सुनसरीको कोसी गाउँपालिकामा एकआपसमा झगडा गरिरहेका दाजुभाइलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल इनरुवाको टोलीले शनिबार कोसी गाउँपालिका ५ स्थित कुम्याहीबाट ४८ वर्षीय विद्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादवलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
उनीहरू बिहानै आपसमा झगडा गरेका थिए । गोली हानेर उडाइदिने धम्कीसहित झगडा गरेको पाइएपछि स्थानीयले सशस्त्र प्रहरीलाई सूचना दिएका थिए ।
स्थानीयको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । घरमा छापा मार्दा नजिकको आँपको रुखमुनि लुकाइराखेको एक थान कटुवा पेस्तोल र एक थान गोली पनि बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव पौडेलले जानकारी दिए ।
उनीहरूलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले सोधपुछ गरेको थियो । सोधपुछको क्रममा उनीहरूले पेस्तोल आँपको बोटमुनि राखेको बताएका थिए । सशस्त्र प्रहरीले शनिबार नै नेपाल प्रहरीलाई कारबाहीका लागि बुझाएको छ ।
उनीहरूलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिए ।
उनीहरूबीच जग्गाको विषयमा विवाद भएको बताइएको छ । उनीहरूको घर भारतीय सीमानजिकै पर्छ । हतियार कसले प्रयोग गरेको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।