Skip This
‘मेक इन नेपाल’ अभियानलाई सरकारले साथ दिने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘मेक इन नेपाल’ अभियानलाई सरकारले साथ दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५५:oo

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारले साथ दिने प्रतिबद्धता जनाएका छन् । आइतबार परिसंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा अर्थमन्त्री शर्माले आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको बताउँदै निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ रहने बताएका हुन् । 

‘मैले मन्त्री भएलगत्तै तथ्यांकहरू हेरेँ, हाम्रो आयात उच्च रहेको, निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ,’ मन्त्री शर्माले भने, ‘यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ ।’ अर्थमन्त्री शर्माले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैँ साथमा लिएर अघि बढ्ने बताए । उनले औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरे । ‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो,’ उनले भने, ‘निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ, तपाईंहरूले लगानी बढाउनुस् ।’ 

मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाब र सल्लाह लिएर अघि बढ्ने पनि बताएका छन् । कोभिडले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने बताउँदै उनले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले अहिलेको आवश्यकता सबै नेपाली नागरिकलाई खोप र आर्थिक पुनरुत्थान रहेको बताए । उनले निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । कोभिडले आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता बोध गराइदिएको भन्दै मोरले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए । 

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले घोषणा गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ बाट कमजोर बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिबाट पनि सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गरे ।

अक्सिजन प्लान्ट हस्तान्तरण

नेपाल उद्योग परिसंघको अगुवाइ एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । परिसंघ सचिवालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका वेला निजी क्षेत्रले अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पूरा गरेको बताए । ‘हामी सबैका लागि यो चुनौतीपूर्ण अवस्था थियो,’ उनले भने, ‘त्यसको सामना गर्न तीनवटा संस्थाको सहकार्यमा अक्सिजन प्लान्ट हस्तान्तरण गर्न सफल भएका छौँ ।’  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताइन् ।

उनले कोभिडकै बीचमा अस्पतालमा आइसियू र एचडियू बेड थपिएको र थप १५ सय शैय्या निर्माणको चरणमा रहेको पनि जानकारी गराइन् । प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले जनताको जीवनरक्षाका लागि योगदान गर्न पाउनु खुसीको विषय भएको उल्लेख गरे । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकताअनुसार मर्मत–सम्भार गरी आमजनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।