मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार २३ बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षीको असहमतिबीच बागमती प्रदेश सभा बैठक आह्वान

Read Time : < 1 मिनेट
२०७८ असार २३ बुधबार १६:१५:००

प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी कांग्रेसले लगातार अवरुद्ध गर्दै असहमति राखिरहेको अवस्थामा बागमती प्रदेश सभा बैठक पुनः आह्वान गरिएको छ । आगामी आर्थिक वर्ष ०७८\७९ को बजेटको विरोधसँगै लगातार बैठक अवरोध गर्दै आएको माओवादी र कांग्रेसको असहमतिबीच २६ असारमा बैठक आह्वान गरिएको छ । 

१ असारमा बजेट पेस भएपछि १७ र १८ असारमा बजेटमाथिको छलफलका क्रममा १९ असारबाट विपक्षी दलहरूले लगातार बैठक अवरोध गर्दै आएका छन् । पछिल्लोपटक २१ असारमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विपक्षी र सरकारबीच सहमतिका प्रयास भइरहे पनि आफ्नो मागबाट पछि नहट्ने माओवादी केन्द्र र कांग्रेसले अडान राखेका छन् । निरन्तर बैठक अवरोध र विपक्षीको माग नटुंगिएको अवस्थामा २६ असारको दिउँसो ३ बजे बोलाइएको बैठक पनि सुचारु हुन नदिने रणनीतिमा विपक्षी अघि बढेका छन् । ‘हाम्रा माग सम्बोधन नभएसम्म सदनबाट बजेट पास हुन दिन्नौँ,’ माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले भने । 

विपत् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपूरक बजेट र योजनाको बाँडफाँड न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैँ आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् । 

१५ असारको दिउँसो १ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । ‘उक्त बैठकबाट सदनलाई कसरी सञ्चालन गर्ने भन्ने टुंगो लगाउनेछ,’ प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले भने ।