१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ श्रावण ३ आइतबार १०:५६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ वर्षको बच्चालाई ११ पाठ्यपुस्तक !

Read Time : > 2 मिनेट
२०७८ श्रावण ३ आइतबार १०:५६:००

बालमनोविज्ञानको बेवास्ता : उमेर, रुचि, सक्षमता, मनोविज्ञानको मतलब छैन, आपूmलाई फरक देखाउन बालबालिकालाई जथाभावी किताब लदाउँदै छन् निजी विद्यालय

ललितपुर सातदोबाटोस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुलले कक्षा १ का कलिला बालबालिकालाई ११ वटा पुस्तक किन्न लगाएको छ । कक्षा १ मा एकेडेमिक एस्सेज, लेटर, आदर्श व्याकरण, इनोभेटिभ कम्प्युटर, लाइफ स्किल्स, म्याक्सिम अफ इंग्लिस ग्रामर, मेरो नेपाली, मोडर्न ग्रेडेड साइन्स, रिडमोर सोसल स्टडी, स्पिडी म्याथ र सिम्फोनी : एन इंग्लिस कोर्स बुक पढाएको छ । त्यसैगरी, बुद्धनगरको रोज बड स्कुलले कक्षा १ मा १० पुस्तक राखेको छ । युनाइटेड स्कुलमा कक्षा १ मा नौवटा पुस्तक लगाइएको छ । 

यी त केही उदाहरण मात्र हुन्, अधिकांश निजी विद्यालयले सरकारले निर्धारण गरेभन्दा तीन गुणा बढीसम्म पुस्तक लगाएका छन् । कलिला बालबालिकालाई निजी विद्यालयले पुस्तकको भारीले गलाएका छन् । बालबालिकाको मनोविज्ञानअनुसार सरकारले कक्षा १ मा चार विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइरहेको छ, तर निजी विद्यालयले ११ वटा पुस्तक किनाएका छन् । धेरै पुस्तक किनाउनुले निजी विद्यालयले विद्यार्थीको भन्दा व्यापारको बढी चिन्ता गरेको भन्दै आलोचना भइरहेको छ । त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेम भट्टले ६ वर्षका बालबालिकालाई ११ पुस्तक पढाउनु एकदमै गलत भएको बताए । ‘६ वर्षका बालबालिका ११ वटा किताबको दबाब थेग्न सक्ने हुँदैनन्,’ उनले भने, ‘यो उमेरको बालबालिकालाई सिकाउँदा उनीहरूको भावनामा केन्द्रित हुनुपर्छ ।’

सानो कक्षाका बालबालिकालाई धेरै पुस्तक किनाउने संस्कार एकदमै बेठीक भएको शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलको भनाइ छ । उनी भन्छन्, ‘बालबालिकाले स्वतन्त्र रूपमा सिक्न पाउनुपर्छ, कक्षा १ मा सरकारले तोकेका पुस्तक नै पर्याप्त छन्, अरू थप पढाउनु भारी हो ।’

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा १ मा नेपाली, सेरोफोरो, अंग्रेजी र गणित विषय राखेको छ । तर, निजी विद्यालयले यी विषयको पाठ्यक्रमभन्दा फरक र केन्द्रले स्वीकृति नदिएका पुस्तकसमेत किनाएर विद्यार्थीलाई पुस्तकको भारी र अभिभावकलाई आर्थिक बोझ थपेका छन् । केही विद्यालयले एउटै पुस्तकको तीन हजार रुपैयाँ पर्ने पुस्तकसमेत किनाएका छन् । अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयले शिक्षाको उद्देश्यभन्दा बाहिर गएर आफ्नो आर्थिक लाभलाई मात्रै हेरेर काम गरिरहेको गुनासो गरे । ‘चाहिनेभन्दा बढी पुस्तकको लोड राखेपछि बालबालिकाको सिकाइमा समेत ह्रास हुन्छ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘आर्थिक मात्रै होइन बालबालिकाको मानसिक र शारीरिक रूपमा समेत दीर्घकालीन असर पर्छ ।’ सरकार कमजोर हुँदा निजी विद्यालयले फाइदा उठाइरहेको उनको गुनासो छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने धेरै पुस्तक किनाएर बालबालिकालाई व्यस्त गराउँदा एकलकाँटे हुने, पुस्तकमा भएका र शिक्षकले भनेका बाहेक अरू ठीक हुन् भन्ने नलाग्ने अवस्था आउने बताउँछन् । ‘निजी विद्यालयले स्वतन्त्र रूपमा सिकाउन खोजेको हो वा जबर्जस्त लगाम लगाउन खोजेको हो अभिभावकले बुझ्नुपर्छ । धेरै पुस्तक थुपारेर बालबालिका धेरै जान्ने र त्यो गुणस्तरीय शिक्षा हुँदैन,’ उनी भन्छन्, ‘पुस्तकको अनावश्यक भारी बोकाए बालबालिकाको मानसिकतामा समेत असर गर्छ ।’

