१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रदीप पौडेल : प्रवक्ता, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३१ बिहीबार ०९:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्रियाशील सदस्यता छानबिनकै विवादले महाधिवेशन रोकिँदैन : प्रदीप पौडेल

अन्तर्वार्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३१ बिहीबार ०९:०९:००

क्रियाशील छानबिन समितिले के गरिरहेको छ ? 
यसपटक हामीले जिल्लाले केन्द्रीय कार्यालयको सफ्टवेयरमा पुराना सदस्यहरूलाई नवीकरण गर्नुपर्ने र त्यसपछि नयाँ सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय समितिले त्यसलाई इन्ट्री गर्नुपर्ने व्यवस्था गरेका थियौँ । त्यो व्यवस्थाअनुसार जिल्ला र क्षेत्रबाट इन्ट्री हुन समय लाग्यो । त्यो इन्ट्री भइसकेपछि बल्ल सार्वजनिक गर्ने र सार्वजनिक भएका नामावलीमाथि उजुरी पर्ने । अनि त्यसपछि मात्रै हामीले सदस्यताको छानबिन गर्ने हो । हामीले २० असारसम्म पनि इन्ट्री गरिरहेका थियौँ । त्यसैले उजुर गर्ने प्रक्रियासम्म आइपुग्दा समय लाग्यो । उजुरी नै नपरीकन त हामीले छानबिन गर्ने कुरा नै भएन । त्यसैले उजुरी गर्ने प्रक्रियाका कारण छानबिनको काममा पनि स्वतः ढिला भएको हो । 

ढिलै भए पनि हामीले रफ्तारमा काम गरेका छौँ । अहिलेसम्म एक सय ३३ वटा निर्वाचन क्षेत्रको सदस्यताको टुंगो लागिसकेको छ । अब ३२ वटा निर्वाचन क्षेत्रको काम मात्रै बाँकी छ । करिब करिब यो महिनाभरिमा बाँकी रहेका सबै निर्वाचन क्षेत्रको उजुरी पनि हामीले हेरेर सक्छौँ । केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरूले बनाएर दिएको मापदण्डको आधारमा क्रियाशील सदस्यताको छानबिन गरिरहेका छौँ । ६७४३ वटा वडामध्ये करिब पाँच सय वडामा विवाद थियो । त्यसमध्ये पनि साढे दुई सय वडाको विवाद हेरिसकेका छौँ । सबै काम पूरा भएपछि सभापतिलाई बुझाउँछौँ । 

विवादको जड के हो ?

हामीले पुराना क्रियाशील सदस्य संख्यालाई वृद्धि गरेर दोब्बर बनाउने भनेका थियौँ । तर, जिल्लामा गइसकेपछि कोही वडामा धेरै गएछ, कोही वडामा थोरै । त्यसैले धेरै भएका शतप्रतिशतभन्दा बढी हुन आएका क्रियाशील सदस्यलाई हामीले स्थगित गरेका छौँ । 

वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रीय समितिको सिफारिस भएपछि प्रतिनिधिसभा क्षेत्रीय समितिले नयाँ क्रियाशील सदस्यतालाई टुंग्याउने विधान छ । हाम्रो मापदण्डले चारवटै तहले सिफारिस गरेका क्रियाशील सदस्य मात्रै स्वीकृत गर्ने व्यवस्था गरेका थियौँ । त्यहीअनुसार कुनै तहबाट स्वीकृत हुन बाँकी रहेको भए त्यसलाई चारवटै तहबाट स्वीकृत गराएर इन्ट्री गराएका छौँ । 

अन्य राजनीतिक दलबाट समायोजन भएर आउने साथीहरूको हकमा चाहिँ तल्ला तहबाटै स्वीकार गरिएको हुनुपर्ने जुन हाम्रो व्यवस्था थियो, त्यो व्यवस्था पूरा गरेर आएको÷नआएको हेरेर त्यसलाई अन्तिम रूप दिएका छौँ । तत्कालीन फोरम लोकतान्त्रिक र राप्रपालगायत विभिन्न पार्टीबाट आउनुभएका नेता कार्यकर्ताहरूको विवरण त्यसअनुसार आएको छ कि छैन ? हेरेर हामीले विवादलाई टुंगोमा पुर्‍याउने काम गरेका छौँ । 

बाराका पूर्वसांसदसहित नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् नि ?

