Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अविरल वर्षापछि शनिबार अनामनगरस्थित मदन भण्डारी कलेजबाट मध्य बानेश्वर जाने सडकमा डुबानमा परको स्कोर्पियो । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७८ असार २७ आइतबार ०८:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारी वर्षाले काठमाडौंको  अनामनगर आसपासका क्षेत्र डुबानमा

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ असार २७ आइतबार ०८:२५:००

बागमती नदी तटमा रहेका सुकुम्वासी बस्ती उच्च जोखिममा

पछिल्लो २४ घन्टायता भएको अविरल वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार आसपासको क्षेत्र जलमग्न बन्न पुगे । विशेष गरी अनामनगर, न्युप्लाजा, घट्टेकुलो, बिजुलीबजार, बबरमहल आसपासका क्षेत्र जलमग्न बनेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंमा ६९.४ मिलिमिटर वर्षा भएको छ । अनामनगर क्षेत्रस्थित धोवीखोलामा आएको बाढीका कारण डुबानमा परेको छ । मदन भण्डारी कलेज आसपासका क्षेत्र शनिबार दिनभर जलमग्न बनेको थियो । धोवीखोलामा बाढी आएको र पर्याप्त निकास हुन नसक्दा बाढी सडक तथा सर्वसाधारणको घरभित्र पसेको थियो । त्यस्तै, घट्टेकुलो र न्युप्लाजा आसपासका क्षेत्र भने ढलको निकास सहज नहुँदा जलमग्न बनेका थिए । सडकमा पानी भरिएपछि सवारीसाधनको आवागमनसमेत प्रभावित बन्न पुगेको थियो । 

सडकपेटीमा हिँड्ने सर्वसाधारण सडक डुबानका कारण समस्यामा परेका थिए । घट्टेकुलो आसपासका क्षेत्रको कतिपय घरभित्रै ढल पसेको थियो । सडक ढलले भरिएपछि सवारीसाधन आवागमन मात्र नभई घरबाट बाहिर निस्कनसमेत सर्वसाधारणलाई समस्या परेको थियो । लगातारको वर्षा र त्यसबाट आएको बाढीका कारण बागमती नदीको बहाव बढेको छ । नदीतटमा बसोवास गर्दै आएको सुकुम्बासी बस्ती नदीमा आएको बहावका कारण जोखिममा परेका छन् । विशेष गरी थापाथली, सिनामंगल र कालीमाटी हुँदै बग्ने बागमती नदीकिनारमा बसोवास गर्ने सुकुम्बासी बस्ती उच्च जोखिममा छन् । 

भक्तपुर हुँदै बग्ने हनुमन्ते खोलाको बहाव पनि बढेको छ । नदीमा आएको बहावका कारण भक्तपुरस्थित राधेराधे आसपासका क्षेत्रमा बाढी पस्न सुरु गरेको छ । नदीमा आएको बाढीले गत वर्ष पनि उक्त क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । लगातारको वर्षाका कारण काठमाडौं–१४ कलंकीस्थित शान्तिटोलमा पहिरो गएको छ । पहिरोका कारण शान्तिटोलस्थित गजुरमुखी गेस्टहाउस पहिरोमा परी भत्किएको छ । पहिरोले पुर्‍याएको क्षतिको विवरण भने आउन सकेको छैन । 

आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

२४ घन्टामा तीनको मृत्यु, तीनजना बेपत्ता
चौबीस घन्टायता भएको वर्षाका कारण देशभर तीनको मृत्यु र दुईजना घाइते भएका छन् । तीनजना बेपत्ता भएका छन् । घटनामा परी दुई घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार गएको लगातारको वर्षाका कारण देशभर १३ स्थानमा बाढी तथा पहिरो गएको छ । तथ्यांकअनुसार तनहुँको म्यादे गाउँपालिकास्थित घुम्ती, रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित पिप्रा, धादिङको त्रिपुरासुन्दरी–१ स्थित अवउचा, चितवनको माडी नगरपालिका–६ स्थित रिउ खोलामा बाढी आएको छ । बाग्लुङ ताराखोला–३ स्थित घुस्मेली, चितवन भरतपुर–२९ नारायणगढ मुग्लिन सडकखण्ड, बाजुरा बडिमालिका नपा– ४ स्थित वलेन र कासुगढमा पहिरो गएको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले गएको चौबीस घन्टामा वर्षाका कारण भएको प्राकृतिक विपद्ले तीनजनाले ज्यान गुमाएको र तीनजना बेपत्ता भएको बताए । ‘हामीकहाँ मनसुन सुरु भएको करिब महिना दिन बित्यो । यस क्रममा यहाँको जमिन गलिसकेको छ । सानो वर्षाले पनि त्यसलाई बगाउन सक्छ । वर्षा अझै बढ्न सक्ने अनुमान छ । त्यसो हुँदा पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ । तराईमा भने बाढी र डुबानको जोखिम छ । त्यसैले नदीआसपासका क्षेत्रका स्थानीयलाई अलर्ट गराएका छौँ,’ उनले भने ।

वैशाखयता प्राकृतिक विपद्का कारण एक सय ३२ को मृत्यु 
प्राधिकरणका अनुसार वैशाखयता प्राकृतिक विपद्का कारण मुलुकभर एक सय ३२ को ज्यान गएको छ । ३६ अझै बेपत्ता छन् । यस अवधिमा पहिरोबाट २८, बाढी २७, वर्षा ६, चट्याङ ३४, आगलागी ११, सर्पदंश आठ, डढेलो तीन, हावाहुरीबाट एक र जनावर आक्रमणबाट १४ जनाको मृत्यु भएको छ । विपद्ले सर्वसाधारणको ५४ करोड ५८ लाख रुपैयाँबराबरको धनमाल क्षति गराएको प्राधिकरणको अनुमान छ । यस अवधिमा देशभर एक सय २६ स्थानमा पहिरो र ७२ स्थानमा बाढी आएको छ ।

देशभर भएका एक हजार एक सय २४ घटनामध्ये सबैभन्दा धेरै पहिरो र बाढीका कारण धनजनको क्षति भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा चट्याङ र आगलागीका कारण धेरैको ज्यान गएको देखिन्छ । ‘वैशाखयताको तथ्यांक हेर्दा सबैभन्दा धेरै धनजनको क्षति बाढी र पहिरोका कारण भएका छन् । आगलागी र चट्याङका कारण पनि धेरैले ज्यान गुमाएका छन् । बाढीपहिरोको जोखिम अझै टरेको छैन । त्यसैले क्षतिको विवरण अझ बढ्न सक्ने देखिन्छ,’ कार्यकारी अधिकृत पोखरेलले भने ।