मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार २० आइतबार १६:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गल्छी–रसुवागढी सडक : पहिरो हटाउन पाँच स्थानमा राखियो उपकरण

Read Time : > 1 मिनेट
२०७८ असार २० आइतबार १६:५५:००

गल्छीदेखि रसुवागढीसम्मको अवरुद्ध सडक खुलाउन उपकरणहरू तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय नुवाकोट र गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले गल्छीदेखि रसुवागढीसम्मको अवरुद्ध सडक सञ्चालनमा ल्याउन गल्छीदेखि रसुवागढीसम्मको विभिन्न पाँच स्थानमा उपकरणहरू तयारी अवस्थामा राखेको हो । 

वर्षायाममा दैनिजसो पहिरो गई सडक अवरुद्ध बन्न थालेसँगै तत्काल सडक सुचारु गराउन गल्छीदेखि रसुवागढीसम्मको विभिन्न पाँच स्थानमा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय नुवाकोट तथा गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । 

गल्छीदेखि रसुवागढीसम्मको ८२ मिलोमिटर सडकका पाँच स्थानमा सडक डिभिजन कार्यालय र आयोजनाको गरी दुईवटा एक्स्काभेटर, तीनवटा लोडर, एउटा टेलर र चारवटा टिपर राखिएको छ भने सडक मर्मत तथा स्तरोन्नतिका लागि जिम्मेवार ठेकेदार कम्पनीका एक्स्काभेटर, लोडर, टिपरलगायतका उपकरण पनि तयारी अवस्थामा राखिएको भण्डारीले बताए । 
गल्छी–मैलुङ सडकखण्डमा सडक मर्मत तथा स्तरोन्नतिका लागि जिम्मेवारी लिएका ठेकेदार कम्पनीका उपकरण तैनाथ गरिएको छ । मैलुङ–स्याफ्रु सडकखण्डमा वर्षातका कारण उच्च जोखिम रहेकाले बन्द रहेको छ । अत्यावश्यक परेमा सोही सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा लिएको ठेकेदारका उपकरण तयारी अवस्थामा रहेको छ । स्याफ्रुदेखि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसम्मको सडकखण्डमा एक्स्काभेटर एउटा, लोडर एउटा तयारी अवस्थामा राखिएको छ । थप अन्य उपकरण आवश्यक परेमा भाडामा लिइनेसमेत बताइएको छ । 

 बेत्रावतीदेखि धुन्चे–स्याफ्रुबेंसी सडकखण्डको मूलखर्कमा एउटा एक्स्काभेटर, धुन्चेमा एउटा लोडर, एउटा टेलर र दुईवटा टिपर तयारी अवस्थामा राखिएको छ । त्यसैगरी, नुवाकोटको गुर्जे–छहरे–गँगटे सडकखण्डमा लोडर एउटा र टिपर एउटा तयारी अवस्थामा राखिएको छ । 

अवरुद्ध सडक स्ञ्चालनमा ल्याउन जिल्ला प्रहरी कार्यालय रसुवालाई आवश्यक उपकरणहरूसमेत प्रदान गरिएको बताइएको छ । आवश्यकता र औचित्यताका आधारमा उपकरणहरू थपिँदै जानेसमेत भण्डारीले बताए । ‘वर्षायाममा राष्ट्रिय राजमार्गमा पहिरो गएर वा अन्य कारणबाट सडक अवरुद्ध सडक खुलाउन मन्त्रालय एवं सडक विभागले निर्देशन गरेको हुन्छ, उपलब्ध भएसम्म साधन–स्रोत पनि व्यवस्था गरेको हुन्छ, विगत वर्षहरूमा मनसुन असार दोस्रो वा तेस्रो सातातिर मात्र सक्रिय हुने गर्दथ्यो, तर यो वर्ष जेठको अन्तिम सातादेखि नै सक्रिय भयो, देशमा धनजनको क्षति हुन सुरु भइसकेको छ,’ उनले भने, ‘गल्छी–रसुवागढी सडक, पासाङल्हामु मार्ग तथा गुर्जे–छहरे आदि सडक पनि अछुतो रहन सकेन, वर्षा सुरु भएको कारण सडक सुचारु गर्न मेसिन, औजार उपलब्ध हुन समय लाग्यो, सो सडक खुलाउन योजना निर्माण गरेका छौँ ।’ 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक दैनिकजसो अवरुद्ध बन्ने गरेको छ । अविरल वर्षाका कारण ढुंगा खस्ने तथा पहिरो जाँदा नाका जोड्ने स्याउबारीदेखि रसुवागढीसम्मको सडक अवरुद्ध हुने गरेको छ । 

गल्छीदेखि रसुवागढीसम्मको सडक राष्ट्रिय गौरवो सडक आयोजनामा पर्दछ । वर्षायाम सुरु भएसँगै गल्छीस्थित महेश खोला, बेत्रावतीस्थित तिरतिरे भिर, पहिरेबेंसी, मैलुङदेखि स्याफ्रुबेंसी सडक, स्याउबारी, मूलखर्क, ठाडे, त्रिशूली खोला, ठूलो भार्खु, सानुभार्खु, बाह्रघुम्ती, चिलिमे जलविद्युत् कम्पनीको छेउ, लिङलिङ, कुलुङखोला, तातोपानी, रसुवागढी पहिरोको उच्च जोखिम रहेको छ । यी स्थानहरूमा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । यी क्षेत्रमा ठूला–ठूला ढुंगा खस्ने र पहिरो गई सडक अवरुद्ध हुने गरेको छ । 

सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालू आर्थिक वर्षमा रसुवाको बेत्रावतीदेखि कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेंसी सडक मर्मत तथा स्तरोन्नतिका लागि २० करोड विनियोजन भएको छ । सडक मर्मत तथा स्तरोन्नतिका लागि १३ वटा कम्पनीमार्फत ठेक्का लगाइएको छ । बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्मको सडकको खाल्टाखुल्टी पुर्ने, नाली मर्मत गर्ने, ग्याबिन वाल लगाई साँघुरो सडक चौडा बनाउने, कालो पत्रे गर्ने, ढलान गर्नेलगायतका कार्य भइरहेको छ ।