१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मुना कुँवर काठमाडाैं
२०७८ श्रावण ३ आइतबार ०९:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्धारका नाममा हिमालय एयरलाइन्सको लुट

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७८ श्रावण ३ आइतबार ०९:२३:००

दुवै डोज खोप लगाएकाले क्वारेन्टिन बस्नुपर्दैन, तर क्वारेन्टिनका नाममा समेत रकम असुली, सामान्यभन्दा पाँच गुणा बढी मूल्यमा टिकट बिक्री

विगत तीन वर्षदेखि साउदी अरेबियाको रियादमा कार्यरत पाल्पाका हिमालसिंह राना भिसा अवधि सकिएपछि नेपाल फर्कनुपर्‍यो । साउदीमा नै कोरोनाविरुद्धको दुई डोज खोप लगाइसकेका उनले स्वदेश फर्कन हिमालय एयरलाइन्सको १ साउनको टिकट लिएका थिए । एयरलाइन्सको टिकटसँगै ट्राभल एजेन्सीले काठमाडाैँमा सात दिन होटेल क्वारेन्टिन, पिसिआर परीक्षण र रियादबाट दमामसम्मको भाडासमेत जोडेर एकमुष्ट १ लाख रुपैयाँ (३२ सय साउदी रियाल) लिएको उनले बताए ।

नेपाल सरकारले कोरोनाको खोप लगाइसकेका श्रमिकलाई क्वारेन्टिन बस्नुनपर्ने नियम बनाएको छ । त्यसैले रानाले होटेल क्वारेन्टिनबाहेकको रकम एजेन्सीलाई बुझाउँदा एयरलाइन्सले क्वारेन्टिन पनि बस्नैपर्ने भन्दै पैसा असुलेको उनले बताए । ‘मैले एजेन्सीलाई खोप लगाइसकेको छु, होटेल क्वारेन्टिन बस्नुपर्दैन भनेँ । तर, एजेन्सीले एयरलाइन्सले नै टिकट मूल्य क्वारेन्टिनसहित जोडेको छ भने,’ उनले भने । 

बुटवलका ३२ वर्षीय खेमबहादुर दराई पनि साउदीको अक्सिजन प्लान्टमा ६ वर्षदेखि कार्यरत छन् । करिब एक महिनाअगाडि उनका बुबाको देहान्त भएको थाहा पाएर घर आउन कम्पनीमा छुट्टी माग्दा स्वीकृति पाएनन् । त्यसैले उनले आफ्नै पैसाले नेपाल फर्कन हिमालय एयरलाइन्सको आगामी २६ गतेका लागि टिकट लिएका छन् । उनले पनि ट्राभल एजेन्सीलाई एयरलाइन्सको टिकटसहित, सात दिन होटेल क्वारेन्टिन, पिसिआर परीक्षण र दमामसम्मको भाडा गरी ७८ हजार २ सय ४ रुपैयाँ (२४५० साउदी रियाल) बुझाएका छन् । सरकारले काजकिरियाका लागि नेपाल फर्किने श्रमिक क्वारेन्टिन बस्नुनपर्ने बताएको छ । तर, एजेन्सीले भने क्वारेन्टिनको रकम नबुझाए टिकट नै दिन नमिल्ने बताएको उनले गुनासो गरे  । 

बुटवलकै ३७ वर्षीय सन्तबहादुर राई रोजगारीका लागि साउदी पुगेको ३ वर्ष भयो । उनको भिसा अवधि सकिएपछि नेपाल आउने तयारीमा छन् । ट्राभल एजेन्सीलाई उनले पनि होटेल क्वारेन्टिनको रकमसहित ७८ हजार २ सय ४ रुपैयाँ (२४५० साउदी रियाल) बुझाएको बताए । यद्यपि, राईले भने कोरोनाविरुद्धको दुई डोज खोप लगाइसकेका छन् । राईले खोप लगाएका कारण क्वारेन्टिन बस्नुनपर्नेसमेत एजेन्सीलाई बताए । तर, एजेन्सीले क्वारेन्टिन नबस्ने हो भने टिकट नै दिन नमिल्ने बताएको उनले बताए । 

