मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक अधिकारी काठमाडाैं
२०७८ श्रावण ५ मंगलबार २२:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुसुमखोलाका प्रजादम्पतीले पाए राहत सामग्री, कहिले पाउलान् लालपुर्जा ?

Read Time : > 1 मिनेट
२०७८ श्रावण ५ मंगलबार २२:५१:००

चितवनको कुसुमखोका प्रजा परिवारले निस्तो भात खानुनपर्ने भएको छ। नयाँ पत्रिकामा ‘चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष’ समाचार प्रकाशन भएसँगै उनीहरूलाई खाद्यान्न सहयोग मिलेको हो। 

मितेरी फाउन्डेसन नेपालकी उपाध्यक्ष एवं चितवनकी पत्रकार अनिता खनालले समाचार पढेर आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, मसला, प्याज, चिउरा, दालमोठ, सलाईसहित एक थान त्रिपाल सहयोग गरेकी छिन्। 

प्रकाशित समाचारमा काजीमान प्रजा, उनकी श्रीमती नैनीमाया र पाँच वर्षकी छोरीले नुन, खुर्सानी र पानीसँग निस्तो भात खानुपर्ने बाध्यता उठाइएको थियो। चितवनकी खनाल फाउन्डेसनमार्फत सामाजिक कार्यमा समेत सक्रिय छिन्। 

कुनै समय एक सय ६० भन्दा बढी चेपाङ समुदाय रहने यो गाउँमा अहिले प्रजादम्पती मात्र बस्छन्। वसन्तपुर बजारदेखि दर्जनभन्दा बढी पुल नभएका खोला र खोल्सासँगै घना जंगल कटेपछि माडी नगरपालिका– ९ मा रहेको कुसुमखोला पुगिन्छ। 

वसन्तपुर बजारदेखि झन्डै १८ किलोमिटर मोटरबाटो हुँदै ४५ मिनेटको पैदल दूरीमा रहेको यो ठाउँमा वर्षामा खोला बढ्ने भएकाले पुग्न निकै कठिन छ। राहत लिन उनीहरूको परिवार माडी आएका थिए। 

दूरीको हिसाबले सहयोग गर्नसमेत गाह्रो परेको बताउँदै खनालले आगामी दिनमा समेत आफूले व्यक्तिगत वा संस्थागत रूपमा सक्ने सहयोग गर्ने बताइन्। 

गत वर्ष ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै हात्ती लगाएर भत्काएपछि अन्य परिवार यहाँबाट विस्थापित भएका थिए। तर, काजीमान र नैनीमाया भने यहीँ छन्। 

१५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो। 

एक वर्ष बितिसक्दा पनि विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश सरकारले सुनेको छैन। विगतमा ६ कट्ठा जमिन पाइन्छ भनेर फारम पनि भर्न लगाइएको भए पनि लालपुर्जाविना खोलाको छेउमा एक कट्ठाका दिने भनेर हटाउन खोजिएकाले त्यसको विरोध गर्दै उनीहरू सो ठाउँ छाड्न मानेका छैनन्।

उनीहरूको एउटै प्रश्न छ– कतिपटक कति ठाउँमा गएर कति सुकुमबासी बन्ने ? माडीमा निकुञ्जको अवरोधका कारण कुसुमखोलाबाट विस्तापित चेपाङको समेत उचित व्यवस्था हुन सकेको छैन। 

निकुञ्जले उठीबास लागेका चेपाङको व्यवस्थापन गर्नुभन्दा बरु अघिल्लो ओली सरकारले त्यही वडामा नक्सासमेत पास नगरी उस्तै प्रकृतिको जग्गामा अस्थायी रूपमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्न लाखौँको खर्चमा ११ दिनमानै राममन्दिर निर्माण गरेको छ। 

नयाँ बजेटमा समेत राममन्दिर केन्द्र र प्रदेशको प्राथमिकतामा छन्। कुसुमखोलामा निकुञ्जले आगलागी गरेपछि नयाँ पत्रिकाको समाचारलाई आधार मानेर देश तथा विदेशबाट यस अघि पनि सहयोग प्राप्त भएको थियो।