Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २४ बिहीबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 ५८ थान भेन्टिलेटरसहित इजरायलबाट पठाएको २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २४ बिहीबार १३:०६:००

इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा इजरायलबाट नेपाल पठाइएको कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ । 

स्वास्थ्य सामग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टर्ड फ्लाइट’मार्फत ती सामग्री बिहीबार बिहान ११:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकाे दूतावासले जानकारी दिएको छ । 

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरू तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली आइपुगेको र उनीहरूबाट  ती सामग्री हस्तान्तरण भएको  दूतावासले जानकारी दिएको छ । 

‘नेपाल आएका स्वास्थ्य सामग्रीहरू इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरू, व्यावसायिक क्षेत्र, इजरायलीहरू, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीहरूबाट सहयोगस्वरूप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैयाँ जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करिब १८ टन छ ।’ 

राजदूत शाक्यका अनुसार सामग्रीहरूमा ५८ थान भेन्टिलेटर, एक सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसियूसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् ।

यसअघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलका तर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोगहरू जुटाउन उल्लेख्य भूमिका खेलेकी थिइन् ।  ‘कोभिड– १९ सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिबारे नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमान्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरूसमेत पठाएको राजदूत डा. शाक्यले बताइन् ।