१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार २३ बुधबार १२:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा तीन सातादेखि विद्युत् सेवा अवरुद्ध

Read Time : > 1 मिनेट
२०७८ असार २३ बुधबार १२:२३:००

हिमाली जिल्ला मनाङमा तीन सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै असार १ गते आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा रहेका लघुजलविद्युत् आयोजना बगाएपछि मनाङको अधिकांश क्षेत्र विद्युतविहीन बनेको हो । 

मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नासोँ गाउँपालिका– १, तालगाउँबाहेक अन्यत्र सबै ठाउँमा विद्युत् अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 

प्रजिअ लामिछानेका अनुसार मनाङको सदरमुकाम चामेसहित नार्पाभूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अधिकांश गाउँमा विद्युत् अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ठाउँमा विद्युत् अवरुद्ध भएसँगै मनाङको जनजीवन कष्टकर हुँदै गएको छ । 

बाढीपहिरोले मनाङमा ११ वटा लघुजलविद्युतमा क्षति पुर्‍याएकाे  छ । लघुजलविद्युतकै भरमा रहँदै आएको मनाङमा केही महिनाअघि मात्रै केन्द्रीय प्रसारणलाइन पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमार्फत सदरमुकाम चामेसम्म विद्युत् सेवा उपलब्ध गराए पनि बाढी र पहिरोले संरचनामा क्षति पुर्‍याउँदा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताए । 

उनका अनुसार बाढीपहिरोले ३३ केभी लाइनमा रहेका पोलहरू र ११ केभी लाइनमा रहेका पोल र तारहरूमा क्षति पुर्‍याएकाले करिब डेढ महिनापछि मात्र मर्मत सकिनेछ । उनले भने, ‘बाढीले सडक बगाएपछि सामान ढुवानी गर्न समस्या छ भने अर्कोतिर केन्द्रमा प्राविधिक जनशक्ति नहुँदा थप समस्या भएको छ । मर्स्याङ्दी नदी र अन्य सहायक खोलाहरूमा आएको बाढीका कारण सदरमुकाम चामेमा रहेको लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि चामे बजारसहित आसपासका सबै क्षेत्रमा विद्युत् अवरोध भएको छ ।

त्यस्तै, नार्पाभूमि गाउँपालिकाअन्तर्गत नारगाउँमा रहेको लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि नार र फु गाउँमा पनि विद्युत् अवरुद्ध भएको छ । चामे गाउँपालिकाअन्तर्गतकैै स्यार्कु खोला लघुजलविद्युत् आयोजना पनि बाढीले बगाएपछि तिमाङ, दानाक्युलगायतका गाउँ विद्युतविहीन बनेका छन् ।

नासोँ गाउँपालिकाअन्तर्गत खोत्रो खोलामा रहेको अर्को लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याउँदा धारापानीलगायतका गाउँमा विद्युत् अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध भएसँगै गण्डकी प्रदेश सरकारले मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार जडान गरेको छ । सोलार सिस्टमको व्यवस्था गरे पनि मनाङको मौसम सफा नहुँदा निकै समस्या भएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।