मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ असार २१ सोमबार ०६:५०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संक्रमणदर घटेन, निषेधाज्ञा थप खुकुलो

अस्पतालमा समेत बढ्यो बिरामीको संख्या

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ असार २१ सोमबार ०६:५०:००

सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लग्दा कोरोना संक्रमणदर भने घट्न सकेको छैन । संक्रमणदर उच्च भएकै अवस्थामा बजारमा भिडभाड बढ्दा फेरि संक्रमण फैलन सक्ने चिकित्सकको चिन्ता छ । आगामी मंगलबारदेखि उपत्यकाका निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाइएको छ भने सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । उपत्यकामा क्रमशः निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको अवस्था स्थिर छ । संक्रमणदर २० प्रतिशतबाट घट्न सकेको छैन । 

उपत्यकालगायत विभिन्न जिल्लामा ८ असारबाट निषेधाज्ञा खुकुलो भएको थियो । पछिल्लो एक साताको तथ्यांकमा गत बुधबार र बिहीबार संक्रमितको संख्या बढ्नुका साथै संक्रमणदर २५ प्रतिशत पुगेको थियो । जुन अघिल्लो साता २० प्रतिशत हाराहारी थियो । शनिबार र आइतबार संक्रमण केही घटे पनि संक्रमणदर उस्तै छ । शनिबार दुई हजार तीन सय २८ मा संक्रमण पुष्टि हुँदा संक्रमणदर २२.९७ थियो भने आइतबार एक हजार ६ सय तीनजनामा संक्रमण पुष्टि हुँदा संक्रमणदर १९.७३ प्रतिशत छ । 

उपत्यकामा ८ असारपछि निषेधाज्ञा खुकुलो बनाउँदै निजी सवारी र पसल सञ्चालन गर्न दिइएको थियो । सोही दिनदेखि सरकारी कार्यालयमा सेवा पनि सुचारु भएको थियो । त्यस्तै, १४ असारदेखि २५ सिटभन्दा ठूला बससमेत जोर–बिजोर प्रणालीमा सञ्चालन हुन थालेका छन् । 

बजार र सार्वजनिक यातायातसमेत खुलेपछि सबैतिर भिडभाड बढेको, तर स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिइएको छैन । मालपोत, यातायातजस्ता सरकारी कार्यालयमा समेत सेवाग्राहीको भिड छ । यस्तै, भिडभाडका कारण संक्रमण बढ्न थालेको आशंका गरिएको छ । उपत्यकालगायत जिल्लामा संक्रमण स्थिर देखिएको, तर प्रदेश १ र गण्डकी प्रदेशका जिल्लामा पछिल्लो एक सातामा संक्रमण बढेको छ । प्रदेश १ का झापा, मोरङ र सुनसरीमा तथा बागमती र गण्डकीका पहाडी जिल्लामा संक्रमण बढेको छ । 

पछिल्लो समय संक्रमण बढ्नुमा सर्वसाधारणकै लापरबाही प्रमुख कारण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डे बताउँछन् । ‘निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढेको छ, कतिपयले मास्कसमेत लगाएको देखिँदैन,’ उनी भन्छन्, ‘पछिल्लो समय संक्रमण बढ्नुमा सर्वसाधारणकै गल्ती छ, धेरैले भ्याक्सिन लगाएको छैन, भाइरसहरू परिवर्तन भइरहेका छन्, त्यसकारण फेरि जोखिमपूर्ण अवस्था नआउला भन्न सकिन्न ।’ 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा दैनिक नयाँ संक्रमितको संख्या पाँच सयभन्दा कम भएकाले केही खुुकुलो बनाइएको बताए । ‘सार्वजनिक यातायातमा जोर–बिजोर गर्दाभन्दा पूरै खोल्दा भिडभाड कम हुन्छ भन्ने राय आयो,’ उनले भने, ‘संक्रमण फेरि बढ्न थाल्यो भने कडाइ गर्छाैँ ।’ 

निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइए पनि कतिपय क्षेत्रमा भने निषेध कायमै छ । होटेल तथा रेस्टुरेन्टलाई टेक अवे सेवा मात्र दिन खुला गरिएको छ । पसलहरूलाई तोकिएको समय हटाइएको छ । रेस्टुरेन्टमा मास्क खोल्नुपर्ने भएकाले संक्रमण बढ्ने जोखिमका कारण बन्दै राखिएको प्रजिअ पराजुलीको भनाइ छ । सार्वजनिक यातायातसमेत पूर्ण रूपमा सञ्चालन हुँदा सभा, सम्मेलन, क्लब, फिल्महल, पार्लर, सैलुन, जिम, फुटसल, डान्सबारजस्ता क्षेत्र भने अझै बन्द नै राखिएको छ । 

लामो दूरीको यातायात पनि सञ्चालनको तयारी 
सरकारले लामो दूरीका यातायात पनि सञ्चालन गर्न दिने तयारी गरेको छ । सरकारी सेवाहरू खुलिरहेको अवस्थामा लामो दूरीका यातायात रोकिँदा सर्वसाधारण समस्यामा परेको गुनासो आएपछि खुला गर्न लागिएको हो । आइतबार यस विषयमा प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छलफल भएको थियो ।

फेरि जोखिमपूर्ण अवस्था नआउला भन्न सकिन्न
डा. वासुदेव पाण्डे
पूर्वप्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढेको छ, कतिपयले मास्कसमेत लगाएको देखिँदैन । पछिल्लो समय संक्रमण बढ्नुमा सर्वसाधारणकै गल्ती छ, धेरैले भ्याक्सिन लगाएको छैन, भाइरसहरू परिवर्तन भइरहेका छन्, त्यसकारण फेरि जोखिमपूर्ण अवस्था नआउला भन्न सकिन्न । 

यस विषयमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल भइसकेको छ । मन्त्रिपरिषद्बाटै यस विषयमा केही दिनमै निर्णय हुने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ । उपत्यकामा परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भइसकेको छ । परीक्षा दिने विद्यार्थी उपत्यकाबाहिर गएकाले उनीहरूको समस्यासमेत ध्यानमा राखी लामो दूरीका यातायात सञ्चालन गर्न लागिएको हो ।

अस्पतालमा समेत बढ्यो बिरामीको संख्या 
गम्भीर बिरामी र अस्पतालमा भर्ना भएका बिरामीको संख्या घटे पनि अस्पतालमा भर्ना भएका बिरामीको संख्या फेरि बढ्न थालेको छ । १२ असारमा संस्थागत आइसोलेसनमा रहेको संख्या दुई हजार आठ सय २५ थियो । २० असारमा दुई हजार नौ सय ५१ पुगेको छ । 

यद्यपि, आइसियू र भेन्टिलेटरमा उपचार गराउने गम्भीर बिरामीको संख्या घटेको छ । १२ असारमा आइसियूमा सात सय ३४ र भेन्टिलेटरमा दुई सय २२ जना रहेकोमा २० असारमा आइसियूमा ६ सय आठजना तथा भेन्टिलेटरमा एक सय ८१ जना उपचाररत छन् । नयाँ संक्रमितको संख्या बढे पनि समग्रमा सक्रिय संक्रमितको संख्या भने घट्दो क्रममै छ ।

१२ असारमा सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेकोमा २० असारमा २६ हजार एक सय ७९ मा झरेको छ । 
संक्रमण उच्च बिन्दुमा रहेको वेला सक्रिय संक्रमितको संख्या एक लाख १७ हजारसम्म पुगेको थियो । पछिल्लो एक सातामा मृत्यु हुनेको संख्या औसतमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १४ असारमा ४२, १५ मा २०, १६ मा ४१, १७ मा ३३, १८ मा ३४, १९ मा १९ तथा २० गते २७ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

पछिल्लो एक साताको कोरोना संक्रमणको अवस्था 
    मिति         परीक्षण संख्या     संक्रमण पुष्टि    संक्रमणदर (प्रतिशत)
१४ असार        ११,६४०             २,४४४           २०.९९
१५ असार        ११,७४८             २,६३६           २२.४३
१६ असार        ११,५६८              २,८९२          २५.००
१७ असार       १०,९८५               २,७६०         २५.१२
१८ असार      १०,५९६                 २,२९९        २२.०२
१९ असार      १०,१३३                  २,३२८       २२.९७
२० असार      ८,१३२                    १,६०३        १९.७१