सरकारले पाठ्यक्रमअनुसार तयार पारेको पाठ्यपुस्तक अनिवार्य पढाउनुपर्छ । त्यसबाहेक पाठ्यक्रमसँग मिल्ने पुस्तक थप सामग्रीका रूपमा पढाउन पाउने व्यवस्था छ । तर, कतिपय निजी विद्यालयले सरकारी पाठ्यक्रमअनुसार तयार भएका पाठ्यपुस्तक नपढाएर अन्य सामग्री पढाउने गरेका छन् । सामान्यतया पाठ्यपुस्तकले नसमेटेको विषयवस्तुमा अभ्यास गराउन थप सामग्री लगाउन सकिने व्यवस्था छ । कक्षा १–३ सम्म एकीकृत पाठ्यक्रम लागू भएको छ । थप सामग्री पनि विषयबाहिर रहनुहुँदैन ।

पुस्तकले थिचेर गुणस्तर आउँदैन, स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ : प्राडा. बालचन्द्र लुइँटेल, शिक्षाविद्
सानो कक्षाका बालबालिकालाई धेरै पुस्तक किनाउने संस्कार एकदमै बेठीक हो । कक्षा १ मा सरकारले तोकेका पाठ्यपुस्तक नै पर्याप्त छन्, अरू थप्नु भारी हो । निजीका भन्दा सरकारी पुस्तक राम्रा छन् । त्यसैले विद्यालय तहमा निजीलाई पुस्तक उत्पादन नै गर्न दिनुहुँदैन । निजीले बालबालिकालाई स्वतन्त्र रूपमा सिक्ने अवसर दिएका छैनन्, पुस्तकका भारीले थिचेका छन् । कतिपय देशमा सानो कक्षामा पुस्तक हुँदैन ।   

धेरै पुस्तकले बोझ भयो, अब संख्या तोक्छौँ  : अणप्रसाद न्यौपाने, महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र
विद्यार्थीले सही रूपमा सिक्नका लागि उनीहरूको उमेर, क्षमताअनुसारको सामग्री हुनुपर्छ र स्वतन्त्र रूपमा रमाउँदै सिक्ने वातावरण हुनुपर्छ । यसो भएमा मात्र सही रूपमा सिक्न सक्छन्, सामाजिक हुन्छन् र सर्वाङ्गीण विकास हुन्छ । सरकारले निर्माण गरेको पाठ्यक्रम र पाठ्यपुस्तक बालबालिकाको उमेर, स्तर, क्षमता र रुचिअनुसार छन् । केन्द्रले तयार गरेका पुस्तक पर्याप्त छन्, केही थप सामग्री लगाउन सक्छन्, तर ११–१२ वटा पुस्तक जरुरी छैन । पुस्तक थुपार्दैमा गुणस्तरीय शिक्षा हुँदैन । यसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ । विद्यालयले थप सामग्री कतिवटासम्म लगाउन पाउने भन्ने अहिलेसम्म संख्या तोकिएको रहेनछ । हामीले संख्या तोक्नका लागि छलफल गरिरहेका छौँ । 

प्याब्सनले सतर्क गराउँछ, हस्तक्षेप गर्न सक्दैन : डिके ढुंगाना, वरिष्ठ उपाध्यक्ष, प्याब्सन
पाठ्यक्रमसँग मिल्ने र सहयोग पुग्ने केही सामग्री थप्नु स्वाभाविक भए पनि अनावश्यक पुस्तक राख्नुहुँदैन । विद्यार्थीको पठन संस्कारलाई विकास गर्नेबाहेक धेरै पुस्तक राख्नुहुँदैन । धेरै पुस्तक राखेर गुणस्तरीय शिक्षा हुँदैन । अनावश्यक पुस्तक बालबालिकालाई बोझ हुन्छ । प्याब्सनले दायराभित्र रहेर पुस्तक राख्नु भन्ने हो । प्रत्येक विद्यालयलाई हस्तक्षप गर्न सक्दैन । अनावश्यक बोझ नथपी, पठनमा रमाइलो हुने हिसाबले पुस्तक लगाउनु राम्रो हुन्छ ।