मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २२ मंगलबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिमा सुनचाँदी रत्न तथा आभूषण महासंघको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २२ मंगलबार ०७:५९:००

आर्थिक वर्ष ०७८/७९ का लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न सुझाब दिएको छ । महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्ने मौद्रिक नीति आउनुपर्नेमा जोड दिँदै सुझाब दिएको हो ।

सुझाबमा उद्योग, व्यापार र व्यवसाय क्षेत्रलाई पुनर्जीवित र पुनरुत्थान गर्न आवश्यक पुँजीको व्यवस्था गरी कर्जाको पुनर्तालिका, पुनरुत्थान कर्जाको व्यवस्था र ब्याजमा छुट तथा सरलीकरणजस्ता व्यवस्था हुनुपर्ने जनाइएको छ । देशमा उद्योग, व्यापार, व्यवसायमध्ये गहना व्यवसायले पनि बृहत् आकार लिइसकेको महासंघले जनाएको छ ।

यो क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी भएको भन्दै महासंघले हजारौँ व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा लाखौँले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको जनाएको छ । वार्षिक सरदर ८ अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गरिरहेको महासंघले जनाएको छ । 

सुनचाँदी व्यवसायलाई उच्च जोखिमको श्रेणीमा राखेकाले गहना व्यवसायीहरूले वाणिज्य बैंकमा खाता खोल्दा झन्झटिलो प्रक्रिया पूरा गर्नुपरिरहेको भन्दै यस व्यवसायलाई उच्च जोखिम वर्गबाट हटाउन सुझाब दिएको जनाएको छ । त्यस्तै, आभूषण व्यवसायलाई पनि पुनर्कर्जाजस्ता सुविधा दिनुपर्ने, वाणिज्य बैंकहरूले खर्च गर्ने व्यावसायिक सामाजिक उत्तरदायित्वको १० प्रतिशत रकम युवा तथा महिला गहना व्यवसायीको सीप विकास तथा स्वरोजगारका लागि अनुदान दिने व्यवस्था गर्न सुझाब दिएको महासंघले जनाएको छ । 

त्यस्तै, उपभोक्ताको माग बढिरहँदा पनि ०६७ सालमा सुनमा लगाइएको कोटा प्रणाली खारेज गर्दै वास्तविका मागको सर्वेक्षण गरी आयात कोटा बढाउनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै, सुन पैठारीलाई ओपन जनरल लाइसेन्सअन्तर्गत ल्याउने वा कोटा बढाई निजी क्षेत्रलाई पनि पैठारी अनुमति दिन माग गरिएको छ । सुन आयातमा नियन्त्रण गर्दै निश्चित निकायलाई मात्र अनुमति दिने काम बन्द गर्न सुझाब दिएको महासंघले जनाएको छ । 

झिटिगुन्टाअन्तर्गत आधा किलोसम्म सुन भन्सार तिरेर ल्याउन पाउने र विदेशमा बनेको गहना ल्याएमा २५ ग्रामभन्दा बढीमा भन्सार लिने व्यवस्था गर्न माग गरिएको छ । देशभरका साना व्यवसायीले पनि सहजै सुन खरिद गर्न पाउने व्यवस्था गर्न सुझाब दिएको महासंघले जनाएको छ ।

एकै दिनमा बैंकपिच्छे सुनको मूल्य फरक हुने अवस्था अन्त्य गर्दै एउटै मूल्य हुनुपर्ने तथा होल्डिङ र सर्भिस चार्ज तिर्नुपर्ने व्यवस्था बन्द गर्न माग गरिएको छ । राष्ट्र बैंकले देशका विभिन्न ८ स्थान तथा आवश्यकता परेमा सोभन्दा पनि बढी स्थानबाट वाणिज्य बैंकहरूले सुन बिक्री गर्नुपर्ने भनी कार्यविधिमा नै स्पष्ट उल्लेख गरे तापनि बैंकहरूले काठमाडौंबाट मात्र बिक्री–वितरण गरिरहेको भन्दै महासंघले काठमाडौंबाहिर बिक्री गर्ने सुनमा अपारदर्शी रूपमा बढी मूल्य तोक्न बन्द गर्ने व्यवस्था गर्न सुझाब दिएको जनाएको छ ।