१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी लन्डन
२०७८ असार २७ आइतबार १२:०१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोकप फाइनलको एउटै टिकटको मूल्य ५४ हजार पाउन्ड !

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७८ असार २७ आइतबार १२:०१:००

वेम्बली रंगशालामा आइतबार मध्यराति इंग्ल्यान्ड र इटालीबीच युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुँदै छ । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलोपटक मेजर फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । इटाली पनि सन् १९६८ पछि दोस्रोपटक युरोकप ट्रफी उचाल्ने तयारीमा छ । जुन टोलीले उपाधि जिते पनि नयाँ इतिहास रच्नेछन् । 

इटालीको तुलनामा इंग्ल्यान्डका समर्थक पागलझैँ देखिन्छन् । ५५ वर्षपछि उपाधि जित्ने अभियानमा रहेको इंग्ल्यान्डको टोलीलाई रंगशालामै समर्थन गर्न उनीहरू जुनसुकै मूल्य चुकाउन लागिपरेका छन् । यसको एउटा उदाहरण हो, एकजना इंग्लिस समर्थकले फाइनल खेलको एउटा टिकट ५४ हजार पाउन्ड तिरेर किनेका छन् । यद्यपि, वेम्बली रंगशालामा हुने फाइनल खेलका सबै टिकट औपचारिक रूपमा गत साता नै बिक्री भइसकेको आयोजक युइएफएले जनाएको थियो । 

अघिल्लो साता नै टिकट ‘सोल्ड आउट’ भइसक्दा पनि इंग्लिस समर्थकहरू युइएफएको आधिकारिक वेबसाइटमा टिकट खोज्न बारम्बार चेक गरिरहेका छन् । 

फाइनल खेलको टिकट ‘सोल्ड आउट’ भए पनि ती दर्शकले ‘ब्ल्याक’मा ५४ हजार पाउन्ड खर्चेर वेम्बली रंगशालामा सिट सुरक्षित गरेका हुन् । वेम्बली रंगशालामै डेनमार्कमाथि २–१ को जित निकालेपछि इंग्लिस समर्थक फाइनल पनि हेर्न निकै उत्साहित बनेका छन् । अघिल्लो साता नै टिकट ‘सोल्ड आउट’ भइसक्दा पनि इंग्लिस समर्थकहरू युइएफएको आधिकारिक वेबसाइटमा टिकट खोज्न बारम्बार चेक गरिरहेका छन् । अक्सर मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलअघि नै टिकट ‘सोल्ड आउट’ भइसक्छ । 

यस्तो प्रतियोगिताको एउटा नराम्रो पक्ष भनेको ‘ब्ल्याक’मा टिकट बिक्री हुनु हो । धेरैजसो टिकट किनेका व्यक्तिले ‘ब्ल्याक’मा बेच्ने गर्छन् । जो खेलप्रति पागलजस्तै हुन्छन्, त्यस्ता समर्थकले टिकटका लागि जति मूल्य पनि तिर्ने गरेको उदाहरण छन् । यस्तै, बेलायती मिडियाहरूले टिकोम्बो वेबसाइटमा एक समर्थकले ५४ हजार पाउन्डमा फाइनलको टिकट किनेको खुलाएका हुन् । यही वेबसाइटमा एक सय ८० वटा टिकट बिक्रीमा समेत राखिएको छ । टिकटको सुरु मूल्य नै ४३ हजार पाउन्ड छ । बेलायतकै एक अर्को वेबसाइटले लाइभ फुटबल टिकट नामबाट केही दिनअघि प्रतिटिकट ११ हजार पाउन्डमा बिक्री गरेको थियो । यसैगरी, अर्का एक समर्थकले पनि ३२ हजार पाउन्डमा फाइनलको टिकट लिएको उल्लेख छ । 

युइएफएले फाइनलको टिकट मूल्य तीन हजारदेखि पाँच हजार पाउन्ड तोकेको थियो । युइएफएले पनि युरोकप फाइनलको टिकट ‘ब्ल्याक’मा बिक्री भइरहेको जानकारी पाएको जनाएको छ । यसबारे अनुसन्धान थालेको उसको भनाइ छ । हाई प्रोफाइलहरूले हजारौँ पाउन्डमा टिकट बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । युइएफएले चर्को मूल्यमा बिक्री भएका टिकट ‘फेक’ हुन सक्ने दाबी पनि गरेको छ । नक्कली टिकट लिएर वेम्बली रंशगालामा प्रवेश नगर्न युइएफएले आग्रह गरेको छ । यद्यपि, ब्ल्याक मार्केटबाट टिकट पाए पनि वेम्बली रंगशालाभित्र प्रवेश गर्न भने सहज छैन । रंगशालामा सक्कली र नक्कली टिकट पहिचान गर्न मेसिन राखिएको छ । त्यहाँ स्क्यान रिपोर्टअनुसार मात्रै समर्थक रंगशालाभित्र प्रवेश गर्न पाउँछन् ।