श्रमिकलाई जबर्जस्ती क्वारेन्टिन 
हिमालय एयरलाइन्सले क्वारेन्टिनका नाममा साउदीमा रहेका नेपाली श्रमिकलाई जबर्जस्ती गरेको श्रमिकहरूले गुनासो गरेका छन् । एयरलाइन्सले होटेल क्वारेन्टिनको शुल्क नबुझाउने श्रमिकलाई हवाई टिकट नै बिक्री नगरेको उनीहरूको आरोप छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रले अन्तर्राष्ट्रिय हवाई यात्रुको होटेल क्वारेन्टिनसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै क्वारेन्टिन बस्ने होटेलको सूचीसमेत जारी गरेको छ । केन्द्रले तयारी पारेको मापदण्डअनुसार यात्रुले सिसिएमसीको वेबसाइटमा गएर क्वारेन्टिन होटेल छनोट गरी बुकिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, हिमालय एयरलाइन्सले आफैँले छनोट गरेको होटेल क्वारेन्टिनमा बस्न श्रमिकलाई बाध्य पारेको छ । टिकटसँगै क्वारेन्टिनको समेत रकम भुक्तानी गर्नुपर्ने भएपछि श्रमिकले छनोटको अवसर नै पाएका छैनन् । 

त्यस्तै, दुई डोज कोरोनाविरुद्धको खोप लगाएका, पिसिआर गरेर नेगेटिभ आएको ७२ घन्टा भएका, काजकिरियाका लागि आएकालाई स्थानीय निकायको रेखदेखमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको केन्द्रका सूचना अधिकारी माधवप्रसाद ढुंगानाले बताए । तर, हिमालय एयरलाइन्सले भने खोप लगाएका हिमालसिंह राना, सन्तबहादुर राई र किरियाका लागि आउँदै गरेका खेमबहादुर दराईजस्ता हजारौं यात्रुसँग जबर्जस्ती होटेल क्वारेन्टिनको रकम असुलेको छ । 

नेपालबाट साउदी जाने श्रमिकले क्वारेन्टिन रकम भुक्तानी गर्नुनपर्ने
नेपालबाट साउदी जाने श्रमिकले क्वारेन्टिन रकम भुक्तानी गर्नुनपर्ने भएको छ । साउदी सरकारले गरेको नयाँ व्यवस्थाअनुसार रोजगारदाताले नै श्रमिकको क्वारेन्टिन रकम व्यहोर्नुपर्ने साउदीका लागि नेपाली श्रम काउन्सिलर जीवन राईले बताए । उनका अनुसार यसअघि साउदी सरकारले श्रमिकले नै क्वारेन्टिनको रकम व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो ।

सरकारले नै क्वारेन्टिनका लागि होटेल निर्धारण गरेको थियो । तर, श्रमिकलाई क्वारेन्टिनको होटेलको रकम भुक्तानी गर्दा धेरै आर्थिक भार पर्ने भएपछि रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरेको उनले बताए । नेपालबाट साउदी जाने श्रमिकबाट हिमालय एयरलाइन्सले १ लाख ७० हजारदेखि २ लाख १० हजार रुपैयाँसम्म असुली गरेको वैदेशिक रोजगार व्यवसाय संघका सचिव मेघनाथ भुर्तेलले बताए ।

एयरलाइन्सले मनोमानी तरिकाले रकम लुटेको उनले बताए । नेपालबाट साउदी जाने श्रमिकलाई पनि हिमालय एयरलाइन्सले जबर्जस्ती क्वारेन्टिनको रकम असुलेको उनले गुनासो गरे ।

पाँच गुणाभन्दा बढी मूल्यमा टिकट बिक्री गर्दै हिमालय एयरलाइन्स
हिमालय एयरलाइन्सले साउदी अरेबियाबाट नेपाल फर्कने श्रमिकलाई पाँच गुणासम्म बढी रकममा हवाई टिकट बिक्री गर्दै आएको गैरआवासीय संघ साउदी अरेबियाले आरोप लगाएको छ । 

एयरलाइन्सले श्रमिकको उद्धारको नाममा श्रमिकलाई नै ठगेको संघका अध्यक्ष तेजबहादुर थापाले बताए । उनका अनुसार एयरलाइन्सले श्रमिकलाई साउदीदेखि काठमाडौंसम्मको हवाई टिकट ८६ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्ममा बिक्री गरेको छ ।

सामान्य अवस्थामा नेपालदेखि साउदीको एकतर्फी हवाई भाडा २४ हजार पर्छ । तर, कोरोना संक्रमणको गलत फाइदा उठाउँदै एयरलाइन्सले चर्को शुल्कमा टिकट बिक्री गर्दै आएको उनले बताए । संघले साउदीस्थित नेपाली दूतावासलाई समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको उनले बताए ।