढाउँछ ।

संस्थापन पक्षले नेपालसहित २२ सांसदलाई कारबाही गरे पनि दशबुँदे सहमति कार्यान्वयनमा लगेर अन्तिमसम्म एकताको प्रयास गर्ने र अर्को पक्षका धेरैभन्दा धेरै नेता मनाउने कोसिसमा देखिएको छ । उसले नेता नेपालबाहेकको एकतामा जोड दिइरहेको छ । 

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले दशबुँदे सहमतिको प्रस्तावअनुसार अन्तिमसम्म एकतालाई जोड दिने पक्षमै केन्द्रित रहेर छलफल चलिरहेको बताए । ‘विघटित कार्यदलको दशबुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न गर्ने बैठकमा छलफल चलिरहेको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

बैठकमा प्रदेश अध्यक्षहरू कर्ण थापा, गोरख बोगटी, लीला गिरी, जगत विश्वकर्मा, आनन्दप्रसाद पोखरेल, ज्वालाकुमारी साह र देवराज घिमिरेले प्रदेशमा पार्टीको संगठनात्मक अवस्था, पार्टी विभाजित भएको अवस्थामा त्यसले तत्काल र चुनावमा पार्न सक्ने असरलगायत विषयमा केन्द्रित रहेर सुझाब प्रस्तुत गरेका थिए । 

उनीहरूले अहिलेको अन्योलपूर्ण अवस्था छिटो समाप्त गरेर पार्टीलाई चुस्तदुरुस्त बनाएर पुरानै लयमा फर्काउन ढिलाइ गर्न नहुने, अहिलेको प्रतिकूल परिस्थितिबारे पार्टीपंक्तिलाई प्रशिक्षित गर्नुपर्ने तथा यसबीचका कमजोरीको पनि गहन आत्मसमीक्षा गर्नुपर्ने सुझाब राखेको पनि ज्ञवालीले जानकारी दिए ।

बैठकमा विघटित कार्यदलका तर्फबाट संस्थापनतर्फबाट प्रतिनिधित्व गरेका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासका विभिन्न चरण, दशबुँदे सहमति र कार्यान्वयनका विषयमा केन्द्रित रहेर ब्रिफिङ गरेका थिए । प्रवक्ता ज्ञवालीले नेपालसहितका सांसदलाई स्पष्टीकरणको चिठी पठाइएको र उनीहरूले प्राप्त गरेपछि पार्टीले तदनुरूपको प्रक्रिया अगाडि बढाउने पनि जानकारी दिए ।

 माधव नेपाल, एमाले वरिष्ठ नेता

विकसित परिस्थिति हेरौँ, सबैको राय–सुझाब पनि आओस् । कानुनी हिसाबले कसरी अगाडि बढ्दा उपयुक्त त्यो पनि हेरौँ । अहिलेसम्म ओलीका सबै गतिविधि असहिष्णु छन् । सबै गतिविधि हेरेर अगाडि बढ्ने हो । हामी सबैको राय–सल्लाहबाटै अगाडि बढौँला ।

त्यसैबीच, सरकारलाई विश्वासको मत दिने सांसदहरूसँग मंगलबार छलफल गरेका नेपालले बुधबार निकट स्थायी कमिटी सदस्यहरूसँग छलफल राखेका छन् । सांसदहरूसँगको छलफलमा नेता नेपालले ओलीका कदम र सबै नेता तथा सांसदको सुझाबका आधारमा अगाडि बढ्ने ब्रिफिङ गरेका छन् ।

सरकारलाई विश्वासको मत दिने कि नदिने विषयमा समूह विभाजित हुँदा असहज परिस्थिति सिर्जना भएकाले नेपाल सबै नेतासँग गम्भीरतापूर्वक परामर्श गर्ने तयारीमा छन् । ‘विकसित परिस्थिति हेरौँ, सबैको राय–सुझाब पनि आओस् । कानुनी हिसाबले कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने पनि छ । अहिलेसम्म ओलीका सबै गतिविधि असहिष्णु छन्, कारबाहीका कुरा आएकै छन्,’ नेपालको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘ओलीको बोलीवचन सुन्नुभएकै छ, हामीले केही गरेकै छैनौँ । सबै गतिविधि हेरेर अगाडि बढ्ने हो । हामी सबैको राय–सल्लाहबाटै अगाडि बढौँला ।’

त्यसैबीच वरिष्ठ नेता नेपाल समूहका सांसदहरूले तत्काल आफूहरू सरकारमा सामेल नहुने बताएका छन् । तत्कालका लागि पार्टी एकता र विभाजन दुवै सम्भावना रहेकाले सरकारमा नगई प्रतिपक्षकै रूपमा भूमिका निभाउने नीतिलाई नेपाल पक्षले तत्कालको प्राथमिकतामा राखिएको उनीहरूको भनाइ छ । 

सांसद रामकुमारी झाँक्रीले सांसदहरूबीचको छलफलमा सरकारमा जाने विषयमा छलफल नभएको बताइन् । ‘एमाले प्रतिपक्षमा बस्ने भएकाले सरकारमा जाने विषयमा छलफल भएन,’ बैठकपछि झाँक्रीले भनिन्, ‘ओलीले छाती फराकिलो बनाएर एकताका लागि पहल गर्नुपर्छ भन्ने अधिकांशको सुझाब छ ।’