कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्ति गरेको भन्दै त्यसलाई सच्याएपछि मात्रै शपथग्रहण गर्ने अडान लिएका छन् । देउवाले राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख नगरी नियुक्ति दिएकाले त्यसलाई संविधानको धारा ७६ (५) बमोजिम उल्लेख गरेर नियुक्ति सच्याएपछि मात्रै शपथ लिने भएका हुन् ।
साँझ ६ बजे हुने भनिएको शपथका लागि देउवा शीतलनिवास पुगिसकेका छन् । पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत पनि शीतलनिवास पुगेका छन् । गठबन्धनका अन्य नेताहरू पनि शीतलनिवास पुगिसकेका छन् । तर, नियुक्ति सच्याएपछि मात्रै शपथ लिने तयारी रहेको स्राेतले बतायो ।
देउवाले आफूले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेस गरेको र त्यही आधारमा सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री नियुक्त गर्न निर्देशन गरेकाले सो उल्लेख गरेर नियुक्तिको व्यवस्था गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीमा देउवासँगै कांग्रेसका तर्फबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाललाई पनि मन्त्रीको शपथ गराउने तयारी छ ।
कांग्रेसका प्रमुख सचेतक खाणले गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । यस्तै, कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला दिने तयारी छ । शर्मालाई अर्थ मन्त्रालय र भुसाललाई ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।