Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार २९ मंगलबार ११:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर–चामे सडकमा सधैँको सास्ती : खरखरे भिरमा दैनिकजसो पहिरो

Read Time : > 1 मिनेट
२०७८ असार २९ मंगलबार ११:४९:००

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बेंसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकहरूले सास्ती व्यहोर्नुपरेको छ । बर्खा लागेसँगै सडकको विभिन्न ठाउँमा पहिरो चल्दा दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । सडकको धेरै ठाउँमा पहिरो खस्नुको साथै केही ठाउँमा भासिएको छ । सवारीसाधान र पैदल यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । खुदीकी सुशीला पौडेल डराई–डराई जोखिमपूर्ण रूपमा पहिरोबाटै वारपार गर्नुपरेको बताउँछिन् । 

उनी भन्छिन्, ‘पानी परेपछि हिँड्नै डर हुन्छ, पहिरो खस्छ कि भन्दै कतिन्जेल डराएर यात्रा गर्नुपर्ने हो ।’ बेंसीसहर नगरपालिका– ६ चण्डीस्थानकोे खरखरे भिरमा पहिरो खस्दा दैनिकजसो सडक अवरुद्ध हुने उनी बताँउछिन् । ‘सडक बनेको २५ वर्ष भयो कहिल्यै राम्रोसँग हिँड्न पाइएन,’ खुदीका वीरेन्द्र भण्डारीले भने, ‘कालोपत्रे भइसक्नुपर्ने सडक अझै उस्तै छ । सवारीसाधनमा यात्रा गर्न सधैँ डराउनुपर्छ ।’ 

उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो पनि यही हो । मनाङ जानलाई अर्को विकल्प छैन । सडक विभागमातहतको उक्त सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ ।मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बेंसीसहर–चामे सडकमा दैनिकजसो बाढीपहिरो र बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । 

पानी परेसँगै बेंसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकाको अर्खलेबेंसी, घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो चलेपछि उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सास्ती हुने गर्दछ । वर्षायाम तथा हिउँदमा समेत चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानी वरपर झरिरहने पहिरोले बेसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ ।

मर्स्याङ्दी गाउँपालिका– ४ स्याँगेका नरबहादुर गुरुङले वर्षा लागेसँगै बाढीपहिरो खसेको दिनमा डोजरले बाटो बनाए पनि पुनः भोलिपल्ट पहिरो जाने गरेको र बाटोमा हिँड्न नसकिएको बताए । सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दूरीमा रहेको उत्तिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने मर्स्याङ्दी गाउँपालिका सिम्पानीका जीवन थापा बताउँछन् ।

उनी भन्छन्, ‘पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैँ सास्ती खेप्नुपरेको हो । उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो पनि यही हो । मनाङ जानलाई अर्को विकल्प छैन । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बेंसीसहर–चामे सडकमा बाढीपहिराले सडक अवरुद्ध हुँदा बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । उनले भने, ‘बाटोमा पहिरो गएको खबर आएसँगै डिभिजन सडक कार्यालय दमौलीको सहयोगमा बाटो खुलाउँदै आएका छौँ ।’

अविरल वर्षासँगैको बाढीले मनाङ सडक छियाछिया हुँदा असार १ देखि लमजुङबाट मनाङमा सवारीसाधन जान सकेका छैनन् । नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्ष अघि ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो । 

लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधानलाई ६ घन्टा लाग्छ । यात्रु मात्र होइन यात्रु बोक्ने सवारीचालकसमेत सडकको हालत देखर चिन्तित छन् । जोखिमपूर्ण यात्रा गराउन आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सोमबहादुर मगराती बताउँछन् ।

सडक विभागले आर्थिक वर्ष ०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि ६ वर्षअघि मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।