उहाँहरूको माग, उजुरी जति परेको छ, ती सबैलाई मापदण्डको आधारमा, हाम्रो विधान, निर्देशिका र पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरूका आधारमा अथवा आपसी छलफल, सहमति र समझदारीका आधारमा मिलाउन प्रयत्न गरिरहेका छौँ । 

क्रियाशील सदस्यताको छानबिनमा भएको ढिलाइकै कारण महाधिवेशन प्रभावित त हुँदैन ? 

छानबिन समितिमा टुंगो लगाउन नसकेका विषय पदाधिकारी र पूर्वपदाधिकारीमाझ पुर्‍याउँछौँ । त्यहाँ पनि टुंगो नलागेमा त्यस्तो सदस्यता आगामी महाधिवेशनका लागि स्थगित गर्ने भन्ने स्पष्ट निर्णय भइसकेकै छ । तर, अहिलेसम्मको अवस्था हेर्दा त्यस्तो स्थगित गर्नैपर्ने संख्या धेरै छैन । देशभरिको अवस्था हेर्दा बढीमा एक सयवटा वडाको स्थगित हुन सक्छ । त्यो भनेको त्यही ३०–४० हजार हो । त्यसकारण क्रियाशील सदस्यताको छानबिन नभएका कारण महाधिवेशन नहुनुपर्ने कुनै सम्भावना छैन । 

कांग्रेसले हरेकचोटि महाधिवेशनको मुखमा मात्रै क्रियाशील सदस्यता थपघट किन गर्छ ?

हामीले महाधिवेशन हुने वर्षबाहेक अरू वर्ष क्रियाशील सदस्यता थप गर्ने भन्दै आएका छौँ । तर, जुन वर्ष महाधिवेशन गर्छौँ, त्यही वर्ष मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने र थपघट हुने गरेको छ । त्यसलाई सच्याउनुपर्नेछ । हामीले १४औँ महाधिवेशनपछाडि क्रियाशील सदस्यता व्यवस्थापन विभाग बनाउनुपर्छ । त्यसलाई क्रियाशील सदस्यताको काम गर्ने अधिकार दिनुपर्छ ।

त्यसलाई नेतृत्व गर्ने राजनीतिक नेतृत्व हुन सक्ला । तर, त्यहाँका कर्मचारीहरूले दैनिक रूपमै कुन वडामा कतिजना क्रियाशील सदस्यता थपिएका छन् ? भन्ने विवरण अद्यावधिक गर्ने काम गर्नुपर्दछ । कञ्चनपुरको कोही मान्छेले ताप्लेजुङमा क्रियाशील सदस्यता भर्न चाहन्छ भने उसले पनि पाउनुपर्छ । ताप्लेजुङमा उसले भरेको क्रियाशील सदस्यताको नामावली कञ्चनपुरको वडामा पुर्‍याउने व्यवस्था गर्नुपर्छ । क्रियाशील सदस्यतालाई खुला राख्नुपर्छ । 

क्रियाशील सदस्य त महाधिवेशनको मुखमा नेतृत्वको स्वार्थबमोजिम नेतृत्व हत्याउन मात्रै थपघट गर्ने गरेकोजस्तो देखिन्छ नि ? 

हामीले यसपटक चार लाख ५१ हजार नयाँ क्रियाशील सदस्य थप गरेका छौँ । यो पहिलेको संख्याभन्दा धेरै हो । १३औँ महाधिवेशनसम्म थप भएकामध्ये चार लाख २० हजारले मात्रै नवीकरण गर्नुभएको छ । यसरी योपटक हाम्रो सदस्यता करिब नौ लाख पुग्छ । त्यसैले नौ लाख सदस्यहरू सबै नेतृत्वमा बसेका मान्छेहरूलाई आफूलाई फाइदा पुग्ने गरी मात्रै बनाएको भन्न त मिल्दैन ।

कसैले गोजीबाट झिकेर कसैलाई नेता बनाउन यति धेरै बनाउन सक्दैन नि । त्यसैले अधिकांश क्रियाशील सदस्यहरू कांग्रेसप्रति आकर्षण भएर नै सदस्य बन्नुभएको छ । कांग्रेसमा आकर्षण पनि बढेको छ । युवाको आकर्षण छ । महिला, आदिवासी जनजाति, मधेसी, दलितलगायत सबै जाति वर्ग क्षेत्रको आकर्षण छ । अहिले १८ देखि ४० वर्षसम्मका युवाहरूको संख्या मात्रै झन्डै ४० प्रतिशतभन्दा बढी छ । यो अघिल्लो महाधिवेशनमा थिएन । त्यसैले यो कुनै नेताले आफूले जित्नका लागि मात्रै भोटर बनाएको हो भन्ने गलत हो ।